‘एमाओवादीका शीर्ष नेताका कारण जनयुद्धले धक्का खानु पर्‍यो’

१ फाल्गुन २०७०, बिहीबार ११:२४ मा प्रकाशित


काठमाडौं, १ फागुन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गर्दै गर्दा पार्टीमा रहेको दक्षिणपन्थी नवसंशोधनवादी विचलनले धोका दिएको आरोप लगाएका छन् ।
१९ औं जनयुद्ध दिवसका अवसरमा आज (बिहीबार) शुभकामना सन्देश जारी गरेर दक्षिणपन्थी नवसंशोधनवादीहरुको बिचलनका कारण जनयुद्धले ठूलो धक्का खानु परेको बताएका छन् । उनले नाम नलिए पनि एमाओवादीका शीर्ष नेताहरुका कारण जनयुद्धले धक्का खानु परेको बताए ।
‘दश वर्षको महान् जनयुद्धको प्रक्रियामा हामी रणनीतिक रक्षा र सन्तुलनका चरण पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गरेका थियौं,’ अध्यक्ष बैद्यले भनेका छन्, ‘ठीक यसै बेला पार्टीको एउटा हिस्सामा गम्भीर प्रकारको दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भयो र महान् जनयुद्धले ठूलो धक्का खानु पर्‍यो ।’
उनले त्यस स्थतिमा विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपमा विद्रोहको झण्डा उठाउँदै नेकपा–माओवादीको गठन गरी क्रान्तिको प्रक्रियामा अगाडि बढेको दाबी गरेका छन् । ‘जबसम्म जनसमुदायमाथि उत्पीडन र दमन हुन्छ तबसम्म प्रतिरोध, क्रान्ति र मुक्तिको प्रक्रिया निरन्तर जारी रहन्छ,’ सन्देशमा उल्लेख छ ।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको थियो । जनयुद्धका क्रममा दशहजार भन्दा नागरिकले ज्यान गुमाएका थिए ।
सामन्तवाद, साम्राज्यवादी/विस्तारवादी हस्तक्षेप तथा दक्षिणपन्थी संशोधनवादको विरोध र नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने उद्देश्यमा जनयुद्ध आधारित रहेको अध्यक्ष बैद्यले स्मरण गरेका छन् ।
उनले जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको उद्देश्य प्राप्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्न पुन: प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका हक अधिकारको स्थापना र जनजीविकाका समस्या अत्यन्तै विकराल बन्दै गएको नेकपा–माओवादीको भनाई छ ।
संविधानसभा मार्फत् जनताको संविधान कदापि बन्न नसक्ने जनाएका बैद्यले देशभक्त, जनवादी र वामपन्थीहरु संघर्षका लागि एकजुट हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको