विवादैविवाद पछि तैं चुप मै चुप

३ फाल्गुन २०७०, शनिबार ०६:४९ मा प्रकाशित

काठमाडौं, ३ फागुन । केही समयअघि डीएनए परीक्षणका लागि चार सन्तानसहित एक दम्पती ललितपुर खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पुगे । उनीहरू त्यहाँ जानुको उद्देश्य थियो, ती सन्तानको बाबुआमा पत्ता लगाउनु । ती सन्तानको वास्तविक बाबुआमाबारे परिवारभित्रै विवाद भएपछि उनीहरू त्यहाँ पुगेका थिए । डीएनए परीक्षणले उनीहरूसँगै गएका चारजनामध्ये दुईको बाबुआमा ती दम्पती नै भएको देखायो । एकजनाको आमा ती महिला नै भएको र अर्को एकजनाको बाबु आमा दुवै नभएको परीक्षणले देखायो ।
विवाहअगावै सन्तान जन्मेपछि एक पुरुषले महिलालाई स्विकार्न अस्वीकार गरे । ती महिलाले बच्चाको बाबु ती पुरुष भएको दाबी गरिन् । पुरुषले बच्चाको बाबु आफू नभएको दाबी गरे । विवाद उनीहरूमा मात्र सीमित रहेन, दुवैका परिवारले पनि यसमा चासो राखे । डीएनए परीक्षणको नतिजा सकारात्मक आए मात्र स्वीकार गर्ने ती पुरुष र उनको परिवारको भनाइ थियो । महिला र उनको परिवार पनि नकारात्मक नतिजा आए दाबी नगर्ने भन्दै थिए । त्यसपछि विवाद चर्केपछि ती पुरुष र महिला बच्चाको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला गए । प्रयोगशालाले बच्चा ती पुरुषकै भएको प्रमाणित गरेपछि विवाद सुल्झियो ।
केही समयअघि जनकपुर अस्पतालमा दुई महिलाले सँगसँगै बच्चा जन्माए । एउटै महिलाले छोरा जन्माए, अर्कीले छोरी । बच्चा जन्मेको केही समयपछि दुवैले छोरा आफ्नो भएको दाबी गरे । ती महिला तथा तिनका परिवार र आफन्तको यस्तो दाबीसँगै अस्पतालमा तनाव छायो । उपचार सेवासमेत प्रभावित भयो । अस्पताल र स्थानीय प्रशासनले विवाद सुल्झाउन नसकेपछि सो मुद्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्म आइपुग्यो । प्रयोगशालाले विवाद समाधान गर्‍यो ।
माथिका यी उदाहरण राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको महत्त्व र प्रभावका लागि काफी छन् । प्रयोगशालाको स्थापनापछि जटिलभन्दा जटिल समस्या पनि सहजै समाधान भएका छन् । यसले अदालतलाई पनि मुद्दा किनारा लगाउन सहज भएको छ । प्रयोगशालाले प्रमाणसहित मुद्दाको किनारा लगाउन सहयोग गर्ने भएकाले पनि दुवै पक्षले यसले दिने प्रमाणप्रति औंला ठड्याउन सक्ने स्थिति छैन ।
प्रयोगशालामा व्यक्तिगत रूपमा डीएनए परीक्षणका लागि आउनेको संख्या बर्सेनि बढ्दो छ । श्रीमान्–श्रीमतीबीच सामान्य घरायसी झैझगडापछि नै परीक्षणका लागि आउनेको संख्या बढेपछि प्रयोगशालाले गर्नैपर्ने अवस्था हो होइन बुझेर मात्र गर्न थालेको छ । परिवारदेखि समाजको विवाद टुंग्याउने काम पनि परीक्षणका नतिजाले गरेको पाइन्छ ।
माथि उल्लेख गरिएको पहिलो घटनामा पुरुषलाई पहिलो सन्तानको बाबु आफू नभएको थाहा थियो । अध्ययनका सिलसिलामा उनी भारत हुँदा श्रीमती गर्भवती भएकी थिइन् । तर, उनले त्यसलाई स्वीकार गरे । तर, उनलाई दोस्रो र तेस्रो सन्तानमा पनि शंका रहेछ । त्यसैले, उनले श्रीमतीसँग यस विषयमा जान्न चाहे । श्रीमतीले जे भनिन्, उनले विश्वास गरिनन् । त्यसैले, उनीहरू प्रयोगशाला गएका हुन् । प्रयोगशालाले दोस्रो र तेस्रो सन्तानको बाबु उनी नै भएको प्रमाणित गरिदियो । उनीहरूसँगै गएका अर्का एक बच्चा भने भाइका छोरा थिए । काकारठूलोबुबा र भतिजाको सम्बन्ध परीक्षण गर्ने प्रविधि नभएको नबुझेर उनलाई पनि परीक्षणका लागि उनीहरूले लगेका थिए ।
परीक्षणको नतिजाले ती दम्पतीको सम्बन्ध अझै राम्रो बनाएको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताए । ‘नतिजालाई सहजै स्वीकार गर्नु प्रयोगशालामाथि उनीहरूको विश्वास र सम्मान हो,’ रिजालले भने ।
डीएनए परीक्षणले विवाद टुंगो लगाउन वा शंकालाई प्रमाणित गर्ने काम गरेको कार्यकारी निर्देशक रिजालले बताए । विज्ञानले सहीगलतभन्दा सत्य के हो मात्र देखाउने हुनाले अदालतले त्यसमा टेकेर न्याय दिनुपर्ने उनले बताए । नेपालमा सो प्रयोगशाला भित्रिएको लामो समय भएको छैन । प्रयोगशालाले सन् २००६ बाट डीएनए परीक्षण थालेको हो ।
परिवारमा वर्षौंदेखि जारी विवाद टुंगो लगाउन व्यक्तिगत रूपमा आउनेको संख्या पनि धेरै भएको प्रयोगशालो जनाएको छ ।
त्यसबाहेक प्रवेशाज्ञाका लागि वा अदालतबाट आउनेको संख्या पनि कम छैन । नाता कायममा समस्या देखिएपछि सन्तानका माध्यमबाट श्रीमान्सँग नाता कायम गराउन महिलाले यसको उपयोग सबैभन्दा बढी गरेका छन् ।
सामाजिक रूपमा विवाह गर्न बाँकी छँदै सन्तानलाई जन्म दिने महिलालाई पुरुषले अस्वीकार गरेका घटना धेरै छन् । विवाहका अन्य प्रमाण जुटाउन नसकेको अवस्थामा महिलाले डीएनए परीक्षणबाट नाता कायम गराएका छन् । विवाह गरेको लामो समयपछि पनि श्रीमान्ले बच्चाको बाबु आफू होइन भनेर आपसमा विवाद निकाल्दा त्यसको समाधान पनि प्रयोगशालाले नै गर्ने गरेको छ ।
‘यस्तो घटनामा दम्पती नै प्रयोगशालामा आउने गरेका छन्, महिलाले श्रीमान्लाई ल्याएका घटनामा सबैमा नतिजा सकारात्मक छ, अर्थात् श्रीमान् नै बाबु हो भन्ने प्रमाणित भएका छन्,’ रिजालले भने ।
यसका अलावा पुरुषहरू आफैं पनि सन्तानलाई लिएर परीक्षण गर्न प्रयोगशाला जाने गरेका छन् । यसले विवाद बढाउने वा परिवारलाई ध्वस्त बनाउन सक्ने भन्दै प्रयोगशालाले त्यो आवश्यक होरहोइन हेर्न थालेको छ ।
प्रयोगशालाले डीएनए परीक्षण गर्न थालेपछि अदालतमा समेत त्यसलाई प्रमाणका रूपमा लिने गरिएको छ । प्रयोगशालाले डीएनए परीक्षण गर्नुअघि रक्त समूहको परीक्षण गर्ने गथ्र्यो ।
‘एक व्यक्ति बच्चा आफ्नो होइन भनेर श्रीमतीलाई दिनहुँजसो दुःख दिने गर्दा रहेछन्, अति भएपछि ती महिला सन्तानको बाबु होरहोइन भन्ने जाँच गर्न भन्दै प्रयोगशाला आइन् । त्यतिबेला रक्त समूहका आधारमा मात्र यस्तो परीक्षण गरिन्थ्यो । बच्चा र बाबुरआमाको रक्त समूह नमिल्दा होइन भन्ने प्रमाणित हुन्थ्यो । मिल्दा होइन भन्ने त देखिँदैनथ्यो न त हो भन्ने नै प्रमाणित हुन सक्थ्यो । त्यसैले, हामीहरू ‘बाबु होइन भन्न सकिएन भन्ने नतिजा अदालतलाई पठाउथ्यौं,’ रिजालले भने ।
विगतमा प्रविधि सीमित हुँदा निर्दोषले समेत सजाय पाएको उनको अनुभव छ । ‘डीएनए परीक्षण सुरु भएयता आरोप लागेका धेरैलाई न्याय मिलेको छ, बलात्कार गरेको भन्दै आरोप लागेकाले समेत न्याय पाएका छन्, परिवारभित्र हुने बलात्कार वा हाडनाताका घटनामा तेस्रो पक्षलाई आरोप लगाएकोमा प्रयोगशालाको नतिजाले उनीहरूलाई न्याय दिएको घटना धेरै छन्,’ रिजालले सुनाए ।
पछिल्ला दिनमा आएका व्यक्तिगत घटनामा दुई किसिमका प्रवृत्ति देखिएको उनको अनुभव छ । एक किसिमका घटनामा पुरुषले सामान्य विवादमा पनि सन्तानमा शंका गर्ने र परीक्षण गरिहाल्ने गर्दा परिवार बिग्रने सम्भावना देखिएको छ । सम्पन्न महिलाका सन्तानमा दाबी गर्दा प्रमाणित भए पुरुषले ब्ल्याकमेल गर्न सक्ने खतरा रहेको उनले बताए ।
प्रयोगशालामा २०६९र७० मा कुल ३७ ओटा केसको १ सय ६ ओटा नमुना परीक्षण गरिएको थियो । यीमध्ये ३० ओटा केसको ८५ ओटा नमुना विभिन्न अदालतबाट आएका थिए । १४ ओटा केसमा बकपत्रसमेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको