बहुमूल्य उपहार -ललिता दोषी

९ बैशाख २०६९, शनिबार १८:५४ मा प्रकाशित

कुरा बीसौँ वर्षअगाडिको हो । चैत–वैशाखको महिना, टन्टलापुर घाम लागिरहेको थियो । बाटोमा हिँड्नेहरू प्रायः छाता ओढेरै हिँडेका थिए । त्यो भीडमा ईशा पनि थिइन् । कसैले ‘नानी !’ भनेको सुनेर आफ्नै सुरमा हिँडेकी ईशा आवाज आएतिर फर्किन् ।
वृद्ध महिलाले अलि डराएको स्वरमा भनिन्— ‘घाम खप्नै नसकेर आलसतालस परेँ, छाता देखेर बोलाएकी हुँ, भैगो जाऊ ।’
ईशाले पछाडि सरेर वृद्धालाई छाता ओढाउँदै भनिन्— ‘हो आमा ! छाताभित्र त म यति धेरै बेचैन छु हजुरलाई झन् कति गाह्रो भयो होला ! दम पनि बढेजस्तो छ । एक्कैछिन सडकको छेउमा बसौँ, दम केही घटेपछि कहाँ जाने हो, म पु-याइदिन्छु नि !’
वृद्धा चुपचाप स्वाँस्वाँ गर्दै बसिन् । ईशाले छाता वृद्धातिर बढाउँदै भनिन्— ‘आमा ! हजुरले छाता समाउनुहोस्, म कपीले हम्किदिन्छु । बूढीपाकी मान्छे, यो घाममा, फेरि दमको रोगी पनि हुनुहुँदो रहेछ ।’ भन्दै वृद्धालाई हम्किन थालिन् ।
वृद्धा धेरैबेर मौन रहिन् । आँखाबाट बरबरी आँसु चुहाउँदै भनिन्— ‘नानू ! भगवान् सायद तिमीजस्तै होलान् । कसैले देख्न नपाएको भगवान्ले कहिल्यै यी आँखाका आँसु पुछेनन् । आज तिमीलाई भेट्दा भगवान् पनि मान्छेको रूपमा हिँड्दा रहेछन् जस्तो लाग्यो । पन्ध्रबीस वर्षको अन्तरालमा आजै हो मैले दोहोरो कुरा गर्न पाएको । गाउँ छोडेर सहरमा आईकन आफ्नोपन भएको मान्छे देख्नै पाएकी थिइनँ । यी मान्छेहरू मसँग बोल्न त परै जाओस् मेरो छाँयासम्म देखे पनि पन्छिँदै हिँड्छन् । अरू ठाउँको त कुरै छोड, स्वयं भगवान्को मन्दिरमा पनि गरिब र धनीलाई हेर्ने आँखा फरक हुन्छन् । तिम्रो यति शान्त र माया लाग्दो मुहार देख्ता मैले साक्षात् भगवान् नै पो भेटेँ कि ! लागिरहेछ । साँच्ची तिमी कताबाट आयौ, कहाँ जाँदै थियौ, मैले पो अल्मल्याएँ । जाऊ, म काम नभएकी मान्छे बिस्तारै आउँला ।’
ईशाले वृद्धाको आँखाबाट आफ्नो आँखा अर्कातिर हटाउँदै भनिन्— ‘आमा ! म खासै ठूलो कामले हिँडेकी होइनँ । हजुर अझै एकछिन थकाइ मार्नास् अनि सँगै जाउँला । हजुर पुग्नुपर्ने चाहिँ कहाँ हो नि ?’
‘कहाँ हुन्थ्यो र बा ! त्यही लगनखेलको पाटीमा हो । त्यहाँ पनि सुखले निदाउन दिँदैनन् । लफङ्गाहरू पहिलेपहिले जिउ लुछ्न आउँथे तर हिजोआज भएको दुईचार पैसा लुट्न आउँछन् । सत्तरी वर्ष भइसक्दा पनि अधमहरूसँग अस्तित्वका लागि भीख माग्नुपर्छ । साह्रै कष्ट छ बा ! गरिबदुःखी भएर बाँच्न ।’ वृद्धाले अन्तर्हृदयको व्यथा पोखिन् ।
‘पन्ध्रबीस वर्षअगाडि कहाँ हुनुहुन्थ्यो ?’ ईशाले जिज्ञासा राखिन् ।
‘काठमाडौँमा आउनुअगाडि आफ्नै गाउँ तेह्रथुममा थिएँ । छोराबुहारी भनाउँदाहरू मरेपछि काठमान्डू झरेँ । साठी वर्षसम्म त अरूको जुठा भाँडा माझेर पेट पालेँ । अब तैँले काम गर्न सक्तिनस् भनेर घरबाट निकालिदिएपछि कतै बस्ने ठाउँ नपाएर पाटीमा बस्न आएकी हुँ । पाटीमै आएकै दिन अर्काको भाँडा माझेर जोगाएको दुईचार पैसा पनि राति नै लुटेर लगे पापीहरूले । दुईचार दिन त भोकै अलपत्र परेँ । एक दिन तेह्रथुमकै गोतामे दाइसँग भेट भयो । मलाई यस्तो अवस्था देखेर उनले सय रुपियाँ दिएर गएका थिए । माइतीमा गएर दाजुभाउजूलाई मेरो पीडा सुनाइदिएछन् । त्यसपछि दाजुभाउजूले केही पैसा पठाउन थाल्नुभयो । त्यही पैसाले नै दिन टार्दै आएकी छु । ठाउँ फेरिए पनि कर्म फेरिएन । व्यग्रवेदनाले छाती चिरिएकै छ बा ! नरोऊँ भन्छु, जति झरे पनि आँसु निख्रिँदै निख्रिँदैन ।’
‘हजुरका छोराबुहारी मरे पनि नाति–नातिना त थिए होलान् नि ! कहाँ छन् त अचेल उनीहरू ?’
ईशाको प्रश्नले यतिखेर भने वृद्धा मुसुक्क हाँसिन् र भनिन्— ‘नानी ! उनीहरू मरेका त छैनन्, तर मेरा लागि भने मरेजस्तै भएका छन् । त्यसैले पो मरिसके भनेकी हुँ त, छोराबुहारी आफूले गरेको भुल कबुल्दै पश्चात्तापको आँसु झार्न यहाँ आएका थिए रे, मलाई निकै खोजी गर्दै थिए रे पछि यतै कतै घर बनाएर बसेका छन् रे, भन्नेसम्म सुनेकी हुँ । अब त मरी भनेर खोज्न पनि छाडे होलान् । म त खोजी पनि गर्दिनँ, भेटेँ भने पनि तिनीहरूको मुख हेर्दिनँ । जाऊ नानी, अब तिमीलाई धेरै बेर अल्मल्याएँ मैले । तिम्रो मन बिथोलेर आफू हलुङ्गो हुन खोजिछु कस्ती म पनि ।’
ईशाले वृद्धाको हात समाउँदै अति मायालु पाराले भनिन्— ‘आमा ! आफूभित्रको प्रचण्ड राप ओकल्नुस् । साँच्चै मलाई केही हतार छैन । मैले राम्ररी बुझेँ । हजुरले भीषण आँधीबेहरीको सामना गर्नुभएको छ । हजुरको जीवनमा पक्कै पनि यस्ता वेगवान् छालहरू उर्लिएका छन् । किन उर्लिए ती छालहरू ? सुनाउनुहोस् !’
वृद्धाले ओठमा मुस्कान ल्याइन् र धमिलो आँखाहरूले ईशाको अनुहारतिर हेर्दै भनिन्— ‘कति धीर छ्यौ तिमी ! वषौँदेखि चिनेझैँ यति घनिष्ट भएकी । तिम्रो मधुर वचन काट्नै नसक्ने भएँ ।’

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार