राष्ट्रपतिको निर्वाचन हुनैपर्ने बटमलाइन : एमाले

२४ माघ २०७०, शुक्रबार ०६:३५ मा प्रकाशित

काठमाडौं, २४ माघ । संविधानसभाको दोस्रो ठूलो दल एमालेले कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनैपर्ने बटमलाइन सुनाएको छ । लोकतान्त्रिक पद्धति र मूल्य–न्यतामा कुनै सम्झौता हुन नसक्ने भन्दै एमालेले कोइराला नेतृत्वको सरकारमा राष्ट्रपतिको निर्वाचन गर्न कांग्रेस तयार हुनैपर्ने बटमलाइनसहित पाँचओटा बुँदामा प्याकेज सहमति हुनुपर्ने अडान राखेको हो ।

सभापति कोइरालाको सन्देश लिएर बिहीबार बिहान बालकोटस्थित निवास पुगेका कांग्रेस महामन्त्री नेपाललाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सो बटमलाइन सुनाएका हुन् ।

सो क्रममा ओलीले एमालेको केन्द्रीय कमिटीबाटै निर्णय भइसकेको र लोकतन्त्रमा अगुवाइ गर्ने दल भएकाले राष्ट्रपति निर्वाचनको मुद्दाबाट पछि नहट्ने प्रस्ट सन्देश पठाएका छन् ।

सरकार गठनको गृहकार्य अघि बढाइरहेको कांग्रेसले राष्ट्रपति निर्वाचनसँग सरकार साट्न नसकिने भन्दै अन्य दलसँग सरकार गठन प्रयास गरेको संकेत पाएपछि एमाले सो अडानमा उभिएको हो । कांग्रेसको दाबी लोकतान्त्रिक मूल्य र मान्यताकै खिलाफमा भएको भन्दै ओलीले सरकार गठनअगावै आफ्नो गलत मान्यता त्याग्नसमेत ओलीले सुझाएका छन् ।

ओलीले आफ्नो पार्टीले उठाएको लोकतान्त्रिक पद्धतिको झन्डा झुक्ने गरी सहमति हुनै नसक्ने भन्दै राष्ट्रपति निर्वाचन हुनैपर्ने बटमलाइनबाट पछि हटेर सरकारमा सहभागी नहुने अडान राखेको उनीनिकट स्रोतले बतायो ।
नयाँ सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल गर्न बिहीबार बिहान ११ बजे एमाले नेता ओलीको बाल्कोटस्थित निवास पुगेका सिटौलालाई उनले मन्त्रालय भागबन्डाभन्दा पनि कांग्रेस राष्ट्रपति र उपराष्ट्रपति फेर्न तयार हुनुपर्ने पार्टीको अडान राखेका थिए । ‘कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ सरकारमा गृह र अर्थ मन्त्रालय लिएर एमालेलाई सहभागी हुन प्रस्ताव गर्नु भो,’ ओलीनिकट स्रोतले भन्यो, ‘उहाँ (ओली) ले मन्त्रालयको भागबन्डाभन्दा पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न कांग्रेस तयार भए सरकार गठन प्रक्रिया तुरुन्त अघि बढ्ने बताउनुभयो ।’

कांग्रेस महामन्त्री सिटौलाले गृह र अर्थ मन्त्रालय लिएर एमाले सरकारमा गए एक वर्षपछि सरकारको नेतृत्व एमालेले नै गर्ने ओलीसमक्ष प्रस्ताव गरेको स्रोतले बतायो । ‘उहाँले कांग्रेसले एक वर्षभित्रै नयाँ संविधान जारी गर्ने घोषणा गरेकाले एमालेसमेतको सहभागितामा बनेको सरकारले सो कार्य पूरा गरेपछि एमालेले नै त्यसपछिको सरकारको नेतृत्व गरे हुन्छ र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गराउँदा राम्रो हुन्छ भन्नुभयो,’ स्रोतले भन्यो । तर, नेता ओलीले महामन्त्री सिटौलाले राखेको सो प्रस्तावको ठाडै अस्वीकार गरेका थिए ।

कांग्रेसले नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति यथावतै रहनुपर्ने अडान राख्दै आएको छ । तर, एमालेले भने नयाँ जनमतअनुसार पुरानो निर्वाचनबाट आएका राष्ट्रपति र उपराष्ट्रपति अनुमोदित हुनुपर्ने वा नयाँ चुनाव हुनुपर्ने अडान राख्दै आएको छ । सिटौलासँगको भेटमा ओलीले एमालेको केन्द्रीय कमिटीबाटै निर्णय भइसकेको र लोकतन्त्रमा अगुवाइ गर्ने दल भएकाले राष्ट्रपति निर्वाचनको मुद्दाबाट पछि नहटने प्रस्ट सन्देश पठाएका छन् ।

सरकार गठनको समयसीमा नजिकिँदासमेत दुई दलबीच राष्ट्रपतिको मुद्दामा कुरा नमिलेपछि कांग्रेस नेतृत्वमा सरकार गठन प्रयासले परिपक्वता पाउन सकेको छैन । व्यवस्थापिका–संसद्ले २७ माघमा नयाँ प्रधानमन्त्रीको चुनावका लागि कार्यतालिका सार्वजनिक गरिसके पनि कांग्रेस–एमालेबीच शीर्ष तहमा सहमति हुन सकेको छैन । राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय सरकार निर्माणका लागि आह्वान गरेकाले नयाँ प्रधानमन्त्रीका लागि २५ माघमा उम्मेदवारी दर्ता गरिसक्नुपर्ने संसद्ले कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसले संसदीय दलका नेतासमेत रहेका सभापति कोइराला नेतृत्वको सरकारमा सहभागी हुन एमालेको वार्ता टोलीसँग बुधबारदेखि छलफल सुरु गरेको छ । बुधबारको वार्तामा पनि ‘शक्ति बाँडफाँटकै विषयमा कुरा नमिलेपछि सहमति हुन सकेको थिएन ।

कांग्रेस वार्ता टोलीका सदस्यद्वय डा. रामशरण महत र दीपकुमार उपाध्यायलाई कुनै अधिकार नै नदिई वार्ता गर्न पठाएको भन्दै एमालेले तीव्र असन्तुष्टि जनाएको छ । एमाले वार्ता टोलीमा उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेल दुवै पार्टी पदाधिकारी हुन् । तर, कांग्रेस वार्ता टोली सदस्यद्वय डा. महत र उपाध्याय दुवै केन्द्रीय सदस्य मात्र हुन् ।

कांग्रेसको २१ माघमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा एमालेलगायतका दलसँग वार्ता गर्न सभापति कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए । तर, देउवाले वार्ता टोलीमा बस्न अस्वीकार गरेपछि सभापति तथा दलका नेता कोइरालालाई नै त्यसको अधिकार दिइएको थियो । सो दिनको केन्द्रीय समिति बैठकमा गृह जिल्ला झापामा रहेकाले महामन्त्री सिटौला सहभागी थिएनन् ।

संसदीय दलको निर्वाचनमा कुनै सहमति नै नगरी उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने सहमति कोइरालाले गरेपछि महामन्त्री सिटौला असन्तुष्ट बनेका छन् । कोइरालाले वार्ता टोलीमा उपसभापति पौडेल र महामन्त्री प्रकाशमान सिंहलाई समेत राखेका छैनन् । उपसभापति पौडेलसँग एमाले नेतृत्व चिढिएकाले उनलाई वार्ता टोलीमा नराखिएको कोइरालानिकट स्रोतले भन्यो । अघिल्लो संसद्मा आफू १७ पटकसम्म प्रधानमन्त्री निर्वाचनमा हारेपछि पौडेल एमाले नेतृत्वविरुद्ध खनिएका कारण कोइरालाले उनलाई वार्ता टोलीमा नराखेका हुन् ।

नयाँ सरकार गठनका लागि उच्चस्तरीय तहमा समेत नयाँ सहमति र सम्झौता गर्नुपर्ने भए पनि वार्ता टोलीमा एकजना पनि पार्टी पदाधिकारी नराखी कांग्रेसले वार्ता गर्न पठाएपछि एमाले आफ्नो ‘ह्युमलेट’ गर्न खोजेको भन्दै रुष्ट बनेको छ । डा. महत र उपाध्याय सम्मिलित वार्ता टोलीसँग कुनै छलफल नै नहुने र त्यसबाट नयाँ सहमति हुन नसक्ने भएपछि बिहीबार कांग्रेस–एमाले शीर्ष नेतृत्वमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

बुधबार नै एक सार्वजनिक कार्यक्रममै एमाले सचिव विष्णु पौडेलले कांग्रेस वार्ता टोलीका सदस्यहरू अधिकारविहीन भएको र हरेक कुरा फोनमा सोध्ने गरेको भन्दै आपत्ति जनाएका थिए । एमाले सचिव पौडेलका अनुसार कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तय, सरकार सञ्चालन कार्यावधि निर्माण, एक वर्षभित्रै संविधान निर्माणको ग्यारेन्टी तथा सरकारमा सहभागी हुने दल र हैसियतको टुंगो लाग्नुपर्ने विषय राखिएको छ ।

यसैबीच, बिहीबार नै एमाले नेताहरूले एकीकृत नेकपा माओवादीसँग समेत छलफल गरेका छन् । कांग्रेससँग राष्ट्रपति निर्वाचनको मुद्दामा सहमति हुन नसकेपछि एमाले नेताहरूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतासँग वार्ता गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली