अमेरिकी अनाधिकृत आप्रवासीहरुलाई सुखद खबर; बृहद आप्रवासी सुधार बिधएक अनुमोदन वा राष्ट्रपतिको हस्ताक्षर

७ फाल्गुन २०७०, बुधबार ०५:३० मा प्रकाशित

शैलेश श्रेष्ठ, न्युयोर्क:
‘उम्केको माछो ठूलो’ भन्ने चलन छ । हो, अमेरिकी राजनीतिमा सन् २००८ त्यस्तै उम्किएको ठूलो माछो थियो ,युगान्तकारी वैचारिक परिवर्तनको व्यापक र बृहद नीतिगत सुधारको र आफुलाई एक्लो फगत महाशक्ति राष्ट्र मात्र हैन, न्यायपूर्ण संयुक्त राज्य अमेरिका बनाउने स्वर्णिम अवशरको । नमिठो लागेपनि सत्य यही हो । सपना र आकांक्षा धेरै तर कार्यकारी अनुभव पटक्कै नभएका राष्ट्रपति ओबामा चुकेकै हुन् यी सम्पूर्ण अवशरहरुबाट । ‘वाक शैली’ र ‘दृढ इच्छाशक्ति’का कारण चमत्कारिक रुपमा उदाएका आशा र परिवर्तनका सम्बाहक तन्नेरी ओवामा आफ्ना परम्परागत अनुदारवादी राजनैतिक प्रतिद्वन्दीलाई पहिचान गर्ने सवालमा पनि चुके । प्रथम कार्यकालको ‘हनिमुन अवधि’ तुलनात्मक रुपमा लामो रह्यो । जर्ज डब्ल्यू बुसले तहसनहस पारेको अर्थ व्यवस्था र वाहिरी विश्वसँग कायम भएको विषम सम्बन्ध र दुरीलाई समायोजन गर्दै अधिकांश समय वित्यो ।
अमेरिकी राजनीतिमा करिब २० वर्षपछि यस्तो ‘स्वर्णिम काल’ आएको थियो जहाँ दुवै सदनमा राष्ट्रपतिको दलको बहुमत थियो, अमेरिका नीतिगत, विधिवत र वैचारिकरुपमा १८० डिग्रीको कोणमा परिवर्तन हुन सक्थ्यो र त्यसको जस अमेरिकाका प्रथम अस्वेत राष्ट्रपति बाराक हुसेन ओबामालाई जान्थ्यो । एकवर्षसम्म ऐतिहासिक जीतको उत्सव मनाइसकेपछि राष्ट्रपति झल्यास्स उल्लास र उत्सवबाट ब्यूझिए र सम्झिए आफ्ना वाचा र प्रतिज्ञाहरु । सर्वसुलभ स्वास्थ्य र शिक्षा, रोजगार, अध्यागमन, संघीय नियम र अनुगमन, उपभोक्ता अधिकार विधयेक आदि इत्यादी । तर यो क्षण अमेरिकाले आप्रवासीहरुका सच्चा अभिभावक र अमेरिकी राजनीतिमा ‘लिबरल लायन’ भनेर जानिने टेड क्यानेडीको निधन भइसकेको थियो । अब घुर्रा पुरानै पारमा र चालमा दाहिनेतर्फ घुम्न थाल्यो । डेमोक्रेटिक पार्टीले माथिल्लो सदन सिनेटमा आफ्नो ‘फिलिवस्टर पु्रफ मेजेटरी ’ गुमायो त्यसपछि सामाजिक न्याय र आम जनजीविकासँग सम्बन्धित प्राय विधयेकहरु पूर्ण असफल भए, या त आवश्यक ६० मत नपाएर सिनेटमै थला पर्यो । यो अवधिमा राष्ट्रपतिको प्राथमिकतामा परेको एकमात्र विधयेक ‘अफोर्टेवल केयर एक्ट’ अर्थात् ओबामा केयर राष्ट्रपतिको रणनैतिक कौशल साम, दाम , दण्डभेद प्रयोग गरेर झिनो मतले पारित भयो । यत्रो समय लगाएर पारित गरिएको यही कानुन आम अमेरिकीहरुका लागि ‘अहिले नखाँउ भने दिनभरीको शिकार, खाँउ भने कान्छा बाउको अनुहार’ सावित भएको छ । व्यवधानलाई आफ्नो रणनीति मान्ने र ठान्ने अनुदारवादी दक्षिणपन्थीहरु विशेष गरेर ‘टि पार्टी ’ समर्थक रिपब्लिकनहरुको अगुवाईमा यो कानुन उल्टाउन ४० पटक भन्दा बढी प्रयास गरिएको छ ।

राष्ट्रपति ओबामा यसपालीको स्टेट अफ द युनियनको सम्बोधनमा नीतिगतरुपमा साहसिक तथा रणनैतिकरुपमा विपक्षी रिपब्लिकनहरुप्रति कठोर भएर प्रस्तुत भए । ओबामालाई प्रारम्भदेखि ‘डुअर’ भन्दा पनि ‘टकर’ भएको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । सधै बाकपटुता र शैलीको सहाराले विपक्षीमाथि जाइलाग्ने ओबामाले अघिल्लो महिनादेखि कलमको शक्ति र सामथ्र्यलाई सांकेतिकरुपमा प्रक्ष्यपण गरेका छन् । र भन्न थालेका छन् कि यो कुरा गर्ने वर्ष होइन, काम गर्ने वर्ष हो र मेरो कलम हस्ताक्षर गर्न तयार छ ।
यसको सिधा संकेत हो कि यदि प्राथमिकतामा विधेयकहरु काँग्रेसमार्फत आउँदैन भने उनी आफ्नो कार्यकारी अधिकार प्रयोग गर्न तयार छन् । यसको शुभारम्भ आफ्नो ‘स्टेट अफ द युनियन’को सम्बोधन मार्फत संघीय संरचनामा नियुक्त गरिने कामदार कर्मचारीहरुलाई प्रतिघण्टा १० डलर १० सेन्ट दिनुपर्ने कार्यकारी आदेश दिएर गरेका छन् । यही मेसोमा राष्ट्रपतिको उच्च प्राथमिकतामा परेको बृहद आप्रवासी सुधार विधेयक अरु केही महिनासम्म पनि काँग्रेसमार्फत हस्ताक्षरका लागि राष्ट्रपतिको डेस्कमा आएन भने ओबामाले अर्को कार्यकारी आदेश जारी गर्ने सम्भावना रहेको कुरा डेमोक्रेटिक पार्टी निकट रहेका उदार प्रगतिशिल मिडिया र पण्डितहरुले बताउन थालेका छन् । ‘फलाम तातेकै बेलामा आकार दिनुपर्छ’ भन्ने तथ्य बुझेका ओबामा अव दक्षिणपन्थी कित्ताका रिपब्लिकनहरुसँग धेरै ‘म्याउ म्याउ’ गर्ने पक्षमा छैनन् भन्ने कुरा यसपालीको सम्बोधनको सार , शैली , दृढ इच्छाशक्ति र गर्जनले प्रष्टाएको छ ।
तल्लो सदनमा प्रतिपक्षी रिपब्लिकन पार्टीको प्रचण्ड बहुमतको कारण पनि ओबामा पुन जनताको माझ उनीहरुको अभिमत र समर्थन लिन जानुपरेको हो । आखिर जहाँपनि राजनीति गरिव र गरिबी माथि नै हुने हो । अमेरिकी राजनीतिमा यो रंग देखाउने मौसम हो । अब मार्च अप्रिलसम्म अन्तरपार्टी प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन ) हुन्छ, आआफ्नो निर्वाचन क्षेत्रको जनमत बुझेर त्यही अनुशार अभिनय गर्छन् अनि रंग फेर्छन् । अमेरिकी राजनीतिमा वैचारिक अतिवाद यही राजनीतिक मौसममा देख्न पाइन्छ । निर्वाचित भएर क्याफिटल हिल छिरेपछि पर्लक्कै पल्टन्छन्, अर्कै धार र धु्रवतिर ।
ऐतिहासिक विजयको पहिलो हप्तादेखि परम्परावादीहरुबाट सोसलिस्टको उपमा पाएका राष्ट्रपति ओबामा वैचारिकरुपमा समाजवादीधार र चिन्तन अनि कार्यकारी वा रणीनितक रुपमा सामाजिक न्याय र समतामूलक विचार र नीतिको पक्षपोषण गर्न भने चुकेको आरोप आफ्नै पार्टीका उदारवादी प्रगतिशिल खेमाले लगाउने गरेका छन् । जे भएपनि राष्ट्रपति ओवामाको यसपालीको गर्जनलाई विपक्षीहरुले परिभाषित गरेजस्तै अहम् या दम्भ भनेर बुझ्नु हुँदैन । बरु यो उनको याचना अनि अलिकति ग्लानी अनि त्यो भन्दा धेरै दृढ इच्छाशक्ति र प्रतिज्ञा हो भनर बुझ्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का