‘अधिकांश घर बाहिरबाट टालटुल पारेर ठड्याइएका छन्’

४ फाल्गुन २०७०, आईतवार ०६:२२ मा प्रकाशित

काठमाडौं, ४ फागुन । सडक विस्तारका क्रममा आधा भाग भत्काइएका उपत्यकाका घर तथा भवन जोखिममा रहेको विज्ञहरूले औंल्याएका छन् । सडक चौडा पार्दा भत्काइएका घर तथा भवन भूकम्पीय दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेको विज्ञहरूको भनाइ छ ।
‘आधा भाग भत्काइएका अधिकांश घर बाहिरबाट टालटुल पारेर ठड्याइएका छन्,’ भूकम्पीय प्रविधि समाज नेपालका एड्भोकेसी मेनेजर खड्गसेन ओलीले भने, ‘तर, ती घर भित्रबाट अत्यन्त कमजोर छन् ।’
ती घर ‘मध्यमखाले (करिब साढे ५ रेक्टर स्केल) भूकम्प झेलिसकेको’ अवस्थामा रहेकाले भूकम्पको सानो झड्काले पनि सजिलै ढाल्न सक्ने ओलीको भनाइ थियो ।
हाल उपत्यकामा चलिरहेको सडक विस्तार अभियानका कारण राजधानीमा जोखिमपूर्ण घरहरूको संख्या बढ्दै गएको विज्ञहरूको भनाइ छ । भूकम्पीय प्रविधि समाज नेपालका अनुसार उपत्यकाका ६० प्रतिशत घर तथा भवन अत्यन्त कमजोर छन् । जसमा अधिकांश नक्सा पास नगरी बनाइएका पुराना घर पर्दछन् । सडक विस्तारले उपत्यकामा कमजोर संरचना भएका घर तथा भवनको संख्या बढाइरहेको ओलीको विश्लेषण छ ।

यता, काठमाडौं महानगरपालिकाले सडक विस्तारका क्रममा आधा भाग भत्काइएका घरहरू जोखिमपूर्ण अवस्थामा रहेको स्विकारेको छ । ‘एकनाले (भत्काएर एक कोठा मात्र बाँकी रहेका) घरहरू त झन् उच्च जोखिममा छन्,’ महानगरपालिकाका सहरी योजना प्रमुख विमल रिजालले भने, ‘कुनै पनि बेला भूकम्पले यहाँका घर भत्काउने हो भने सबैभन्दा पहिले तिनै घर भत्काउनेछन् ।’
यसतर्फ, हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले ध्यान नदिएको रिजालको भनाइ छ । ‘नयाँ बनेका सडक छेउका घर अत्यन्त ‘डेन्जर’ अवस्थामा छन्,’ उनले भने, ‘त्यस्ता घरको सुरक्षाको क्षेत्रमा महानगरपालिका समेतले केही चासो देखाएको छैन ।’
उनले नक्सा पास गरेर घर बनाउने कानुनी व्यवस्था लागू हुनुअघि उपत्यकामा निर्माण भएका पुराना घरको भौतिक सुरक्षाका लागि समेत महानगरपालिकासँग कुनै योजना नरहेको बताए ।
ओलीले आधा भाग भत्काइएका घर घरधनीले पुनर्निर्माण गर्दा सरकारी र गैरसरकारी निकायले भूकम्प जोखिम कम गर्ने उद्देश्यले कुनै सहयोग गर्न नसकेको बताए । उनका अनुसार भूकम्पीय प्रविधि समाज नेपालले सडकले गर्दा भत्काइएको घर बनाउँदा प्राविधिक परामर्श लिन आह्वान गरे पनि कोही आएनन् ।
‘आधा भाग भत्काइएको घरलाई पनि भूकम्पीय दृष्किणले बलियो र भरपर्दो बनाउन सकिन्छ,’ ओलीले भने, ‘तर, यसतर्फ न घरधनी न सरकारी निकायको ध्यान जान सक्यो ।’
उनले हाल विस्तारित सडक किनारमा निर्माण भइसकेका घरहरू बाहिरबाट हेर्दा मात्र राम्रो देखिए पनि भित्र कमजोर रहेको बताए । ‘हामीले प्राविधिक परामर्श लिन चाहनेहरू आउनुहोला भन्यौं तर खासै मान्छे आएनन्,’ उनले भने, ‘भूकम्पीय जोखिम कम गर्ने अवसर थियो, जुन हामीले गुमायौं ।’
सडक विस्तारका क्रममा आधा भाग भत्काइएका घरहरू प्रायः तला थपेर ठड्याइएको रिजालको भनाइ छ । तर, त्यसरी तला थप्दा भने घरधनीले महानगरपालिकासँग स्वीकृति नलिने गरेको उनले बताए । उनले सडक विस्तारका क्रममा आधा भाग काटेर बनाइएका घर तथा भवनको संख्या भन्न नसकिने बताए । हाल उपत्यकाभरि नै सडक विस्तार अभियान चलिरहेको छ । राजधानीको लाजिम्पाट, डिल्लीबजार, पुरानो बानेश्वरलगायत अन्य धेरै स्थानमा आधा भाग भत्काइएका घरहरू छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी