नेम्वाङले खोले संविधान नबन्नुको रहस्य

८ फाल्गुन २०७०, बिहीबार ०७:०५ मा प्रकाशित

काठमाडौं, ८ फागुन । संविधानसभा अध्यक्षमा सर्वसम्मत निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङमाथि धेरैले प्रश्न उठाए, अघिल्लो संविधानसभाको नेतृत्वमा बसेर सहमतिको माला मात्र जप्दा संविधान बन्न सकेन ।

झन्डै दुई वर्षसम्म एकोहोरो आरोप लागिरहँदा पनि नेम्वाङले कुनै प्रस्टीकरण दिएनन् । सकेसम्म कसैलाई नचिढ्याउने शालीन र भद्र स्वभावका नेम्वाङले त्यो ‘कालकुट विष’ लाई सहजै पिएर बसे । संविधानसभा अध्यक्षमा दोस्रो पटक सर्वसम्मत चयन भएर इतिहास रचेपछि बुधबार कार्यभार सम्हालेलगत्तै उनले ती सबै विषयमा मुख खोलेका छन् ।

अघिल्लो संविधानसभाबाट किन संविधान बन्न सकेन ? भन्ने विषयमा पहिलो पटक मुख खोल्दै नेम्वाङले केही तीतो यथार्थ पनि सुनाएर आफू पनि अब विगतकै जसरी सहमति, सहकार्य र एकताको नारामा मात्रै नभुल्ने अठोट गरे ।

कुनै पनि दल र नेताको नामै नलिए पनि उनले पर्दाभित्र खेलिएको खेलको सिकार भई सहमतिको रटानमै संविधानसभाको गला रेटिएको खुलासा गरे । ‘दलहरूले नै सहमतिबाटै टुंगो लगाऊँ भनेपछि सभाध्यक्षले त्यसलाई इन्कार गर्ने कुरा हुन सक्दैन, विगतमा त्यही भयो,’ नेम्वाङले भने । उनले अन्तिमसम्म पनि सहमति गरौं भन्ने सबैको अडानकै कारण प्रक्रियामा गएर संविधानको निष्कर्ष दिन नसकिएको यथार्थ सबैले बुझेको भन्दै आफूमाथि लगाइएको आक्षेपको जवाफ दिए ।

‘अघिल्लो संविधानसभामा हामी सबै सहमतिका साथ संविधान जारी गर्ने भनेर बस्यौं, अन्तिमसम्म पनि सहमतिकै बाटो रोजियो तर सहमति हुन नसकेपछि प्रक्रियामा जान समय नै रहेन,’ राष्ट्रपति डा. रामवरण यादवसमक्ष संविधानसभा अध्यक्षको शपथ ग्रहणपछि सिंहदरबार पुगेर कार्यभार सम्हालेका नेम्वाङले विगत खोले, ‘अघिल्लो संविधनसभामा जुन बिन्दुमा सहमति भएन, त्यो बिन्दुबाट प्रक्रियामा जान समय नै भएन, अन्तिमसम्म सहमतिको विषयलाई उठान गर्दा संविधान बनेन, यसको दोष कसलाई लगाउने ?’ उनले अघिल्लो पटक प्रमुख दलहरूबीच एक पटक सहमति भइसकेपछि पनि भत्किएको स्मरण गर्दै त्यसपछि प्रक्रियामा जानसमेत समय नपाएको अनुभव सुनाए ।

‘विगतमा रहेका सबैभन्दा कमजोर पक्ष दलहरूबीच सहमति भएन, एक पटक सहमति भएर पनि भत्कियो, त्यसपछि प्रक्रियामा गएर संविधान टुंगो लगाउन सक्ने अवस्था नै थिएन, समयले साथ दिन सकेन,’ उनले भने ।

विगतकै तीतो अनुभवलाई मध्यनजर राखी यस पटक त्यो गल्ती दोहोरिन नदिने आफ्नो प्रस्ट लक्ष्य पनि उनले सुनाए । ‘विगतमा जस्तो गल्ती अब दोहोरिन दिनुहुन्न, जुन बिन्दुमा सहमति हुन सक्दैन, त्यही बिन्दुबाट सहमतिबाटै प्रक्रियामा गएर संविधान निर्माणको विवाद टुंगो लगाउने स्पष्ट व्यवस्था गरिनुपर्छ,’ संविधानसभा अध्यक्ष नेम्वाङले भने । उनका अनुसार यो विषयलाई सम्बोधन गर्नका लागि संविधानसभा नियमावलीमै समय किटान गरी दलहरूबीच भएको सहमतिअनुसार एक वर्षभित्रै नयाँ संविधान जारी गर्ने कार्यतालिका निर्माण गरिनेछ ।

‘सबै दलको सहमतिका साथ संविधान निर्माण गर्नुपर्छ भन्ने नै पहिलो जोड हो तर विगतकै जस्तो असफलता नहोस् भनेर कार्यतालिकामै सहमति र सहमति हुन नसकेको अवस्थामा सहमतिका साथ प्रक्रियामार्फत निष्कर्षमा पुग्ने व्यवस्था गरिनुपर्छ,’ नेम्वाङले भने । उनले कार्यतालिकामै किटानीका साथ यति समयभित्र सहमति नभए प्रक्रियामार्फत टुंगो लगाउने व्यवस्था गर्नुपर्ने बताए ।

‘हामीले ८ माघबाट एक वर्षभित्र नयाँ संविधान जारी गर्नुपर्छ, एक महिना बितिसक्यो, बाँकी ११ महिनामा सहमतिका लागि कति समय चाहिने हो, त्यो छुट्ट्याऊँ, त्यो हुन नसके प्रक्रियामा जानुपर्छ, यसतर्फ सबै दलले आजै ध्यान दिनुपर्छ, त्यसो गरिएन भने फेरि पनि संविधान बन्न कठिन हुन्छ,’ नेम्वाङले भने ।

उनले विगत संविधानसभामा भएको कामलाई अहिलेको संविधानसभासँग कसरी जोड्ने भन्ने विषय, नियमावली निर्माण र संविधानसभाका उपाध्यक्ष चयनमा कार्यभार सम्हालेबाटै काम थालनी गरेको उल्लेख गर्दै नेम्वाङले अब सके सहमति, नभए प्रक्रियामार्फत संविधान जारी गर्ने मार्गचित्र प्रस्तुत गरेका हुन् ।

‘विगतका संविधानसभाको कामलाई यो संविधानसभासँग कसरी जोड्न सकिन्छ, त्यसैतर्फ ध्यान दिएको छु, अब पुरानो गल्ती दोहोरिन नदिनमै मेरो भूमिका रहन्छ,’ नवनिर्वाचित संविधानसभा अध्यक्षले भने ।

संविधानसभा उपाध्यक्ष चयनको विषयमा भने उनले शपथ ग्रहणलगत्तै राष्ट्रपतिभवन शीतलनिवासमै प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस र एमालेका शीर्ष नेतासँग छलफल गरेका छन् । ‘प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका नेताहरूसँग कुराकानी गरें, अब एमाओवादीसहित सबै दलका नेतासँग उपाध्यक्ष चयन र नियमावलीको विषयमा कुरा गरी चाँडो टुंगोमा पुग्ने प्रयास गर्छु,’ नेम्वाङले भने ।

उनले दलहरूबीच एकता कायम गरी संविधान जारी गर्न पहिलो भूमिका हुने उल्लेख गर्दै त्यसो हुन नसके प्रक्रियामा लगेर टुंगो लगाउनेमा अब सम्झौता नगर्ने प्रस्ट पारे ।

विगतमा प्रक्रियामा जान नदिएको आरोप खेपेका नेम्वाङले हाँस्दै भने, ‘समय सकिएपछि प्रक्रियामा लैजाऊँ भन्दैमा कसरी सम्भव हुन्छ ?’ नेम्वाङ पदवहाली गरेको पहिलो दिन बुधबार नै संविधानसभा सचिवालयले तय गरेको नियमावली मस्यौदा समिति र विज्ञबीचको अनौपचारिक छलफलमा सहभागी भएका छन् । अघिल्लो संविधानसभाको स्वामित्व ग्रहणलगायतका विषयमा समितिमा छलफल भएको छ ।

मंगलबार संविधानसभा अध्यक्षमा सर्वसम्मत निर्वाचित नेम्वाङले बुधबार अपराह्न राष्ट्रपति डा. रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपतिसमक्ष शपथ लिएपछि नेम्वाङ सिंहदरबार गई पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या