माओवादीमा नयाँ सांगठनिक संरचना

९ फाल्गुन २०७०, शुक्रबार ०६:३८ मा प्रकाशित

काठमाडौं, ९ फागुन । नेकपा–माओवादीले नयाँ सांगठनिक संरचना तय गरेको छ । उसले आफ्नो तीनमहिने संगठन सुदृढीकरण अभियानअन्तर्गत संगठनको संरचनामा सुधार गरेको हो ।

माओवादीको पछिल्लो केन्द्रीय समिति बैठकले पार्टीको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउन संगठन भद्दा हुँदा कठिन भएको निष्कर्ष निकालेको थियो । केन्द्रीय समितिमा उठेका आवाजलाई सम्बोधन गर्न र पार्टीको तल्लो तहको संगठनलाई क्रियाशील बनाइराख्न सानो कमिटी बनाउने निष्कर्षमा माओवादी पुगेको हो ।
माओवादी सचिव नेत्रविक्रम चन्दका अनुसार पार्टीको गतिविधिलाई चुस्त दुरुस्त बनाउन संगठन सानो बनाउन लागिएको हो । ‘संगठन सुदृढीकरण अभियानअन्तर्गत संगठनलाई सानो बनाउन लागिएको हो,’ उनले भने, ‘ठूलो कमिटी हुँदा छिटो निर्णय लिनुपर्ने अवस्थामा बहुमतसमेत नपुग्ने स्थिति सिर्जना हुने गरेको र त्यसबाट पार्टीका क्रियाकलाप सञ्चालनमा बाधा पुगेकाले संगठन चुस्त दुरुस्त बनाउने निर्णय भएको हो ।’
केही समयअघि मात्रै पार्टीको संगठन सानो बनाउने र राज्यसमिति तथा जिल्ला समिति भंग गर्ने एमाओवादी निर्णय सेलाउन नपाउँदै माओवादीले पनि संगठन सुदृढीकरणको नाममा नयाँ निर्णय गरेको हो । उसले पनि एमाओवादीले जस्तै पार्टीको राज्य समिति भंग गरेको छ । माओवादीको तीनमहिने संगठन सुदृढीकरण अभियानअन्तर्गत राजधानीबाहेकका जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ ।
पछिल्लो समय गत साता मात्रै चितवनको जिल्ला अधिवेशनमा पार्टीको केन्द्रीय निर्णयआनुसार संगठन निर्माण गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । साढे ३ सयको जिल्ला कमिटीलाई ५०जनामा सीमित गराउन असफल भए पनि अन्ततः ६५ जनाको कार्यसमिति निर्माण गरिएको छ । माओवादीको जिल्ला कमिटीहरूमा १ सयदेखि साढे ३ सयसम्म सदस्य रहेका छन् ।
माओवादीले जातीय आधारको राज्य समिति भंग गरेको छ । उसले राज्य समितिमा आबद्ध भएको नेता कार्यकर्तालाई जिल्ला कमिटीमा समावेश गर्ने निर्देशन दिएको माओवादी जिल्ला कमिटी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जिल्ला कमिटीलाई ५० भन्दा सानो र गाउँ कमिटीलाई २५ भन्दा सानो बनाउनुपर्ने उसले निर्णय गरेको हो । अहिले माओवादीका अधिकांश स्थानीय स्तरमा गाउँ कमिटी निर्माण नभएको भए पनि स्थानीय तहमा राज्य समितिअन्तर्गतका स–साना कमिटी निर्माण भएको थिए । ती कमिटीमा रहेका सदस्यहरूलाई समेत समेटेर गाउँ कमिटीलाई २५ सदस्यीय मात्रै बनाउन समस्या हुने भए पनि पार्टीको केन्द्रीय निर्देशन भन्दै सानो चुस्त दुरुस्त कमिटी निर्माणमा माओवादी लागेको हो ।
माओवादीले एक गाउँ एक उत्पादन नीतिलाई अंगीकार गर्ने निर्णय लिएको छ । उसले पार्टी सञ्चालनका लागि चन्दा संकलन गर्दा ठूलो विवाद आउने गरेको भन्दै पार्टीलाई उत्पादनमा सक्रिय बनाउने निर्णय गरेको छ । एमाओवादीको हेटौंडा महाधिवेशनले तय गरेको उत्पादन ब्युरो जस्तै माओवादीले पनि उत्पादनका लागि छुट्टै ब्युरो निर्माण गर्ने निर्णय नलिए पनि पार्टीको स्थानीय कमिटीको साथै जिल्ला र केन्द्रले पनि उत्पादनको क्षेत्रमा काम सुरु गर्नुपर्ने तयारी गरेको छ । माओवादीले संगठनलाई चुस्त दुरुस्त बनाएर सांगठनिक संरचना बलियो बनाउने तयारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ