पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक साँगाचोकगढी

९ फाल्गुन २०७०, शुक्रबार ०५:२९ मा प्रकाशित

सिन्धुपाल्चोक, ८ फागुन । संरक्षणको अभावमा खण्डहर बन्दै जाने खतरा बढेपछि कुनै समय चर्चित सैन्य किल्लाका रूपमा ख्याति कमाएको साँगाचोकगढीलाई प्राकृतिक, ऐतिहासिक र धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न स्थानीयवासी जुर्मुराएका छन् ।
साँगा भन्नासाथ धेरैजसोले भक्तपुर र काभ्रेको सिमानामा शिवजीको अग्लो मूर्ति उभिएको ठाउँ साँगा भञ्ज्याङलाई नै बुझ्ने भएकाले ऐतिहासिक स्थल भए पनि सिन्धुपाल्चोक जिल्लामा रहेको उस्तै नामको साँगाचोकगढी भने अझसम्म ओझेलमै छ । काठमाडौँबाट ६७ किलोमिटर पूर्व र सदरमुकाम चौताराबाट १७ किमी दक्षिण सडकछेउको साँगाचोकगढीलाई स्थानीयवासीले इतिहासमा वर्णित सैन्य किल्लाको महत्त्वलाई समेटेर यहाँको धार्मिक तथा पर्यटकीय केन्द्र बनाउन पहल गरिरहेका छन् ।
पिच सडकबाट गढीतर्फ कोटथोकसम्म पुग्ने कच्ची बाटो बनाइएको छ । त्यहाँबाट सैन्य किल्ला गढीसम्म पुग्ने ढुंगाको सिँढी बनाइँदै छ । सिँढी निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको ८ लाख रुपैयाँमध्ये ५ लाख खर्च भएको साँगाचोकगढी धार्मिक तथा पर्यटन प्रवद्र्धन समितिका उपाध्यक्ष भरतलाल श्रेष्ठले बताए । सो समितिका अध्यक्ष रोशनराज गिरी लिच्छवी र मल्लकालदेखि नै भोट युद्धका लागि खाद्य एवं सैनिक सामग्रीको जोहो गर्ने दृष्टिले निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको सागाँचोकगढीको इतिहासलाई मेटिन नदिन यसको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको बताउँछन् ।
यस ऐतिहासिक गढीका लागि गाविसले केही न केही बजेट छुट्ट्याउन थालेको र अन्यत्रबाट पनि स्रोत जुटाएर दृश्यावलोकन स्थल ९भ्यू टावर० निर्माण, गढीको संरक्षण, बगैंचा तथा तत्कालीन नेपाल एकीकरणका वीर योद्धा सेनापति शिवराम सिंह बस्न्यातको सालिक राख्न जमिन उपलब्ध गराउने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
‘ऐतिहासिक महत्त्वलाई जीवन्त राख्दै यसको पुरातात्त्वक, धार्मिक र पर्यटकीय महत्त्व दर्शाउन यसलाई यस भेगकै एक दर्शनीय स्थलका रूपमा विकास गर्ने सोचमा छौं,’ अध्यक्ष गिरी स्थानीय बासिन्दाका अठोट सुनाउँछन् ।
गढीभन्दा ५ सय मिटर तल रहेको गणेश, कोट महादेव र वधशाला मन्दिरमा माघ र मंसिरको पूर्णिमाका दिन भव्य मेला लाग्ने स्थानीय डम्बरबहादुर गिरी बताउँछन् । सो मन्दिरमा काठमाडौँ हनुमानढोकाबाट दसैंको फूलपाती ल्याउने परम्परा रहेको भए पनि सरकारी खर्च कटौतीका कारण पछि निरन्तरता टुटेको बताइन्छ ।
करिब १ हजार ३ सय मिटर उचाइको साँगाचोकगढीबाट नागबेली गर्दै बगेको इन्द्रावती नदी, नदी किनारका सुन्दर फाँट, उत्तरतर्फ लहरै फैलिएका हिमशृंखला, दोलखा, रामेछापसहितको पहाडी मनोरम प्राकृतिक दृश्य स्पष्ट देख्न पाइन्छ । गढीको सेरोफेरोमा साँगाचोक बजारसहित नेवार, क्षत्री, बाहुन, मगर, तामाङलगायतका विविध जातजाति र भाषासंस्कृतिको साझा फूलबारीरूपी बस्ती यहाँ रहेको छ ।
काठमाडौंबाट इन्द्रावती नदी किनारको दोलालघाट बजारमा ताजा माछाको स्वाद लिई बाटो लाग्ने मात्र होइन भोटेकोसी, तातोपानी र चौतारातर्फ जानेहरू पनि साँगाचोकगढी पुगेर वनभोजमा रमाउँदै ऐतिहासिक महत्त्वसँग साक्षात्कार गर्न र प्राकृतिक सौन्दर्य अवलोकन गर्न यो स्थल उपयुक्त रहेको पिपलडाँडा गाविसका हेम बस्नेत बताउँछन् ।
विसं १८०३ मंसिरमा नुवाकोट जिती उक्त गढीमा आएर बसेको गोर्खाली सेनाका सेनापति शिवरामसिंह बस्न्यातले वीरगति पाएको ठाउँ भएका कारण पनि यो ठाउँ चर्चामा रहेको पाइन्छ । काठमाडौं उपत्यकालाई एकीकरणमा समाहित गराउन उपत्यका वरपरका ठाउँहरू जित्ने र घेर्ने राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहको रणनीतिक अभियानका क्रममा झन्डै ९ सयको संख्यामा केही समयदेखि यहाँ बसेको गोर्खाली सेनामाथि कान्तिपुरका सेनाले आक्रमण गरेका थिए ।
सो क्रममा गोर्खाली सेनामाथि ठूलो क्षति नभए पनि सेनापति बस्न्यातले भने यही वीरगति पाएको इतिहासकार कृष्ण आचार्यले लेखेको ‘नेपालका पछिल्ला मल्ल राजाहरूको आपसी अन्त्यहीन कलह’ खण्ड एक नामक पुस्तकमा उल्लिखित छ ।
‘गोरखा राज्यका सैनिकहरू काठमाडौं उपत्यकाबाट बाहिर निस्की साँगाचोकमा गएर आङ्खना सैन्य शिविरहरूलाई सुदृढ पारी त्यहाँ बस्न मात्र थालेका थिए । त्यसैबेला कान्तिपुर राज्यका चौतारा वा प्रमुख मन्त्रीको पदमा स्थापित हुन आइपुगेका काजी तौडिक प्रधानले ललितपुर तथा कान्तिपुर राज्यका संयुक्त सैनिक दलको नेतृत्व ग्रहण गर्दै रातारात गएर साँगाचोकमा पुगी त्यहाँ तैनाथ रहेको गोरखा राज्यका सैनिकहरूमाथि अप्रत्याशित रूपमा जोडदार आक्रमण गरे । गोरखा राज्यका सैनिकहरूमाथि खासै क्षति नभए पनि लडाइँको सम्भवतः आरम्भमा नै गोरखा पक्षका समर्थक सेनानायक सरदार शिवरामसिंह बस्न्यातको हत्या हुँदा बाँकी बचेका सैनिकहरू त्यहाँबाट नालदुम गढीतर्फ पलायन हुन विवश भए,’ सो पुस्तकमा लेखिएको छ ।
श्रीपाली बस्न्यात समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नन्दकिशोर बस्न्यात, सल्लाहकार खगेन्द्र, पूर्वउपाध्यक्ष ध्रुव, पूर्वमहासचिव रामकाजी तथा सदस्यहरू हेम, केदार, सुदीप, सौरभलगायत श्रीपाली बस्न्यात वंशजको एक टोलीले सो स्थलको हालै भ्रमण गरी सो स्थानको विकासमा सहयोग गर्ने तत्परता देखाएको छ । उनीहरूले आङ्खना पुर्खाहरूसँग यो ठाउँको इतिहास जोडिएकाले सो स्थानमा शिवराम सिंहको सालिक निर्माण गर्नाका साथै त्यस स्थलको समग्र विकासमा सहकार्यका लागि प्रयास गर्ने प्रस्ताव स्थानीय समितिसँग गरेका छन् ।
‘राष्ट्र निर्माणका लागि एकीकरण अभियानमा आङ्खना पुर्खाको रगत पोखिएको ठाउँमा शिवरामको सालिक बनाउने तथा यहाँको समग्र विकासको काममा होस्टेमा हैंसे गर्न चाहन्छौं,’ समाजका पूर्वउपाध्यक्ष खगेन्द्र बस्न्यात भन्छन् । गढीमा युद्ध लड्दा बनाइएको बंकर, तारो हान्ने ठाउँ आदिको अवशेष अझै छन् । त्यस स्थानमा पुराना इँटा, सिलौटा र तामाका पैसा भेटिएको स्थानीय डम्बर गिरी बताउँछन् । पुरातत्त्व विभागका प्राविधिकहरूले यहाँका इँटा परीक्षणका लागि लिएर गएको र यसबारे थप अध्ययन अनुसन्धानका लागि उत्खनन् गर्न जरुरी रहेको विभागको भनाइ रहेको स्थानीय जनता बताउँछन् ।
साँगाचोकगढी निर्माण उपभोक्ता समितिका सचिव अशोक पराजुली पनि इतिहासलाई मेटिन नदिन वर्तमानमा यस क्षेत्रको समग्र विकासका लागि पनि गढीको संरक्षण आवश्यक रहेको बताउँछन् । ‘सबैको सहयोगमा साँगाचोकगढीलाई पर्यटकीय आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयासमा छौं,’ सचिव पराजुलीले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका