‘बा डोको नफाल्नु होला, तपाईलाई फाल्न चाहिन्छ’

१० फाल्गुन २०७०, शनिबार १६:३४ मा प्रकाशित

सुशीलको हार होइन सिङ्गो कांग्रेसको हार हुने छ

– सुना गुरुङ


काठमाडौं, १० फागुन । गनेर भन्ने हो भने आज (शनिबार) सुशील कोइरालाले प्रधानमन्त्री पदको शपथ लिएको ठीक एघार दिन भएको छ । कोइराला कांग्रेसका सभापति र संसदीय दलका नेता पनि हुन् । उनको जित र हार कांग्रेससंग जोडिएको छ । कांग्रेसको भविष्य सबै नेता कार्यकर्तासंग जोडिएको शीर्ष नेत्वतले बुझ्न जरुरी छ ।

नेपालीमा एउटा उखान छ । छोराले बुढी आमालाई डोकोमा राखेर फाल्न जांदासंगै रहेको नातीले आफ्नो बा लाई भने छ, बा बोइलाई बोकेर लगेको डोको नफाल्नु होला है, पछि तपाई लाई पनि फाल्न काम लाग्छ । अहिले घुमाई फिराई त्यो उखान कांग्रेसका शीर्ष नेतृत्वमा लागू हुने अवस्था आएको छ ।

दुई समूहमा देखिएको कांग्रेस अझैं भनौं भने गुट र उपगुटमा देखिएका नेताहरुले सिकाएका राजनीतिक रस्साकस्सी तल्लोतहका कार्यकर्ताले पनि बुझ्न थालेका छन् । भोलिको राजनीतिमा तिनै कार्यकर्ता नेतृत्वमा पुग्ने छन् । अहिले सिङ्गो कांग्रेसलाई असफ बनाउन लागेका नेतृत्वगणले आफैंले सिकाएको विजारोपणको सामना गर्नुपर्ने छ ।

कांग्रेसका नेताहरुले संसदीय पद्धति र लोकतन्त्रको पटक पटक दुहाई दिने गर्छन् । उनीहरु संसदीय पद्धतिका हिमायती हुन् भने कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्ने कि गर्ने ? कांग्रेसको यो सरकार असफल भयो भने सेत्तै दाह्री फूलेका कोइराला मात्रै असफल हुने छैनन् । कांग्रेस र कांग्रेसको कथित हाइकमाण्डमा रहेका शीर्ष नेताहरु पनि असफल हुने छन् ।

हुन त कोइरालाका कथित किचन क्याबिनेट पनि समस्या उत्पन्न गर्नेमा दोषी छ । प्राविधिक भाषामा भन्ने हो भने कोइरालालाई तिनै भाईरसले समस्याको जालोमा रुमलेका हुन् । भाईरसलाई अरु कोहीले होइन कोइराला स्वयंले आफूबाट हटाउनु पर्छ । उचित सल्लाह सबैको लिनु पर्छ । सल्लाहाकारमा उचित व्यक्ति राख्नु पर्छ । चाकढीवाजलाई ढोका बन्द गर्नु पर्छ । कोइराला निष्ठावान छन् । तर उनका कतिपय निष्ठाका कुराले कांग्रेसलाई समस्यामा नपारोस ।

सरकारले झण्डै झण्डै दुईसाताको समय पुरागर्ने तयारीमा छ । सत्ता साझेदार एमालेले कांग्रेसको आन्तरिक बिवादको फाईदा उठाएर हमला गरेको छ । यो हमला सिर्फ कोइरालालाई मात्रै होइन । एमालेको हमला नेता शेरबहादुर देउवालाई पनि हो । कानमा तेल हालेर बस्नु उचित छैन ।

व्यवस्थापिका संसदमा शुक्रबार शुभकामना दिने क्रममा एमाले र अन्य दलहरुले कोइरालालाई आक्रामक रुपमा आक्रोश पोखे । के त्यो आक्रमण र आक्रोश कोइरालालाई मात्रै थियो ? पक्कै थिएन । एउटा सच्चा कांग्रेस कार्यकर्ताले आफू माथिको आक्रमण सम्झेको छ ।

पार्टी भित्रको आन्तरिक बिवाद जे भए पनि अहिले कांग्रेसलाई सफल बनाउनु पर्छ । पार्टी भित्र लड्दै गरौंला पहिल एमाले वा अन्य दलको हमलाको प्रतिरोध गर्ने तर्फ लाग्नु पर्छ । एमालेले सरकारमा सहभागी हुन मान्दैन भने अर्को बिकल्प खोज्न पनि कांग्रेस तयार हुनु पर्छ । एमालेले २०४८ साल पछिको कांग्रेस नेतृत्वको सुविधाजनक सरकारलाई फाल्छु भनेर रत्नपार्कका रेलिङ भांचेको इतिहांस झुल्नु हुंदैन । एमाले सहज यात्री होइन । अक्करमा फलेको फर्सी हो ।

सहमति कांग्रेसले मात्रै मान्नु पर्छ भन्ने छैन । एमालेले पनि मान्नु पर्छ । स्वयं पार्टी सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले सार्वजनिक रुपमै भनेका छन्, ‘एमालेलाई गृहमन्त्रालय दिने सहमति भएको छैन ।’ गृहमन्त्रालय दिने सहमति गरेको को हो ? प्रष्ट भन्नु पर्छ । यदि पार्टीको नीति र सिद्धान्त एवं सभापतिलाई समेत बाईपास गरेर कसैले सहमति गरेको रहेछ भने त्यसलाई कारबाही गर्न सक्नु पर्छ ।

एउटा नेता वा जुंगाको लडाइमा कांग्रेसलाई असफल बनाउन पाईदैन । शीर्ष नेताहरुले कांग्रेस बनाएको होइन । गाउं वा दुरदराजमा बस्ने कार्यकर्ताले कांग्रेस पार्टी बनाएका हुन् । नेता हुं भन्दैमा पार्टी हित वा राष्ट्रिय हितविपरितका कार्यगर्ने अधिकार कसैलाई छैन ।

कांग्रेसका शीर्ष नेताहरुमा इख छ भने मन्त्रिमण्डल विस्तारलाई तत्काल पहल थाल्नु पर्छ । सरकारले एक सय दिन काट्न सकोस वा नसकोस यो कांग्रेस पार्टीसंग जोडिएको प्रतिष्ठा बनेको छ । प्रतिष्ठा जोगाउने दायित्व सबैको हो । पार्टी भित्र पद वा जुंगाको लडाइ लड्दै गरौंला समय छ । अहिले कांग्रेसलाई सफल बनाई नयां लोकतान्त्रिक संविधान जारी गर्न पहल गर्नै पर्छ । कांग्रेसकै नेतृत्वमा संविधान जारी भए मात्रै पार्टी र कार्यकर्ताको साख रहन्छ । खै बुझेको नेताहरुले ?

कांग्रेसका नेता देउवाले पछिल्ला दिनमा देखाएको ब्यवहारबाट कार्यकर्ता खुसी छैनन् । उनी राजनेता हुन् भने पहिला कांग्रेसको शाख जोगाउन लाग्नु पर्छ । उनीलाई पनि पार्टी सभापति र प्रधानमन्त्री वा त्यस्तै खालका अवसर नआउलान भन्न सकिंदैन । देउवाले देखाएको ब्यवहार र शिक्षा पछि आउने पुस्ताले उनलाई पनि पक्कै देखाउने छन् ।

प्रधानमन्त्री कोइरालाले आफ्नै पार्टीका मन्त्री नियुक्ति गर्न पनि नसक्नु भनेको कति लाजमर्दो विषय भएको छ । देउवा समूहलाई मिलाउने बहानामा कोइराला पनि अनिर्णित बन्नु हुंदैन । कोइरालाले जे हुन्छ हुन्छ अब ढिला गर्नु हुंदैन राम्रा र असल व्यक्तिलाई मन्त्रीमा नियुक्त गर्नु पर्छ ।

उनले राम्रा व्यक्ति राखेर मन्त्रिमण्डल विस्तार गरे भने अरुलाई पनि दबाव पर्ने छ । संविधान बनाउने लक्ष्यमा लाग्नु पर्ने बेला सत्तामा धेरै रुमल्लिनु हुंदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।