भ्रष्टाचारको थलो

१० फाल्गुन २०७०, शनिबार ०६:५१ मा प्रकाशित

काठमाडौं, १० फागुन । ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्व तीन महाप्रबन्धकसहित १४ जनाविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दर्ता गरेको छ ।

प्राधिकरणको ठेक्का नम्बर डीसीएस–२०६६र६७–१४ अन्तर्गत चीनको ‘सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनी’ बाट खरिद गरिएका ५ सय ७५ थान ट्रान्सफर्मरमा संस्थागत भ्रष्टाचार गरेको भन्दै अख्तियारले शुक्रबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

ती ट्रान्सफर्मरको खरिददेखि भण्डारणसम्मका प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारले सबैबाट जनही ७ करोड ९१ लाख २८ हजार ५ सय ३८ रुपैयाँ बिगो असुल गराई त्यति नै बराबरको जरिवाना सजाय भराउन माग गरेको छ । अख्तियारले खरिद प्रक्रियामा संस्थागत संलग्नता भएका सबैलाई १० वर्षसम्म कैद सजाय दिलाउन पनि माग गरेको छ ।

अख्तियारले ट्रान्सफर्मर खरिददेखि भण्डारण प्रक्रियासम्म संलग्न तत्कालीन महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर शाह र चिरञ्जीवी शर्मासहित अन्य उच्च पदस्थ कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार भ्रष्टाचारमा संलग्न तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झा र कैलाशप्रसाद अटल, सहनिर्देशक हरीशबहादुर पाल, सहनिर्देशक डिल्लीरमण दाहाल, लेखा अधिकृत सुरेशकुमार कटुवाल, सहायक लेखा अधिकृत सुशीलप्रसाद खनालविरुद्ध कैद, बिगो र जरिवाना दाबी गर्दै मुद्दा दायर गरेको हो ।

यसैगरी, तत्कालीन कामु निर्देशक अष्टरत्न शाक्य, केन्द्र प्रमुख त्रिपुरारीप्रसाद सिंह, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरू, केन्द्रीय भण्डारण प्रमुख तथा इन्जिनियर नारायणप्रसाद चौधरी र भण्डारण सहायक सरोज श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले खरिद प्रक्रियामा संलग्न चिनियाँ ट्रान्सफर्मर कम्पनीका अध्यक्ष उ याङ सी, सो कम्पनीका महाप्रबन्धक ह्वाङयु योङ, सो कम्पनीका नेपाल प्रतिनिधि इन्टर कन्टिनेन्टल बिजिनेस नेटवर्कका मणिनाथ ढकालको पनि खरिद प्रक्रियाको घोटालामा संलग्नता देखिएको भन्दै जनही १८ करोड ४२ लाख ५ हजार ८ सय ६५ रुपैयाँ बिगो र त्यति नै जरिवानाको माग गरेको छ ।

अख्तियारले मुद्दा दर्ता गरेका अधिकांश यसअघिका दुई लटका ट्रान्सफर्मर घोटालामा समेत संलग्न भइसकेका व्यक्ति छन् । तीमध्ये अधिकांश विशेष अदालतको आदेशअनुसार धरौटी बुझाएर रिहा भइसकेका छन् भने पूर्वमहाप्रबन्धक यादव भने अदालतले मागेको ५ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि अझै थुनामै छन् ।

यो खरिद प्रकरणमा संलग्न भएको अभियोगमा अख्तियारले गत ८ फागुनमा प्राधिकरणका तत्कालीन प्रबन्धक अटल, तत्कालीन सहायक प्रबन्ध पनेरू, तत्कालीन भण्डार प्रमुख चौधरी र तत्कालीन लेखा अधिकृत कटुवाललाई हिरासतमा लिइसकेको छ । उनीहरू सबै हुवेई सनलाइट चीनमार्फत खरिद गरिएको ट्रान्सफर्मर घोटालामा धरौटी तिरेर अदालतबाट रिहा भइसकेका छन् ।

खरिद प्रकरणमा संलग्न भएकै अभियोगमा गत ५ फागुनमा अख्तियारले प्राधिकरण कार्यकारी निर्देशक अष्टरत्न शाक्य, सहनिर्देशक डिल्लीरमण दाहाल र उपप्रबन्धक त्रिपुरारीप्रसाद सिंहलाई पनि हिरासतमा लिइसकेको छ ।

अख्तियारले यसअघि तीन ट्रान्सफर्मर खरिद प्रकरणमा करिब १ अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेÈ अदालतमा ४६ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

झा, यादव, शाह, शर्मा, पाल, कटुवाल, खनाल, अटल, चौधरी र श्रेष्ठ चीनको हुवई सनलाइट कम्पनीमार्फत खरिद गरिएका ट्रान्सफर्मर प्रकरणमा समेत मुछिएका छन् । त्यसैगरी, यादव, शाह, पाल, कटुवाल, अटल, चौधरी र श्रेष्ठ सहवान्त इलेक्ट्रिक कम्पनीमार्फत खरिद ट्रान्सफर्मरमा समेत मुछिएका कर्मचारीहरू हुन् ।

उनीहरूमध्ये यादव धरौटी बुझाउन नसकेर जेलमा छन् भने अन्य धरौटी राखेर रिहा भएका छन् भने उनीहरूविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । यादव, शाह, पाल, कटुवाल, अटल, चौधरी र श्रेष्ठलाई सिचुवानसहित तीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका छन् ।

यसअघि अख्तियारले सिचुवानमार्फत नै खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा सो कम्पनीका नेपाली एजेन्ट इन्टर कन्टिनेन्टल बिजनेस नेटवर्कका प्रोपाइटर मणिनाथ ढकाललाई ५० लाख रुपैयाँ धरौटी मागेकोमा बुझाएपछि तारिखमा छाडिएको थियो ।

प्राधिकरणद्वारा गुणस्तरहीन ट्रान्सफर्मरबारे गठित पूर्वसञ्चालक डा। केपी दुलाल उपसमितिको छानबिनमै नपरेका पाँच कम्पनीमध्ये सिचुवान पनि एक हो । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीबारे छानबिन गर्न पूर्वसञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा अर्का पूर्वसञ्चालक सदस्य डा। दुलालको संयोजकत्वमा रहेको समितिले कम्पनीद्वारा खरिद ट्रान्सफर्मरहरू छानबिनमा नपरेको उल्लेख छ ।

प्रतिवेदनमा सिचुवानसहित पिपल्स इलेक्ट्रिक एलायन्स ग्रुप चीन, एसभीआर इलेक्ट्रिकल्स कम्पनी भारत तथा जेके होल्डिङ चीन र द वेम्स गु्रप ट्रेडिङ र सहवान्त इलेक्ट्रिक कम्पनी थाइल्यान्डद्वारा खरिद गरिएका ट्रान्सफर्मरहरू छानबिनमा नपरेको उल्लेख भए पनि अख्तियारले ती सबै कम्पनीमार्फत खरिद ट्रान्सफर्मरबारे अनुसन्धान अघि बढाइसकेको छ ।

पूर्वसञ्चालक मुकेश काफ्ले र डा.दुलालको संयोजकत्वमा गठित समितिले २०६३ देखि २०६८ सम्म ६ कम्पनीद्वारा खरिद गरिएका ४ हजार ६ सय ५७ ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो ।

दुलाल प्रतिवेदनमा पाँच कम्पनीबाट खरिद ट्रान्सफर्मरबारे छानबिन गरिएको छैन । सो प्रतिवेदनसहित कारबाहीका लागि प्राधिकरणले सो फाइल अख्तियारमा पठाएकोमा अख्तियारले उपसमितिले छानबिन नगरेका कम्पनीलाई समेत छानबिनको दायरामा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने