मेरो कक्षामा निदाउन र चकले हान्न निषेध छ

९ फाल्गुन २०७०, शुक्रबार ०६:३५ मा प्रकाशित

काठमाडौं, ९ फागुन । नवनिर्वाचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा कसैलाई पनि निदाउन, पछाडिबाट हल्ला गर्न र चकले हान्न छुट नहुने रुलिङ गरेका छन् । विघटित संविधानसभा बैठकको ‘नकारात्मक पाटो’को विषयमा राप्रपा नेपाल संसदीय दलका नेता कमल थापाले मंगलबारको संविधानसभा बैठकमा ठट्यौलो शैलीमा विषय उठान गरेपछि नवनिर्वाचित अध्यक्ष नेम्वाङले बिहीबार त्यस्तो रुलिङ गरेका हुन् ।

संविधानसभा अध्यक्षमा निर्वाचित भएपछि बिहीबारको संविधानसभा बैठकमा पहिलो पटक अध्यक्षता गरेका नेम्वाङले भने, ‘संविधानसभा र व्यवस्थापिका संसद्को बैठकमा संविधान, नियम र अभ्यासको पूर्ण पालना हुनेछ, हल्ला गर्र्ने, निदाउने र चकले हान्ने छुट कसैलाई दिइनेछैन ।’

‘विनम्रता, शिष्टता र भद्रता कमजोरी होइन, नियमलाई पूर्ण पालना नगरे मात्र कमजोरी हुन्छ, त्यो कमजोरी यो संविधानसभामा हुन दिन्नँ,’ नेम्वाङले स्पष्ट रूपमा भने । उनले संविधानसभा र संसद् बैठकमा सभासद्हरूले संविधान, नियम र संसदीय अभ्यासमा रहेर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

उनले संविधानसभा र संसद् बैठकमा बोल्दा कस्ता शब्द प्रयोग गर्नुपर्ने, कसरी प्रस्तुत हुनुपर्ने भन्ने कुरामा गम्भीर रूपमा ध्यान दिन पनि संविधानसभा सदस्यहरूको ध्यानाकर्षण गरेका थिए ।
मंगलबार बसेको संविधानसभा बैठकमा राप्रपा नेपालका अध्यक्ष थापाले एक व्यक्तिको ट्विटरमा गरेको ट्विटको हवाला दिँदै ‘सुवास नेम्वाङ त्यस्ता शिक्षक हुन्, जसको कक्षामा विद्यार्थी सुत्न, हल्ला गर्न, लास्ट बेन्चमा बसेर दोहोरी गाउन र पछाडिबाट केटीलाई चकले हान्न पाउँछन्’ भन्ने कुरा सुनाएका थिए ।

सोही कुराको जवाफ दिँदै सभाध्यक्ष नेम्वाङले अध्यक्ष कमल थापाको भनाइप्रति लक्षित गर्दै भने, ‘यो कुरा कसले उठाउनुभयो मैले बिर्सें, मैले ३५ वर्षअघि पढाएका विद्यार्थीसँग पनि यस विषयमा सोधें, केही विद्यार्थी यही संविधानसभामा हुनुहुन्छ, तर त्यस्तो कुरा भएको मैले पाइनँ, लाटो मान्छे मैले त पछि पो कुरा बुझें, मीठो प्रसंग राखेर कमल थापाजीले मलाई निकै गम्भीर विषयतर्फ ध्यानाकर्षण गराउन खोज्नुभएको रै’छ ।’

बैठकमा सभाध्यक्ष नेम्वाङले आफूले ३५ वर्षअघि पढाउँदा कक्षाकोठाको वातावरण र अनुशासन पनि स्मरण गरे । ‘त्यसबेला मैले पढाउने कक्षामा जसरी अनुशासन कायम हुन्थ्यो, यहाँ पनि मैले त्यस्तै अनुशासनको अपेक्षा गरेको छु,’ उनले भने । ‘३५ वर्षअघि मैले पढाउने कक्षामा कसैलाई हल्ला गर्न, निदाउन, दोहोरी गाउन र पछाडिबाट चकले हान्ने छुट थिएन, अहिलेको संविधानसभाको कक्षामा पनि त्यही नियम लागू हुन्छ,’ उनले भने ।

लामो राजनीतिक यात्रा पूरा गरेका तर लोकतान्त्रिक संसदीय अभ्यासमा त्यति धेरै संलग्न नभएका राप्रपा नेपालका अध्यक्ष थापाले मंगलबारको संविधानसभा बैठकमा पछाडिबाट केटीलाई चकले हान्ने शब्द प्रयोग गरेका थिए भने अघिल्ला संसद्का बैठकमा बलात्कारजस्ता शब्दको पनि प्रयोग गरेका थिए । उनीलगायत अन्य सभासद््को पनि त्यस्तै संसदीय मूल्यमान्यता विपरीतका शब्दावलीहरू प्रयोग भइरहेका छन् ।

यसैगरी, सभाध्यक्ष नेम्वाङले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै भने, ‘बालुवाटारको बैठकबाट अचानक सिंहदरबारमा पुगेको कुरा कसका कारण हो त्यो विषयमा पछि भन्दा पनि हुन्छ ।’ ‘दाहाल बालुवाटारबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा जाने भनेर हिँडेको जानकारी आएको थियो, तर बीच बाटोबाट उनलाई सिंहदरबारस्थित सभाध्यक्षको कार्यकक्षमा बोलाइयो,’ उनले भने ।

नेम्वाङले बालुवाटारको जहाज नयाँ बानेश्वरमा नपुगेर सिंहदरबारमा अवतरण हुनुको जिम्मेवारी नेताहरूले लिनुपर्ने बताए ।
‘२ जेठ २०६९ को सहमति कसले तोड्यो, सहमति भएका विषयको मस्यौदा मात्रै जारी गरौं भन्दा कसले मानेन, त्यो पछि भन्छु,’ उनले भने । उनले राजनीतिक दललाई एक ढिक्का भएर अघि बढेर एक वर्षभित्र जसरी पनि संविधान जारी गर्न आग्रह गरेका थिए ।

कुन बिन्दुबाट सुरु गर्ने र कुन बिन्दुबाट प्रक्रियामा जाने त्यसको अहिल्यै स्पष्ट गर्नुपर्नेमा उनको जोड थियो ।
उपाध्यक्षको निर्वाचन १४ गते संविधानभाका उपाध्यक्षका लागि १४ गते मतदान हुने भएको छ । संविधानसभाको बिहीबार बसेको बैठकमा सभाध्यक्ष नेम्वाङले १४ गते बिहान ११ बजे उपाध्यक्षको निर्वाचन हुने बताएका हुन् । संसद् सचिवालयले उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रम शुक्रबार प्रकाशित गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार