राजीवका हत्यारा रिहा गरिने

८ फाल्गुन २०७०, बिहीबार ०७:२८ मा प्रकाशित

एजेन्सी

नयाँ दिल्ली, ८ फागुन । भारतको तामिलनाडुको राज्य सरकारले पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गर्नेलाई रिहा गर्ने भएको छ ।
तामिलनाडु राज्यकी मुख्य मन्त्री जे जयललिताले बुधबार पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको षड्यन्त्रका लागि कारागारमा रहेका सातै व्यक्तिलाई मुक्त गर्न आदेश दिएकी हुन् । श्रीलंकाली तत्कालीन विद्रोही तामिल टाइगरका एक महिलासहित सातजनाले गान्धीको हत्या गरेका थिए । सर्वोच्च अदालतले गान्धीका तीन हत्यारालाई मृत्युदण्डबाट आजीवन काराबासको सजाय सुनाएको भोलिपल्ट उनीहरूलाई रिहा गर्ने जनाइएको हो ।

भारतको तामिलनाडु राज्यकी मुख्य मन्त्री जे जयललिताले बुधबार पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको षड्यन्त्रका लागि कारागारमा रहेका सातै व्यक्तिलाई मुक्त गर्न आदेश दिएकी छन् र यसको अर्थ उनीहरू अब केही दिनमै स्वतन्त्र हुने देखिएको छ ।

सन् १९९१ मा आत्मघाती बम आक्रमण गरी गान्धीको हत्या गरेको आरोपमा मृत्युदण्ड प्राप्त गरेका तीन व्यक्तिलाई भारतको सर्वोच्च अदालतले एक दिनअगाडि सो दण्डबाट मुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकपछि २३ वर्ष कारागारमा बिताएका सन्थन, मुरुगन तथा पेरारिवलनलाई सरकारमा रहेको अधिकारअन्तर्गत मन्त्रिपरिषद्ले तत्कालै रिहा गर्ने निर्णय गरेको मुख्य मन्त्री जयललिताको भनाइ उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

सो हत्यामा भूमिका भएको भनी आजीवन काराबासको सजाय भोगेका एक महिलासहित चार व्यक्तिलाई पनि रिहा गरिने उनले बताइन् । दक्षिणी राज्य तामिलनाडुमा एक तामिल महिला आत्मघाती बम आक्रमणकारीले गान्धीको हत्या गरेकी थिइन् ।
मुख्य मन्त्री जयललिताले यी व्यक्तिहरूको रिहाइका लागि आफ्नो सरकारको सहमति तत्कालै संघीय सरकारलाई पठाइने बताइन् ।

उनले कंग्रेस पार्टीको नेतृत्वमा रहेको संघीय सरकारले तीन दिनभित्र यस विषयमा प्रतिक्रिया व्यक्त नगरेमा आफ्नो प्रशासनले उनीहरूलाई रिहा गर्ने बताइन् । मृत्युदण्ड पाएका यी तीन व्यक्तिले १४ वर्षसम्म कारागारमा बिताएपछि उनीहरूका विषयमा निर्णय गर्न राज्य सरकारलाई अनुमति दिइएको समाचारमा जनाइएको छ ।

वकिल युग मोहित चौधरीले सो मुद्दामा केन्द्रीय संस्थाले अनुसन्धान गरेकाले राज्य सरकारले केन्द्रीय सरकारसँग परामर्श लिनुपर्ने बताए । यसैबीच, अर्थमन्त्री पी चिदम्बरमले एनडीटीभीलाई आफूहरूले क्षतिपूर्ति हुनै नसक्ने पीडा भोगेको र राजीव गान्धीको क्रूरतापूर्वक हत्या भएको बताए ।

उनले हत्याराहरू मुक्त भए पनि उनीहरू २०–२२ वर्ष कारागारमा बसेको बताए । हाल कंग्रेस पार्टीको नेतृत्व राजीवकी पत्नी सोनिया गान्धी र उनका पुत्र राहुल गान्धीले गरिरहेका छन् । भारतमा मे महिनामा हुने निर्वाचनमा कंग्रेसको नेतृत्व राहुल गान्धीले गर्नेछन् ।

राजीव गान्धीकी पुत्री प्रियंका गान्धीले सन् २००८ मा तामिलनाडुको कारागारमा रहेका अभियोगीलाई भेट गरेकी थिइन् । सोनिया गान्धीले समेत ती व्यक्तिलाई मृत्युदण्ड दिन नहुने बताएकी थिइन् । राजीव गान्धी भारतमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । उनको सन् १९८४ को अक्टोबर महिनामा हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही