‘झोला’ माघ २४ देखि सार्वजनिक हुने

२३ माघ २०७०, बिहीबार ०५:३७ मा प्रकाशित

काठमाडौँ, माघ २२। नेपाली समाजमा विगतमा प्रचलनमा रहेको सती प्रथालाई आफ्नो कथावस्तु बनाएर निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘झोला’ यही माघ २४ गतेदेखि काठमाडौँ उपत्यका र देशका विभिन्न जिल्लाका ३० वटा चलचित्र हलमा एकसाथ प्रदर्शन हुने भएको छ।

यस चलचित्रले नेपालमा चन्द्र शम्शेर प्रधानमन्त्री हुनुभन्दा अघिसम्म कायम रहेको जिउँदा महिलालाई तिनका मरेका पतिको लाससँगै जलाउने जस्तो पाशविक एवम् क्रुर सती प्रथालाई मुख्य कथाबस्तु बनाएको छ। त्यसैले यस चलचित्रलाई नेपालको सामाजिक इतिहास बुझ्न सघाउने अति यथार्थवादी ऐतिहासिक श्रव्य–दृष्य दस्तावेजका रुपमा पनि लिइएको छ।

‘झोला’ कथाकार कृष्ण धरावासीको कथा हो र यसले नेपालको विगतमा विद्यमान सती प्रथाको अवस्था र त्यस प्रथाभित्रको नारी वेदनालाई समेटेको छ। आजभन्दा सयवर्ष मात्र अघिको खासगरी बाहुन क्षेत्री जातिमा प्रचलनमा रहेको सती प्रथाको कारुणिक दृश्यलाई यस चलचित्रको कथामा उतारिएको छ।

गत महिनादेखि नै स्वदेश र विदेशमा ‘प्रिमियम सो’ का रुपमा प्रदर्शित यस चलचित्र पहिलो पटक सबै चलचित्र हलका लागि प्रदर्शन हुन लागेको हो। प्रिमियम सोमा नै यो चलचित्रले निकै ठूलो प्रशंसा प्राप्त गरिसकेको छ। आधुनिक पुस्ताले पत्याउनै गाह्रो पर्ने विगतको त्यो क्रुर यथार्थलाई यो चलचित्रमा जिवन्तता दिइएकाले यसले दर्शकहरुको मन जित्ने अपेक्षा राखिएको छ।

समाजमा नारीमाथिको विभेदका रुपमा विगतमा प्रचलनमा रहेका बहुविवाह, अनमेल विवाह, दासप्रथा जस्तै सती प्रथाबाट उत्पन्न पारिवारिक तथा सामाजिक पीडालाई यस चलचित्रमा चित्रण गरिएको छ।

समाजमा वृद्ध पुरुषले सानै उमेरका युवती पनि विवाह गर्न पाउने र पतिको मृत्यु भएपछि श्रीमती उसैसँग सती जानुपर्ने परम्परा नेपालका साथै भारतका पनि कतिपय स्थानमा विद्यमान थियो। मरेका पतिको लाशसँगै भर्खरका युवतीलाई जलाइनु नै यस कुप्रथाको क्रुर एवम् पाशविक पक्ष हो।

कुनैपनि महिलाले आफू सती जान्न भनेर पनि पाउँदैनथे र घाटमा लाशसँगै लगिने श्रीमतीलाई सती जान नमानेमा मलामीहरूले नै कुटेर मार्ने र पतिकै चितामा जलाएर आउने गर्दथे। यो क्रुरतालाई सो कथाको विषयवस्तुभित्रै रहेर चलचित्रमा प्रस्तुत गरिएको छ।

धरावासीको त्यस कथामा पनि वृद्ध पतिसँग एक युवतीलाई सती जान कर गरिन्छ। उनी एकजना वृद्धकी दोस्री श्रीमती हुन्छिन् र छोरा भर्खर १० वर्षको हुन्छ। हुन त ती युवतीलाई उनका पतिले ‘छोरा सानो छ, तँ मेरो सती नजानु’ भनेका हुन्छन्। तर समाजले त्यो मान्दैन। उनले सती जानैपर्ने हुन्छ। उनलाई घाटमा लगिन्छ र निर्वस्त्र पारी पतिकै चितामा राखिन्छ। त्यो दृश्य ती १० वर्षे छोराले रुखको छेल पारेर हेरिरहेको र रोइरहेको हुन्छ।

छोराको त्यो अवस्था देखेकी आमाले पतिसँगै चितामा जल्न मान्दिनन् र उनी चिताबाट विस्तारै हाम फाल्छिन्। घाटमा रात परिसकेकाले उनी नदीको तिरबाट अलप हुन्छिन् र त्यो दृश्य छोराले पनि देख्दैन। सबै मलामी चिताबाट परै रहेकाले ती युवती जलेकै भन्ठान्छन्। उनी निर्वस्त्र रुपमै जङ्गलतिर उक्लिन्छन् र ओढारमा बस्छिन्। केही रात निर्वस्त्र रुपमै र भोकै त्यस ओढारमा बिताएकी उनलाई आफ्नै छोराले भैँसी चराउन जङ्गल गएको बेला देख्छ र गाउँलेले थाहा पाए मार्छ भन्ने डरले ती आमाछोरा विदेसिन्छन्।
कथाभित्र त्यस समयको नेपाली नारीको अवस्था समेटिएको छ। कतिपय नारी आगो खप्न नसकेर पतिको चिताबाट उछिट्टिएर भाग्न खोज्दा मलामीले ढुङ्गाले हानेर मार्छन् र त्यही चितामा जलाएर आउँछन्।

यस चलचित्रका निर्देशक यादवकुमार भट्टराईले गत महिनादेखि विभिन्न जिल्लामा गई यसको प्रिमियम सोका रुपमा उक्त चलचित्र प्रस्तुत गर्दा महिलामाथिको विभेदको सो कारुणिक कथा हेर्न नसकेर दर्शकहरु रुन थालेको अनुभव सुनाउनुहुन्छ।

नेपाली चलचित्रको इतिहासमा अति यथार्थवादी र ऐतिहासिक धारको प्रतिनिधित्व गर्न यस ‘झोला’ चलचित्रले नेपाली दर्शकसामु अलग्गै छाप बनाउने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ। बढीमा एकसय वर्षमात्र अघिको यो यथार्थको अहिलेका युवा पुस्ताले भने विश्वासै गर्न सक्दैनन्।

उक्त चलचित्रमा कलाकारहरू गरिमा पन्त, देशभक्त खनाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, प्रल्हाद खतिवडा, गीता नेपाल, रामगोपाल तथा बाल कलाकारमा सुजल नेपाल हुनुहुन्छ। त्यसैगरी, लेखक धरावासी र उहाँकी श्रीमती एवम् कथाकार मञ्जु बिमली पनि अतिथि कलाकारका रुपमा चलचित्रमा खेल्नुभएको छ।

यसको छायाङ्कन धादिङ, नुवाकोट र झापामा गरिएको छ। रामगोपाल थापा, राज तिमिल्सिना, मालती शाह र सुशील शाहद्वारा निर्माण गरिएको यस चलचित्र निर्माणका लागि छ वर्षदेखि अध्ययन र अनुसन्धान गरिएको निर्देशक भट्टराईले बताउनुभयो।

– See more at: http://www.weeklynepal.com/2014/02/05/jhola-film/#.UvLN2vldVW4

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र