एमाओवादीमा सहयोगीको तलबबाट सभासद्को लेबी

९ फाल्गुन २०७०, शुक्रबार ०६:५१ मा प्रकाशित

काठमाडौं, ९ फागुन । संविधानसभाका सभासद्लाई उनीहरूले प्रतिनिधित्व गर्ने पार्टीले थोरबहुत लेबी निर्धारण गरेको छ । कतिपय ठूला दलले सभासद्ले पार्टीलाई बुझाउनुपर्ने लेबीको शुल्क निर्धारण गरिसकेका छन् भने साना दलहरू पनि लेबी निर्धारणको प्रक्रियामा छन् ।

त्यसरी निर्धारण गरिएको लेबी ठूला दलकै कतिपय सभासद्ले भने आफ्ना सहयोगीको तलबबाट कटौती गरी पार्टीलाई बुझाउन थालेका छन् ।

संविधानसभाको तेस्रो ठूलो दल एमाओवादीले सभासद्हरूलाई सबैभन्दा धेरै मासिक १२ हजार रुपैयाँका दरले लेबी निर्धारण गरेको छ । तर, उसका अधिकांश सभासद्ले आफ्ना सहयोगीलाई अहिले नै १० हजार रुपैयाँभन्दा बढी रकम दिन नसकिने सर्तमा नियुक्ति दिएको छ । पार्टीलाई बुझाउने लेबी सहयोगीकै तलबबाट काट्ने निर्णय भएको भन्दै एमाओवादीका अधिकांश सभासद्ले सहयोगीलाई १० हजार रुपैयाँभन्दा कम पारिश्रमिकमा नियुक्ति दिन थालेका हुन् ।

एउटा सभासद्ले मासिक तलब, धारा, बिजुली, टेलिफोन, आवास, सहयोगीलगायत गरी ७३ हजार ३ सय ८८ रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यसमध्ये २२ हजार १ सय ८० रुपैयाँ सभासद्का स्वकीय सचिव (सहयोगी) को नाममा आउने गरेको छ । त्यही पैसाबाट पार्टीलाई लेबी बुझाउने तयारी थालेका छन् । एमाओवादीका ८० सभासद् छन् ।

गत महिना सभासद्हरूले आधा पारिश्रमिक पाएका कारण नियुक्ति लिएका एमाओवादी सभासद्का सहयोगीले पनि ५ हजार रुपैयाँभन्दा कम पारिश्रमिक बुझेका छन् । कतिपय सहयोगीले माघ महिनाको पारिश्रमिक ३ हजार रुपैयाँमा नै चित्त बुझाएका छन् । एक सहयोगीले भने, ‘माघ महिनामा सभासद्ले नै आधा पारिश्रमिक बुझेका कारण हामीले पनि ३ हजारसम्म पाएका छौं ।’

फागुन महिनाबाट भने एमाओवादीले निर्धारण गरेको जनही लेबी एकमुष्ट संसद् सचिवालयमार्फत नै पार्टीको खातामा जाने व्यवस्था मिलाएको छ । त्यसो गर्दा एमाओवादीका सभासद्ले जनही ६१ हजार ३ सय ८८ रुपैयाँ बुझनेछन् ।

त्यसबाट उनीहरूले सहयोगीलाई अधिकतम १० हजार रुपैयाँसम्म दिने र बाँकी पैसा आफूले राख्ने योजना बनाएका छन् । ‘तिमीहरूले १० हजारसम्म तलब पाउछौं, त्यहाँभन्दा बढी माग दाबी गर्न पाउँदैनौं भन्दै सहयोगीका रूपमा नियुक्ति दिइएको छ,’ अर्का एक सहयोगीले भने । सहयोगीले पाउनुपर्ने पारिश्रमिक २२ हजार भए पनि बेरोजगार बस्नुभन्दा थोरैमा चित्त बुझाउनुपरेको सहयोगीहरूको गुनासो छ ।

त्यसो त अधिकांश सभासद्ले स्वकीय सचिव सकेसम्म आफ्नै परिवार, नातागोताबाट राख्ने क्रम पनि एमाओवादीमा चलिरहेको छ । सभासद्लाई मनोमानी ढंगले स्वकीय सचिव नराख्न एमाओवादीले निर्देशन दिए पनि कतिपयले त्यसलाई अटेर गरेका छन् । गाडी हुने सभासद्ले ड्राइभरलाई नै सहयोगी राख्नुपर्ने, गाडी नहुनेले जिल्ला पार्टीको सिफारिसमा पार्टीकै कार्यकर्तालाई राख्नुपर्ने, पार्टी र पार्टी नेताविरुद्ध लाग्नेहरूलाई सहयोगी राख्न नहुने निर्देशन संसदीय दलले दिए पनि कतिपयले त्यसलाई अटेर गरेका छन् ।

त्यस्तै, एमाओवादीले सभासद्हरूले पालना गर्नुपर्ने आचारसंहिताको मस्यौदा पनि तयार पारेको छ । दलको बैठकले गठन गरेको आचारसंहिता निर्माण समितिले वैचारिक राजनीतिक काम, सदनभित्र अपनाउनुपर्ने कार्यविधि र सभासद्हरूको जीवनशैलीका विषयमा आधारित रहेर आचारसंहिताको मस्यौदा तयार पारेको समितिका संयोजक डोरप्रसाद उपाध्यायले जानकारी दिए । ‘हामीले आचारसंहिताको मस्यौदा तयार पारिसकेका छौं, सोमबार अन्तिम बैठक कसेर टुंग्याउनेछौं,’ उपाध्यायले भने ।

समितिले तयार पारेको मस्यौदामा सभासद्हरूको बसाइ पायक पर्ने ठाउँमा हुनुपर्ने, आफूले गरिरहेका गतिविधिका सबै सूचना सम्बन्धित राज्यलाई जानकारी गराउनुपर्ने, विदेश भ्रमणमा अफर आउँदा दललाई जानकारी गराएर मात्रै जानुपर्नेलगायतका विषयलाई समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ