एकता, सहमति र सहकार्य गर्न दलहरुलाई एमाले अध्यक्षको आग्रह

९ बैशाख २०६९, शनिबार १९:४१ मा प्रकाशित


काठमाडौ, ९ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माणको जिम्मेवारी जेठ १४ भित्रै पूरा गर्नका लागि प्रमुख राजनीतिक दलहरुबीचलाई एकता, सहमति र सहकार्य गर्न आग्रह गरेका छन् । खनालले नेपाली कम्युनिष्ट आन्दोलनले ६३ वर्ष पुरा गरेको उपलक्ष्यमा एक विज्ञप्ति प्रकासित गर्दै हामीले आगामी जेठ १४ भित्रै यी कार्य पूरा गरेर मुलुकलाई विकास र समृद्धिको नयाँ युगतर्फ अघि बढाउने एतिहासिक दाइत्व पुरा गर्न दलहरु सफल हुने विश्वास ब्यक्त गर्नु भएको छ ।

अध्यक्ष खनालले विज्ञप्ति मार्फत इतिहास र राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गरेका हुन् ।खनालले विज्ञप्तिमा भनेका छन्, ‘एउटा राष्ट्रको जीवनमा यस्तो ऐतिहासिक मोड विरलै आउने गर्छन्, अहिले नेपाल राष्ट्र ठीक यस्तै विशेष मोडमा रहेको छ ।’

एमाले अध्यक्ष झलनाथ खनालको विज्ञप्तिको पूर्ण पाठ:

प्रेस विज्ञप्ति

मुलुकमा मार्क्सवादी विचारधारामा आधारित भई कम्युनिष्ट आन्दोलनको थालनी भएको ६३ वर्ष पूरा भएको छ । सर्वप्रथम यस घडीमा देश र प्रवासमा रहनुभएका तमाम न्यायप्रेमी जनसमुदायमा म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । साथै, नेपाली कम्युनिष्ट आन्दोलनमा संलग्न, समर्पित र सक्रिय सबै महानुभावहरुमा पार्टीका तर्फबाट निरन्तर प्रगति र सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

कमरेड पुष्पलालको नेतृत्वमा वि.सं.२००६ साल वैशाख १० गते तदनुरुप २२ अप्रिल १९४९ का दिन भारत कोलकाताको श्यामबजार इलाकाको २८ नवीन सरकार लेनमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । त्यसयताको लामो अवधिमा कठोर संघर्षको निरन्तर प्रक्रियाबाट गुज्रिँदै आजसम्म आइपुग्दा नेपाली कम्युनिष्ट आन्दोलन देशकै प्रमुख शक्तिका रुपमा स्थापित भइसकेको छ । संविधान सभामा ६२ प्रतिशत कम्युनिष्टहरुको उपस्थितिले नै यो तथ्य स्पष्ट गरेको छ । यस सुखद अवसरमा म परिवर्तनका खातिर आफ्नो जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरु, संस्थापक महासचिव कमरेड पुष्पलालसहित दिवंगत संस्थापकहरु निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछु । र एकमात्र जीवित संस्थापक कमरेड नरबहादुर कर्माचार्यप्रति अझ दीर्घायुको शुभकामना प्रकट गर्न चाहन्छु ।

यतिबेला मुलुक ऐतिहासिक संक्रमणकालबाट गुज्रिरहेको छ । हामी शान्तिप्रक्रियालाई पूर्णतामा पु-याउन, नयाँ संविधान जारी गर्न र शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्न अत्यन्तै जिम्मेवारीबोधका साथ अग्रसर भएका छौं । प्रमुख राजनीतिक दलहरुबीचको एकता, सहमति र सहकार्यमा मात्रै हामीले आगामी जेठ १४ भित्रै यी कार्य पूरा गरेर मुलुकलाई विकास र समृद्धिको नयाँ युगतर्फ अघि बढाउन सक्नेछौं । यस निम्ति म सबैलाई एकताबद्ध भएर इतिहास र राष्ट्र्रले सुम्पेको जिम्मेवारी पूरा गर्न विशेष जोड दिन चाहन्छु । किनभने हामीले एकातिर राष्ट्रलाई अग्रगति र प्रगतिको दिशामा अघि बढाउनुपर्ने खाँचो छ भने सँगसँगै राष्ट्रिय हित, एकता र स्थिरतासमेत दिनुपरेको छ । एउटा राष्ट्रको जीवनमा यस्ता ऐतिहासिक मोड बिरलैमात्र आउने गर्दछन्, अहिले नेपाल ठीक यस्तै विशेष मोडमा रहेको छ । यस कुराको हेक्का राखी आ-आफ्ना दलगत, गुटगत र व्यक्तिगत स्वार्थबाट माथि उठेर सम्पूर्ण योग्यता, क्षमता र सिर्जनशीलता प्रयोग गरी मुलुकलाई न्याय, समानता र समृद्धिको यात्रामा अघि बढाउन सबैलाई हार्दिक आग्रहसमेत गर्न चाहन्छु ।

आजको यस बिन्दुसम्म आइपुग्दा हाम्रो पार्टीले जननेता मदन भण्डारीको नेतृत्वमा नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको विकास गरेको छ । र, मुलुकको समाजिक परिवर्तनको नेतृत्वकारी विचारका रुपमा समेत स्थापित भएको छ । यसको सहीपनालाई दृढतापूर्वक आत्मसात् गरेर मात्रै आन्दोलनले जनताको साथ, समर्थन र विश्वासमा अझ महत्वपूर्ण प्रगति हासिल गर्न संभव हुनेछ ।

आखिर, इतिहासका रचनाकार जनता नै हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको यस ६३ औं वर्षगाँठले सम्पूर्ण नेपालीलाई त्यागपूर्ण एकतामा आबद्ध गरेर निष्ठाका साथ नयाँ इतिहास निर्माण गर्ने ऐतिहासिक दायित्व निर्वाह गर्न प्रेरित गरोस् भन्ने हार्दिक विश्वास पनि व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक