एमालेको असहयोग

२८ माघ २०७०, मंगलवार ०६:३५ मा प्रकाशित

काठमाडौं, २८ माघ । व्यवस्थापिका संसद्बाट दुई तिहाइभन्दा बढी मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका कांग्रेस संसदीय दलका नेता सुशील कोइराला गृह मन्त्रालय कसले पाउने भन्ने विवादका कारण सोमबार शपथ ग्रहण गर्नबाट वञ्चित भए ।

सत्ता साझेदार दल एमालेसँगको सैद्धान्तिक सहमतिपछि उसैको समर्थनमा दुई तिहाइ मत पाएर प्रधानमन्त्री निर्वाचित कोइरालालाई सोमबार साँझै राष्ट्रपति कार्यालयले पद तथा गोपनीयताको शपथ गराउने योजना बनाएको थियो । राष्ट्रपति डा. रामवरण यादवले पनि नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई सोमबारै शपथ गराउने इच्छा व्यक्त गरेको शीतलनिवास स्रोतले बतायो । तर, एमालेसँग भएको भद्र सहमतिविपरीत गृह मन्त्रालय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीकै दलले पाउनुपर्छ भनेर कांग्रेसकै पदाधिकारीले चर्को दबाब दिएपछि कोइरालाको तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने योजना विफल भएको कांग्रेस उच्च स्रोतले बतायो । राष्ट्रपति यादवले मंगलबार दिउँसो २ बजे शीतलनिवासमा नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।

कोइरालालाई सोमबार नै शपथको व्यवस्था गर्न ढिलाइ हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थापिका संसद्को बैठकमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने र उनलाई बधाई तथा शुभकामना दिन दलका नेताहरूले आग्रह गरे पनि सभामुख सूर्यबहादुर थापाले २ फागुनमा बस्ने संसद् बैठकमा दिने गरी समय दिएनन् । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा भएलगत्तै कांग्रेस र एमालेबाट एक/एक सदस्य समावेश गरी मन्त्रिमण्डल गठन गर्ने योजना कोइरालाको थियो । एमालेले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा पार्टीको नेतृत्व गर्दै सरकारमा पठाउने निर्णय गरेको थियो । तर, कोइरालाले पार्टी पदाधिकारीको दबाबबमोजिम गृहबाहेकका मन्त्रालय बाँडफाँटको विषयमा सहमति खोज्न एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीसमक्ष आग्रह गरेपछि दुईदलीय वार्ता असफल भएको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई गृह मन्त्रालय कुनै पनि हालतमा कांग्रेसको हातबाट एमालेको पोल्टामा पर्न दिनुहुन्न भन्ने दबाब उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहलगायतले संसद् भवनमै दिएको एक नेताले बताए । पौडेल, सिंह र केन्द्रीय सदस्य डा. रामशरण महतले समेत गृह मन्त्रालय नछोड्न कोइरालालाई दबाब दिएपछि उनी एमालेसँगको सहमतिबाट पछि हट्न बाध्य भएको स्रोतले बतायो ।

कोइराला गृह कांग्रेसले नै राख्ने र एमाले नेताहरूले आइतबारको सहमतिबमोजिम गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि वार्ता सहमतिविनै स्थगित भएको सहभागी एक नेताले बताए । स्रोतका अनुसार प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै कांग्रेस उपसभापति पौडेलले अब सहमति होइन, गृह हामी नै राख्ने भन्दै को हो एमालेलाई गृह मन्त्रालय दिने भन्दै वार्ताटोलीका सदस्यमाथि खनिएका थिए ।

कोइरालाले महामन्त्री सिंहलाई उपप्रधानमन्त्रीसहित रक्षा वा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने योजना बनाएका थिए । तर, सिंहले आफूलाई गृह नदिए कोइरालालाई सहयोग नगर्नेसम्मको चेतावनी दिएपछि उनी एमालेसँगको सहमतिबाट पछि हट्न बाध्य भएको स्रोतले बतायो । पौडेल, सिंह र डा. महतले आइतबार एमालेसँग भएको सहमतिप्रति कोइरालासँग संसद् भवनमै असहमति र असन्तुष्टिसमेत जनाएका थिए ।

सोही कारण प्रधानमन्त्री निर्वाचित भएको डेढ घन्टासम्म कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरू संसद् भवनभित्रै छलफलमा व्यस्त हुन पुगेका थिए । मंगलबार बिहानसम्म एमालेसँग सहमति गरी तीन सदस्यीयसम्म भए पनि नयाँ मन्त्रिमण्डल गठन गर्ने योजनामा प्रधानमन्त्री कोइराला छन् । तर, उनलाई एमालेसँगको सहमति लागू गर्ने कि नगर्ने भन्नेमा पदाधिकारी नै दुई धारमा उभिएका छन् ।

महामन्त्री कृष्णप्रसाद सिटौलासहितका एकपक्षीय नेताहरू एमालेसँगको सहमतिबाट पछि हट्न नहुने अडानमा रहेका छन् भने पौडेल सहमति नभए नहोस् प्रधानमन्त्री भइहालियो भन्दै कोइरालालाई गृह कांग्रेसकै भागमा हुनुपर्ने दबाब दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने