निकुञ्जको लापरबाहीले जंगली हात्तीको मृत्यु

४ फाल्गुन २०७०, आईतवार ०६:३४ मा प्रकाशित

चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जको लापरबाहीका कारण एउटा जंगली हात्ती मरेको छ । एक महिनायता बस्ती पसेर घर भत्काउने तथा अन्न खाइदिने गरेपछि माडी क्षेत्र आतंकित बनेको थियो ।

साना घर भत्काएर अन्न खान थालेपछि केही बस्तीका स्थानीयवासी रातिको समयमा सामूहिक रूपमा विद्यालयमा रात बिताउन बाध्य भएका थिए । २२ माघमा गर्दी–१ अमिलियाका शेरबहादुर परियारको हात्तीकै आक्रमणका कारण ज्यान गएपछि स्थानीयवासीले हात्तीलाई नियन्त्रणमा लिन दबाब दिँदै आएका थिए ।

निकुञ्जबाट माडीका विभिन्न बस्तीमा पसेर दुःख दिँदै आएको हात्तीलाई नियन्त्रणमा लिन तीन पटकसम्म लठ्याउने औषधि दिएपछि हात्ती मरेको बताइएको छ । शुक्रबार राति निकुञ्जबाट गएको प्राविधिक टोलीले पहिलो पटक लठ्याउने औषधि दिँदा हात्ती सामान्य अवस्थामै रहेपछि दोस्रो पटक पनि हात्तीलाई औषधि दिइएको थियो । दोस्रो पटक औषधि दिँदा हात्ती लठ्ठिएर केही समय ढलेको थियो । तर, सो समयमा रेडियो कलर जोड्ने प्राविधिक टोली नपुग्दा हात्ती फेरि हिँड्न थालेपछि तेस्रो पटक लठ्याउने औषधि दिइएको थियो । त्यसपछि भने ओभरडोजका कारण हात्ती मरेको स्रोतले दाबी गरेको छ ।

हात्ती मरेको स्थल निकुञ्ज छेउको गर्दी गाविस–१, अमिलियामा सयौं सर्वसाधारणको भीड लागेको थियो । चितवनको माडी क्षेत्रका बस्तीमा पसेर आतंक मच्चाउँदै आएको एउटा हात्ती मरेको हो । चितवन राष्ट्रिय निकुञ्जले अनुगमनका लागि बेहोस पारेर नियन्त्रणमा लिएको हात्ती प्राविधिक त्रुटिका कारण मरेको हो । चितवन राष्ट्रिय निकुञ्जले विज्ञप्ति निकालेर ओरालो ठाउँमा बेहोस भएकाले पेटले फोक्सोमा असर गरेको र सास फेर्न असहज भएकाले हात्ती मरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख भएको जनाएको छ ।

हात्ती नियन्त्रणमा लिन परिचालित प्राविधिक टोलीले शुक्रबार राति गर्दी–१, अमिलिया क्षेत्रबाट डार्ट गरेर हात्तीलाई नियन्त्रणमा लिएको थियो । राति १ बजेर ४० मिनेट जाँदा लठ्याउने जाइलोजिन तथा बिहान ६ बजेर ५० मिनट जाँदा बेहोस बनाउने एम–९९ नामक औषधि दिइएको निकुञ्जले जानकारी दिएको छ ।

हात्ती बिहान ७ बजेर ९ मिनेटमा बेहोस भएको थियो । तर, हात्ती ओरालो जमिनमा बेहोस भएपछि ब्युँझाउन बिहान ७ बजेर २१ मिनटमा जाइलोजिन एन्टिडोट र ७ बजेर ३० मिनेटमा एम–९९ को एन्टिडोट दिइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए । हात्तीले बिहान ७ बजेर ३५ मिनेटसम्म सास फेर्दै गरे पनि त्यसपछि हात्ती मरेको उनले जानकारी दिए । यसअघि, सो हात्तीलाई २९ माघमा बिहान साढे ५ बजे पनि लठ्याउने जाइलोजिन नामक औषधि हानिएको निकुञ्जले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यस बेला हात्ती पुनः जंगलभित्र पसेकाले बेहोस पार्न सकिएको थिएन ।

हात्ती बस्तीमा पसेर धनजनको क्षति गर्न थालेपछि निकुञ्जको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले पाँचओटा हात्तीमा रेडियो कलर जोडेर नियमित अनुगमन गर्न अनुमति दिएको थियो । सोही अनुमतिबमोजिम निकुञ्जका भेटेनरी डाक्टरको नेतृत्वमा निकुञ्जका प्राविधिक र वन्यजन्तु संरक्षण केन्द्र सौराहाका प्राविधिकको टोली हात्तीलाई नियन्त्रणमा लिन दुई टोलीमा खटिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

टोलीमा निकुञ्ज रक्षार्थ नेपाली सेनाको टोली खटिँदै आएका थिए । वन्यजन्तु र स्थानीयवासीबीचको सम्बन्ध सुमधुर राख्न हात्ती नियन्त्रणमा लिएर नियमित अनुगमन गर्ने प्रक्रियाका क्रममा हात्तीको मृत्यु भएको भन्दै निकुञ्जले दुःख व्यक्त गरेको छ । हात्तीलाई मरेकै स्थान गर्दी–१, अमिलियामा खाडल खनेर गाडिएको निकुञ्जले जानकारी दिएको छ । अघिल्लो वर्ष माडी क्षेत्रमा ध्रुवे नामक हात्तीले लगातार मान्छे मारेपछि त्यसलाई पनि डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । अहिले त्यो हात्ती बेपत्ता छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा