‘रेटा भाइरस’ बाट हुने झाडापखाला गाउँ पस्दै

६ फाल्गुन २०७०, मंगलवार ०६:३१ मा प्रकाशित

काठमाडौं, ६ फागुन । रेटा भाइरसका कारण विगतका वर्षमा काठमाडौं उपत्यकामा मात्र महामारीको रूप लिई फैलिएको झाडापखाला केही दिनदेखि मुलुकका दुर्गम जिल्लाहरूमा पनि देखिन थालेको छ ।

केही दिनदेखि रुकुम सदरमुकाम खलंगा र आसपासका १६ गाविसमा फैलिएको झाडापखाला सोही भाइरसका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । दूषित पानीका कारण बच्चामा देखिने सो झाडापखालाका कारण अस्पताल भर्ना भएका चार बच्चाको ज्यान गएको थियो । त्यस्तै, शनिबारसम्म १ सय १४ जना अस्पताल भर्ना भएको महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिए ।

उनले रुकुम अस्पतालबाट ल्याएको नमुना परीक्षण जाँच गर्दा रेटा भाइरसका कारण झाडापखालाको महामारी फैलिएको प्रमाणित भएको बताए ।

‘हामीले ल्याएर नमुना परीक्षण गर्दा रेटा भाइरस देखियो, त्यसैका कारण झाडापखालाले महामारी लिएको रहेछ,’ उनले  भने, ‘विगतमा सहरी क्षेत्रमा दूषित पानीले गर्दा यो भाइरस देखिन्थ्यो, अहिले दुर्गममा पनि फैलिइसकेछ ।’

डा. मरासिनीले दुर्गम जिल्लामा यो भाइरस देखिएर प्रमाणित भएको पहिलो पटक भएको बताए । ‘राजधानीलगायत ठूला सहरहरूमा तीन/चार वर्षअघि नै यो भाइरस देखिसकेको थियो तर ग्रामीण क्षेत्रमा देखिएको पहिलो पटक हो,’ मरासिनीले भने । उनले यही भाइरसका कारण रुकुममा महामारीको रूप लिएको समेत पुष्टि गरे ।

महामारी फैलिएपछि निर्देशक मरासिनीको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी थप औषधिलगायतका जनशक्ति त्यसतर्फ पठाएको छ । उनले पछिल्लो समय महामारी नियन्त्रणमा आउने क्रममा रहेको दाबी गरे । ‘अहिले ज्यादै कम भइसकेको छ, केही दिनमै नियन्त्रणमा आउँछ,’ उनले भने । बिरामी भएका बालबालिकालाई समयमै अस्पताल ल्याउन नसकेका कारण मानवीय क्षति बढी हुन गएको उनले बताए ।

सो भाइरसका कारण झाडापखाला लाग्नेमा अधिकांश ३ देखि १५ महिनासम्मका बालबालिका रहेको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए । निरीक्षण टोलीमा गएका लामिछानेले झाडापखाला लागिसकेपछि झोल पदार्थ खुवाउनु हुँदैन भन्ने अन्धविश्वासका कारण पनि महामारी फैलन सहयोग पुगेको बताए । पानीका कारण सो भाइरसले महामारीको रूप लिएको भए पनि एकै पटक धेरै गाविसमा कसरी फैलियो भन्ने कुरा अनुसन्धानको विषय भएको उनको भनाइ छ ।

‘सहरमा एउटै मुहान हुँदा एकै प्रकारको भाइरस सबैतिर फैलिन्थ्यो तर गाउँमा धेरै मुहानको पानी प्रयोग गरिए पनि त्यही भाइरस देखियो,’ उनले भने, ‘छुट्टाछुट्टै मुहान भएको हुँदा औषधि लगाएर भाइरस नष्ट गर्न समस्या भएको छ ।’

राजधानीमा पनि उस्तै

राजधानीमा पनि रेटा भाइरसका कारण झाडापखाला लागेर उपचारका लागि अस्पताल आउने बालबालिकाको संख्या उच्च रहेको छ । महाराजगन्जमा रहेको कान्ति बाल अस्पतालमा दैनिक बिरामी भएर आउने बालबालिकाको ४० देखि ५० प्रतिशतसम्म सोही भाइरसका कारण झाडापखाला लागेर अस्पतालमा उपचारका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

काठमाडौंको दूषित पानीले गर्दा सो भाइरसकै कारण जाडो समयमा झाडापखालाका बिरामी बढी आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई बताउँछन् । ‘यो भाइरसले जाडोको समयमा बालबालिकामा सजिलै संक्रमण गर्छ,’ उनले राजधानीसँग भने, ‘बिरामी भएर अस्पताल आएका अधिकांश बालबालिकामा यसको प्रकोप देखिएको छ ।’

दूषित खानपिन र पानीका कारण भाइरस फैलन मद्दत पुगेको उनको भनाइ छ । यसबाट बच्न स्वच्छ पानी पिउने, आमाहरूले स्तनपान गराउनुपर्ने र खानपानमा ध्यान दिनुपर्ने उनको सुझाव छ । रेटा भाइरसका कारण झाडापखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने र पेट दुख्नेजस्ता लक्षण देखिने डा. राईले बताए । विश्व स्वास्थ्य संगठनले सन् २००९ मा सार्वजनिक गरेको रेटा भाइरसको तथ्यांकमा तीन महिनादेखि दुई वर्षसम्मका ३६ प्रतिशत बालबालिकामा सो भाइरसको संक्रमण हुने गरेको उल्लेख छ । त्यस्तै, दक्षिण एसियाली मुलुकहरूमा यसको प्रकोप ३७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत