समाजबादी नेता कोइराला मुलुकको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित

२७ माघ २०७०, सोमबार १३:४७ मा प्रकाशित

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता सुशील कोइराला मुलुकको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा आज सोमबार बसेको ब्यवस्थापिका संसदमा भएको बैठकको निर्वाचनले कोइरालालाई मुलुकको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । समाजबादी नेता कोइराला संविधानसभाको दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको ३७ औं प्रधानमन्त्रीमा दुई तिहाई मतले  निर्वाचित भएका हुन् । कोइरालाको पक्षमा ४०५  र बिपक्षमा १४८ मत परेको थियो ।

संसद्को वैठक सुरु भए लगत्तै प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशिल कोइरालाले प्रधानमन्त्रिमा आफ्नो उम्मेदबारी र प्राथमिकता प्रष्ट्याएका थिए भने प्रधानमन्त्री पदका लागि सुशील कोइरालाको उम्मेदवारीको प्रस्तावक कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई राजनीतिमा भद्र तथा सन्त, निष्ठावान, थोरै बोल्ने तर काम गर्ने नेताका रुपमा प्रस्तुत गरे ।

पौडेलले भने, ‘एउटा अत्यन्त इमानदार र निष्ठावान व्यक्तिलाई प्रस्ताव गर्दैछु । राष्ट्रपतिले दिएको समय कटेपनि फेरि पनि सहमतिको सरकार निर्विरोध प्रस्ताव प्रस्तुत भएको छ। कांग्रेसको प्रस्तावमा एमाले लगायतका सबै दलको भूमिका महत्वपूर्ण छ ।’

प्रस्तावको समर्थनमा एमाले संसदीय दलका नेता केपी ओलीले भने, ‘सुशील कोइरालाले संविधान निर्माण, सरकार गठन र संचालनमा उपयुक्त ढंगले काम गर्नु हुनेछ भन्ने विश्वास सहित एमाले सुशील कोइरालालाई प्रधानमन्त्रीमा पूर्ण रुपमा समर्थन गर्दछ ।’ सुशील कोइरालालाई हाम्रो साथ, समर्थन र सहयोग रहनेछ ।’

प्रस्तावको बिपक्षमा बोल्दै राप्रपा नेपाल संसदीय दलका नेता कमल थापाले भने, ‘सुशील कोइरालाई हेर्दा कसलाई भोट हालौं लाग्दैन । तर, भोट हालौं हालौं लाग्दा पनि सैद्धान्तिक र संवैधानिक कारणले विपक्षमा मतदान गर्ने निर्णयमा पुग्यौं ।’

कोइरालालाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने पक्षमा संबिधानसभाको दोस्रो ठुलो दल एमाले सहित केहि मधेशी दल र साना दलको दुई तिहाई बहुमत मत जुटेको थियो ।

लगत्तै संसदको अध्यक्षता गरिरहेका सुर्यबहादुर थापाले कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरे पछि भएको मतदानमा कोइराला ३७ औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषण गरिएको थियो । आइतबार कांग्रेसका उपसभापति समेत रहेका सभासद रामचन्द्र पौडेलको प्रस्तावमा एमालेका संसदीय दलका नेता केपी ओलीले समर्थन गरे पछि कोइराला प्रधानमन्त्रीका एक मात्र उम्मेदवार भएका थिए । कोइरालालाई एमाले, फोरम लोकतान्त्रिकलगायतका अन्य साना दलहरुले समर्थन गरेका छन् । यद्यपि, तेस्रो ठूलो दल एमाओवादीको ७९, राप्रपा नेपालको २४ मत र अन्य केही साना दलको मत सुशील कोइरालाको विपक्षमा परेको थियो । फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले पनि अन्तिम समयमा कोइरालाको विपक्षमा मतदान गरेका थिए । अधिकांश मधेसवादी दलहरूले सुशील कोइरालाको विपक्षममा मतदान गरेका थिए ।

नेपाली कांग्रेसका सभापति माननीय सुशील कोइरालाको व्यक्तित्व


जन्म: वि.सं १९९६ साउन २८ गते
जन्मस्थान : विराटनगर मोरङ्
स्थायी ठेगाना : नेपालगञ्ज–१३, बाके
वैवाहिक स्थिति: अबिवाहित
पिता : बोधप्रसाद कोइराला
माता: कुमुदिनीदेवी कोइराला
दाजुभाइ : ६ जना (प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक कोइराला,विजय कोइराला)
दिदीबहिनी : ६ जना (दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )

राजनीतिमा संलग्नता :

– २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न । ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
– नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
– २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
– २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
– २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
– २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
– २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट । भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
– बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
– राजा महेन्द्रको कोशी अञ्चल सवारी हुदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
– २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वार्सत ।
– २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नया आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
– २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
– २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
– २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
– २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
– २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
– २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
– निरड्कुश राजतन्त्रको विरुद्ध २०६२/६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
– प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।

पार्टीमा जिम्मेवारी


– पार्टी सदस्य: २०१२ साल
– सम्पादक : तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
– पार्टी केन्द्रीय सदस्य: २०४५ साल मंसीर १३ देखि
– विदेश विभाग प्रमुख: २०४५।४६ (सन १९९० )मा
– पार्टी महामन्त्री : नवौं महाधिवेशन २०५३,पोखरापछि
– पार्टी उपसभापति: २०५५ असोज २० गते
– कर्यबाहक सभापति: एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
– सभापति : बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।

विधायिकी यात्रा

– संसदीय दलको नेता निर्वाचित २०७० माघ १२( प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
– दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित : बाके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
– प्राप्त मत: बाके १०,७५३ चितवन २०,७६०
– निकटतम प्रतिद्धन्द्धि: बाके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
– पहिलो संविधान सभा: २०६४ मा पराजित( मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६: विजयी ( निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
– संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा : प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचन: बाकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी )
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन :बाकेबाट विजयी( निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
– संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता :
– संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
– संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
– संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाण्डौं
विदेश भ्रमण : भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक

पार्टीको भ्रमण टोलीको नेतृत्व:

सभा सम्मेलन र सेमिनारमा सहभागिता :
– सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित बेलायतको लेबर पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
– सन १९९६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
– सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
– सन १९९९ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन(कन्भेन्सन) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
– सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित आइक्याप(क्ष्ऋब्एए) को प्रथम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– सन २००२ मा थाइलैण्डको राजधानी बैककमा आयोजित आइक्याप(क्ष्ऋब्एए) को दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– सन २००४ मा चीनको राजधानी बेइजिड.मा आयो जित आइक्याप(क्ष्ऋब्एए) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– २०६४ मा श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित सार्क सम्मेलनमा सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्रि्य प्रतिनिधि मण्डलको सदस्य ।

सपना : शान्त र समृद्ध नेपाल

सपना पूरा गर्ने माध्यम: जलस्रोत, शैक्षिक ,जनशक्ति, औद्योगिक र पर्यटनको विकासका साथै कृषि र जडिबुटीको व्यवसायिकीकरण ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो