‘सभासद्हरूले जिब्रो लरबरिएको भन्दै हाँसो गरे’

२८ माघ २०७०, मंगलवार ०६:५६ मा प्रकाशित

काठमाडौं, २८ माघ । सोमबार दिउँसो मुलुकको ३७औं प्रधानमन्त्री चुन्न प्रत्यक्ष र समानुपातिकबाट विजयी भएर आएका सभासद्हरू व्यवस्थापिका–संसद्मा उपस्थित थिए । ११ बजे संसद् बैठक बस्ने समय निर्धारण गरिए पनि सवा घन्टापछि मात्र संसद् बैठक सुरु भयो ।

साना राजनीतिक दलका सभासद्हरू आ–आफ्नो ठाउँमा बसिसकेका थिए भने ठूला दलका शीर्ष नेताहरू आउने क्रम चलिरहेको थियो । सोही क्रममा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला प्रवेश गरे । प्रवेश गरेलगत्तै उनले पहिल्यै आफ्नो सिटमा बसिसकेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग करिब दुई मिनेट कुराकानी गरे । कोइराला निधारमा राटो टीका लगाएर हँसिलो मुहारमा देखिएका थिए । प्रवेश गरेलगत्तै उनलाई अग्रिम बधाई दिनेहरू उनी बसेको सिटमै पुगेका थिए ।

१२ बजेर ६ मिनेटमा संसद् बैठक सुरु भएको जनाउ घन्टी बज्यो । त्यसपछि सभामुखको भूमिका निर्वाह गरिरहेका राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले बैठक सुरु भएको घोषणा गरे । राष्ट्रगानको धुन समाप्त भएलगत्तै एमाले सभासद् केशव बडालले केही भन्ने इच्छा व्यक्त गर्दै समय मागे । विशेष समयमा उनले नेपाल कृषिप्रधान देश भए पनि दुग्ध व्यवसायमा ठूलो संकट आएको बताउँदै पशुपालक किसानको आन्दोलन सुरु भएको र त्यसलाई संसद्मार्फत सरकारले सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।

बडालले बोलेपछि सभामुख थापाले दैनिक कार्यसूची पेस गर्दै कांग्रेस संसदीय दलका नेता कोइराला प्रधानमन्त्रीको एक मात्र उम्मेदवार भएको घोषणा गरे ।

त्यसपछि थापाले कोइरालालाई प्रधानमन्त्रीको सूचना दिन र आफूलाई सहयोगका लागि आह्वान गर्न समय प्रदान गरे । आफूले प्रधानमन्त्रीको उम्मेदवारी दिएको सूचना दिने क्रममा कोइरालाले नेपालको अन्तरिम संविधान २०६३ भन्नुपर्नेमा ‘२ सय ६३’ भने । उनले यसो भनेपछि शीर्षनेताहरूले मुखामुख गरेका थिए भने सभासद् दीर्घामा हाँसो गुन्जिएको थियो ।
कोइरालाको सम्बोधनपछि प्रधानमन्त्रीका प्रस्तावक कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइरालाको प्रशंसा गरे ।

उनले प्रशंसा गरिरहँदा कोइराला भने मुसुमुसु हाँसिरहेका थिए । कोइरालाको प्रस्तावकको रूपमा प्रस्तुत भएका पौडेलले सूचनाको प्रस्ताव गर्दछु भन्नुपर्नेमा ‘प्रस्तावको समर्थन गर्दछु’ भने । उनले यसो भनिरहँदा सभासद्हरूले जिब्रो लरबरिएको भन्दै हाँसो गरे ।

उम्मेदवारको प्रस्ताव गरिरहँदा एमाओवादी अध्यक्ष दाहाल एकोहोरिएर बसेका थिए । यता, एमाओवादी नेता डा.बाबुराम भट्टराई र नेता कृष्णबहादुर महरा भने आफ्नै सुरमा गफ गरिरहेका थिए । निराश मुद्रामा रहेका एमाओवादी अध्यक्ष दाहालले पार्टीको धारणा संसद्मा राखेनन् । प्रधानमन्त्रीको उम्मेदवारको समर्थनमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसलाई समर्थन गर्नुको औचित्य प्रस्ट्याउन लामै भाषण गरे ।

संसद् भवनमा बाहिर–भित्र गर्ने क्रममा एमाले संसदीय दलका नेता ओलीले पटक–पटक कांग्रेस महामन्त्री कृष्ण सिटौलासँग कानेखुसी गरिरहेका देखिन्थे ।

प्रधानमन्त्रीको उम्मेदवारीप्रति पक्ष र विपक्षमा मतदान सम्पन्न भइसकेपछि नेकपा मालेका महासचिव सीपी मैनाली कोइराला भएको ठाउँमै पुगेर लामो कुरा गरेका थिए । त्यसपछि कोइरालालाई शुभकामना दिनेको लहर नै लागेको थियो । मतदानको परिणाम सार्वजनिक भएपछि कोइराला हँसिलो मुद्रामा थिए ।

त्यसअघि, प्रधानमन्त्रीको पक्ष र विपक्षमा मतदान गर्न कुन राजनीतिक दलका सभासद् कता जान्छन् भन्नेमा सबैमा कौतुहलता उत्पन्न भएको देखिन्थ्यो । शनिबारसम्म कोइरालालाई समर्थन गर्ने बताइरहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद्हरू विपक्षमा मतदान गर्न गएपछि सबै आश्चर्यमा परेका थिए ।

तराई मधेस सद्भावना पार्टीकी सभासद् अमेरिका कुमारीले प्रधानमन्त्री उम्मेदवारको पक्ष र विपक्ष दुवैतिर हस्ताक्षर गरेकी थिइन् । सुरुमा उनले पक्षमा मत दिइन् भने पछि विपक्षमा मत दिएकी थिइन् । सभामुखले मत सच्याउन तीन मिनेटको समय दिएपछि उनी आफूले गरेको गल्ती सच्याउन मञ्चमै पुगेकी थिइन् । नेपाली भाषा नबुझ्ने कुमारीले मत सच्याउन भने पनि कर्मचारीले नबुझेपछि सहयोगी बोलाएका थिए । उनले पक्षको मत बदर गरी विपक्षको मत कायम गरेकी थिइन् ।
प्रधानमन्त्रीको चयन गर्ने जानकारी पाएपछि ओखलढुंगाका दुवै खुट्टा गुमाएर शारीरिक अपांगता भएका डिल्लीबहादुर रोका क्षत्री आफ्नी तीन वर्षीया छोरीका साथ कोइरालालाई शुभकामना दिन संसद् भवन बाहिर पुगेका थिए । हातमा फूलको गुच्छा लिएका उनी भुइँमा घस्रँदै नवनिर्वाचित कोइरालाको प्रतीक्षामा बाहिर बसेका थिए । तर, प्रधानमन्त्री कोइरालासँग प्रतिक्रिया लिन बसेका सञ्चारकर्मीको भीडले उनलाई थिचेको थियो । पछि उनलाई केही सञ्चारकर्मीले सुरक्षित स्थानमा राखेका थिए ।
भीडकै कारण उनले फूलको गुच्छा कोइरालालाई दिन पाएनन् । आफूले फूलको गुच्छा दिन नपाए पनि कोइरालालाई एक वर्षभित्रै अपांगता भएकाहरूको सम्मान गर्दै संविधान निर्माणमा लाग्न शुभकामना दिइरहेका थिए । प्रत्यक्ष भेटेर शुभकामना दिन नसके पनि तीनवर्षीया छोरी रोजिमा रोक्काको साथमा उनी भन्दै थिए, ‘एक वर्षभित्र संविधान बनाउनोस् भनेर शुभकामना दिन आएको थिएँ तर त्यो त सम्भव नभए पनि संविधान बन्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ