पदका लागि एमालेको घुर्की सुरु

२८ माघ २०७०, मंगलवार ०६:३१ मा प्रकाशित

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएकै दिनबाट कांग्रेस–एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको छ ।

सातबुँदे सहमतिसँगै उपप्रधानमन्त्री र गृहमन्त्रीसहित बराबरी मन्त्रालय लिने गरी आइतबार भएको समझदारी कांग्रेसले उल्लंघन गरेको भन्दै सोमबार दोस्रो दल एमालेले सरकारमा सहभागी नहुने जनाउ दिएपछि सत्ता गठबन्धन संकटमा परेको हो । प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहने गरी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेस पछि हटेपछि आफैं समर्थक रही प्रधानमन्त्री निर्वाचित भएका कोइराला नेतृत्वको सरकारमा सहभागी नहुने अवस्था सिर्जना भएको एमालेले जनाएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीलाई फोन गरेर पार्टीभित्रको समस्या देखाएर गृह मन्त्रालय दिन नसकिने बताएका थिए । एमाले स्रोतका अनुसार कोइरालाले दुवै नेतासँग वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहका कारण गृह मन्त्रालय दिन नसकिने बताएका थिए । आइतबार एमालेलाई गृहसहित आधा मन्त्रालय दिने सहमति गरेका कोइरालाले प्रधानमन्त्री निर्वाचित भएपछि दिन नसकिने बताएका थिए । जवाफमा एमालेका दुवै नेताले सरकारमा सहभागी नहुने निर्णय सुनाएका छन् ।

एमाले अध्यक्ष खनालले नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई सहमतिअनुसार गृह मन्त्रालय पार्टीलाई नदिए सरकारबाहिरै रहेर समर्थन जनाउने स्पष्ट जवाफ दिएका छन् । ‘गृह मन्त्रालय नदिए यो गठबन्धन संकटग्रस्त हुन्छ, सबै सहमति समाप्त हुन्छ, अब यो गठनबन्धनलाई बचाएर लैजाने/नलैजाने ? संविधान जारी गर्ने कि फेरि असफल बनाउने भन्ने निर्णय तपाईंको हातमा छ,’ प्रधानमन्त्री कोइरालालाई एमाले अध्यक्ष खनालले दिएको भनाइ उद्धृत गर्दै स्रोतले  भन्यो ।

‘त्यसैले संविधान निर्माण गर्ने र गठबन्धन रोज्ने कि त्यसको विपक्षमा जाने हो, तपाईं नै निर्णय गर्नास्, सहमतिअनुसारको गृह मन्त्रालयविना एमाले तपाईंको नेतृत्वको सरकारमा सहभागी हुँदैन, यो हाम्रो अन्तिम निर्णय हो ।’ एमाले संसदीय दलका नेता ओलीले पनि कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सहमति तोड्दै आफ्नो जग बिर्सने काम नगर्न सुझाउँदै आइतबारको सहमति लागू नभए सरकारमा सहभागी नहुने निर्णय सुनाएको स्रोतले बतायो । एमालेका दुवै नेतालाई कोइरालाले गृह दिन नसकिने भन्दै दुई जनालाई विनाविभागीय मन्त्रीका रूपमा पठाउन आग्रह गरेका थिए ।

कांग्रेससँग मन्त्रालय भागबन्डामा समेत सैद्धान्तिक सहमति भइसकेको भन्दै आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको स्थायी समिति बैठकले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । गौतमले दोस्रो मर्यादामा रहने गरी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मा लिने निर्णय भए पनि सोमबार कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहित वार्ताटोली सदस्यबाट गृह मन्त्रालय दिन नसकिने जवाफ आएको एमाले नेताहरूको भनाइ छ । बैठकमा कांग्रेस र एमालेबीच १३/१३ मन्त्रालय लिने सहमतिसमेत भइसकेको जानकारी गराइएको थियो ।

कांग्रेसको पछिल्लो भनाइबारे एमाले शीर्ष नेताहरूबीच संविधानसभा भवन नयाँ बानेश्वरमै छलफलसमेत भएको थियो । छलफलमा अध्यक्ष खनाल, संसदीय दलका नेता ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूबीच कांग्रेसले सहमति कार्यान्वयन नगरे सरकारलाई बाहिरै रहेर समर्थन गर्ने सहमति भएको छ ।

‘ठिकै छ, तपाईं निर्वाचित भइहाल्नुभयो, अब सरकार बनाउनूस्, कांग्रेसबाटै राखेर मन्त्रिमण्डल विस्तार गर्नूस्, हामी बाहिरै बसेर समर्थन गर्छौं,’ पार्टीमा भएको सहमतिपछि संसदीय दलका नेता ओलीले प्रधानमन्त्री कोइरालासमक्ष राखेको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले  भन्यो ।

आइतबारको स्थायी समिति बैठकको छलफलअनुसार सहमतिको प्याकेजलाई कांग्रेसले स्वीकार गरेपछि मात्रै एमालेले सरकारमा सहभागी हुने निर्णय गरेको सचिव विष्णु पौडेलले बताए । स्रोतका अनुसार सहमतिका लागि तयार पारिएको प्याकेज मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपतिलाई संसद्बाट अनुमोदन गर्ने विषयलाई कांग्रेस असहमत रहेकाले एमालेले छुट्टै सो बुँदा उल्लेख गर्ने र गृह र स्थानीय विकास मन्त्रालय लिने सर्तमा मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको थियो । ती दुवैमा सहमत भएकैले कांग्रेसलाई समर्थन गर्ने निर्णय भए पनि गृह मन्त्रालय दिने सहमतिबाट पछि हटेको एमाले नेताहरूको भनाइ छ । ‘हामीले निर्णय गर्नुपहिले नै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहित वार्ताटोलीसँग कुरा गरेपछि दुवैलाई स्वीकार गरिएको थियो तर सोमबार सहमतिबाट पछि हटेकाले हामी कडा निर्णय लिनुपर्ने स्थितिमा पुगेका हौं,’ एमालेका एक नेताले  भने, ‘पहिलो दिनदेखि नै कांग्रेसले धोका दिन खोजेकाले कतैबाट सहमति भाँड्न षड्यन्त्र भइरहेको छ कि भन्ने हामीलाई गम्भीर आशंका छ ।’

एमाले वार्ताटोली सदस्य उपाध्यक्ष गौतम र सचिव विष्णु पौडेलले सोमबार कांग्र्रेस वार्ताटोलीसँग छुट्टै छलफल गरेका थिए । १ सय ७५ सिटसहित कांग्रेसकै हाराहारीमा दोस्रो हैसियतमा रहेको एमालेको १ सय ७३ मत प्राप्त गरेर कोइराला सोमबार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

‘आइतबारको वार्तामा गृह मन्त्रालय एमालेलाई दिने सहमति भइसकेको छ, त्यसैअनुसार उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधान र गृहमन्त्रीका रूपमा नेतृत्व गरी पठाउने निर्णय भएको हो, यदि आइतबारको सहमतिबाट पछि हटेको वा हट्न खोजेको हो भने नेकपा एमाले सरकारमा सहभागी हुन्न,’ एमाले सचिव विष्णु पौडेलले  भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज