पत्रकारिता र कर्पोरेट पत्रकारिताको एउटा रोचक अन्तर :: देवप्रकाश त्रिपाठी

२३ माघ २०७०, बिहीबार ०३:४० मा प्रकाशित

मानिस प्राणीहरूमध्ये उत्कृष्ट भएकोमा गौरवानुभूति गर्दछ, तर केही अपवादबाहेक आममानवीय प्रवृत्तिको विश्लेषण गर्दा हरेक मानिस स्वार्थबाट प्रेरित र परिचालित हुन्छन् भन्ने निष्कर्षमा पुगिन्छ। मनोविज्ञानले मानिसमा पाँच जन्मजात प्रवृत्ति रहने ठहर गरेको छ र पाँच (भोक, निद्रा, मैथुन, युयुत्सा र आर्जनात्मक) मध्ये आर्जनात्मक प्रवृत्तिले मानिसको स्वार्थी गुणको प्रतिनिधित्व गर्दछ। केही थप आर्जन गर्ने इच्छाले मानिसलाई कतिसम्म स्वार्थी बनाउन सक्छ भने हृदयविदारक घटनाका अनगिन्ती दृष्टान्त हामीले देख्दै, भोग्दै या सुन्दै आएका छौँ। एउटा पूर्ण मानवमा विवेकतत्त्व अनिवार्य मानिन्छ र ‘पूर्ण मानव बन्न बाँकी मान्छे’बाट विवेकसम्मत व्यवहार हुन नसक्ने हुँदा स्वार्थीपनको प्रबलता पनि यस्तै मान्छेहरूमा अधिक रहने गर्दछ। विवेकले सत्य, ज्ञानी, गुणी, सही, इमानदार र असल पात्र या प्रवृत्तिलाई रोजाइमा राख्न/पार्न चाहन्छ भने स्वार्थप्रधान मानिसले ‘शक्तिशाली र पदासीन’हरूलाई मात्र महान् र असल देख्छ, धनीहरूलाई मात्र इमानदार, राष्ट्रसेवक ठान्न थाल्छ, चाहे तिनले जुनसुकै माध्यमबाट धनार्जन गरेका हुन्। धनशक्ति र राज्यशक्तिका अघिल्तिर विवेकशक्तिमा टिक्नसक्ने सामर्थ्य लाखौँ–करोडौँमध्ये एकाधमा भेटिन सक्छ। जम्माजम्मी पौने तीन करोड जनसङ्ख्या भएको देशमा सीमित मात्रमा विवेकसम्मत व्यवहार देखिए पनि आममानिस आफ्नो वैयक्तिक स्वार्थको सीमाभन्दा माथि उठ्न खोज्दैनन् या सक्दैनन् भन्ने तथ्यबोध गर्नु उचित हुनेछ। यसको पुष्टि गर्ने दृष्टान्त मानवजीवनमा हजारौँ भेटिन्छन्, तर यहाँ पत्रकारिता क्षेत्रसम्बद्ध एउटा पाटोको चर्चा गर्न खोजिएको छ जसले मानिस विवेकबाट भन्दा स्वार्थबाट पे्ररित रहन्छ भन्ने पुष्टि गर्दछ।
नेपालको पत्रकारिता कर्पोरेट चरणमा प्रवेश गरेपछि पत्रकारिता क्षेत्रको प्रभाव सुदृढ र विस्तारित भएको महसुस हामीले गरिरहेका छौँ। तर, पत्रकारिता सुदृढ हुँदै गर्दा पत्रकारहरूको ‘हैसियत’ खस्किएको या अवमूल्यन भइरहेको यथार्थबोध गर्न हामीले खोजिरहेका छैनौँ। कर्पोरेट पत्रकारितामा पत्रकारहरू एउटा ‘टुल्स’ मात्र हुन्छन् उनीहरूले गैरपत्रकारको आदेश या इच्छालाई शिरोधार्य गर्दै ‘पत्रकारिता’ गर्नुपर्ने हुन्छ र स्वार्थपूर्तिमा अवरोध पैदा भएका दिन कुनै पनि पत्रकार कुनै पनि दिन मालिकको सिकार बन्नुपर्ने हुन्छ। ‘त्यही’ पत्रकारको काँधमा बन्दुक राखेर हजारौँ ‘सिकार गर्ने’ लगानीकर्ताले आफ्नो एउटा स्वार्थमा अड्चन पैदा हुँदा पत्रकारकै सिकार गर्न क्षणभर लगाउँदैन। कर्पोरेट पत्रकारिताको मूल उद्देश्य सही–सत्य सामग्री सम्पे्रषण गर्नु हुँदैहोइन, केवल नाफा कमाउनु त्यसको प्रमुख ध्येय हुन्छ। यद्यपि नाफा आर्जनका लागि पनि मानिसलाई भुलभुलैयामा राख्नुपर्ने भएकाले यदाकदा तथ्यपरक सामग्री सम्पे्रषण गर्ने कार्य पनि कर्पोरेट पत्रकारिताले गरिरहेको हुन्छ। तर, पत्रकारिताका आधारभूत मूल्य–मान्यताको निरन्तर पालन गर्न कर्पोरेट पत्रकारिता सधैँ उदासीन रहन्छ।
नेपालमा कर्पोरेट पत्रकारिताको मूलतः दुई सकारात्मक पक्ष देखिएका छन्। एउटा पत्रकारका रूपमा धेरैले रोजगारी पाएका छन् र अर्को पत्रकारिता क्षेत्रको प्रभाव व्यापक र सुदृढ भएको छ। नकारात्मक पाटो हेर्दा मानिस दिग्भ्रमित हुने खतरा सधैँ रहिरहने, पत्रकारहरूको भूमिका कमजोर र अनिर्णायक रहने, पत्रकारिताको न्यूनतम मूल्य–मान्यताहरूसमेत उपेक्षित हुने गरेको देख्न सकिन्छ। कर्पोरेट पत्रकारिताले पारेको समग्र प्रभावको विवेचना गर्ने उद्देश्य यो लेखले राखेको छैन, पत्रकारिता सुदृढ भएको अवस्थामा पत्रकार स्वयम्चाहिँ कति कमजोर भएका छन् भन्ने विषयमा मात्र यहाँ केन्द्रित हुन खोजिएको छ र त्यसका निम्ति विद्यमान पत्रकारिताका दुई महत्त्वपूर्ण पात्रलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्नु वाञ्छनीय ठानिएको छ। हरिहर विरहीले पत्रकारिता पेसा र यसको मूल्य–मान्यताप्रति दृढ रहँदै जनता, देश र प्रजातन्त्रका पक्षमा गर्नुभएको पत्रकारिता इतिहास स्मरणीय छ। तर, वर्तमानमा वास्तविक पत्रकार हरिहर विरही अपमानित, उपेक्षित छन्, कैलाश सिरोहियाको मान, सम्मान र हैकम अतुलनीय रूपमा उचालिएको छ। मानिसमा विद्यमान विवेकहीनता र स्वार्थीपनको सन्दर्भ पनि यहीँनेर जोडिन आउँछ।
कैलाश सिरोहियाजी ‘दुबोमा ठेस लागेर लरबरिनुभयो भने सुशील कोइरालादेखि झलनाथ, प्रचण्ड र कमल थापासम्मको वक्तव्य आउनसक्छ, घरमा ‘कैलाश दर्शन’ का निम्ति आउनेहरूको भीड मानसरोवर आसपासमा भन्दा बढी नै लाग्छ। चिरायु कामनाका धुनहरू बज्न थाल्छन्, कैलाश पर्वतलाई नै होच्याउने गरी पुष्पगुच्छाका पहाड खडा हुन्छन्। जब कैलाशजीलाई ‘दुबोको पातले कोरेका घाउ’बाट पूर्ण सञ्चो प्राप्त हुन्छ, उहाँमाथि बधाई र शुभकामनाका शब्द बौछार सुरु हुन्छ। कदाचित कैलाशजी बाटोमा हिँड्दै गर्दा कसैले आँखा तर्योन, औँला सोझ्याएर देखायो या ठूलो स्वरले बोल्यो भने राजनीतिक दलका नेता/कार्यकर्ताहरू सडक सङ्घर्षमा उत्रिन विलम्ब गर्दैनन्, भविष्यमा कैलाशजीमाथि आँखा तर्ने या त्यस किसिमको व्यवहार पुनरावृत्ति नहुने सुनिश्चित नभएसम्मका लागि दलहरूको आन्दोलन जारी रहनेछ, विगतले यसको प्रमाणित गरिसकेको छ। नेपाली पत्रकारिता क्षेत्रलाई कर्पोरेट दर्जामा प्रवेश गराउने कैलाशजीप्रति नेपाली राजनीतिकर्मी तथा सोबमोजिमका अन्यले संवेदनशीलता प्रकट गर्नुलाई सकारात्मक रूपमा ग्रहण गर्दा पनि हुन्छ। पत्रकारितामा ठूलो लगानी गरेर जुनप्रकारको जोखिम उठाउने साहस कैलाशजीले गर्नुभएको थियो त्यसनिम्ति उहाँको स्मरण या प्रशंसा गर्न सङ्कोच मान्नुपर्दैन। तर, कैलाशजी आफैँ पत्रकार होइन, उहाँले त्यस्तो दाबी गर्नुभएको छैन, पत्रकार बन्ने कसरत पनि उहाँले गर्नुभएको छैन र ‘कर्पोरेट’ तहको सञ्चारमाध्यम सञ्चालन गरिरहेको भए पनि सम्भवतः उहाँ पत्रकार बन्नुमा या भनाइनुमा गौरवानुभूति पनि गर्नुहुन्न। कैलाशजी जैन धर्मावलम्बी सम्प्रदायमा प्रकट हुनुभएका एक सुपुत्र, उहाँ हरेक स्वरूप र शैलीका आतङ्क एवम् हिंसासँग वैरभाव राख्नुहुन्छ। यो बेग्लै पक्ष हो कि माओवादी आतङ्कको अध्याय विसर्जन भए पनि कैलाशजीको शुभनाम एउटा आतङ्कको पर्याय बन्दै छ। कुनै बेला प्रचण्डहरूलाई प्रसन्न तुल्याएर जीवन सुरक्षित बनाउने होडबाजी जुन आममानिसमा देखिन्थ्यो, ठीक त्यस्तै तहको होड कैलाशजीहरूको मामिलामा पनि प्रकट भएको देखिन्छ। त्यसैले उहाँलाई दुबोका पातले दुःख दिँदा सुशील, झलनाथ, प्रचण्ड, शेरबहादुर र विजय गच्छदारहरूको हृदयमा असैह्य पीडा हुने गर्दछ। तर, हरिहर विरहीमाथि ३०३८ सालमा प्रकाशित समाचारलाई कारण बनाउँदै कसैले तरबार चलाएछ भने हाम्रो ‘वर्तमान अग्रदस्ता’ र आममानिसलाई कहीँ कतै दुःख–पीडा होला, त्यस्तो विश्वास गर्न सकिँदैन। कैलाश सिरोहियासँग हरिहर विरहीको तुलना मात्र गर्न पनि विरहीजीले पत्रकारिता क्षेत्रमा पुर्याहउनुभएको योगदानको अवमूल्यन हुनसक्छ, तर वर्तमान यति निर्मोही र स्वार्थलिप्त छ कि कुनै बेला हरिहरले बास गर्ने गर्नुभएकोले कैलाश पर्वतले मानसम्मान प्राप्त गर्ने स्थिति बनेको तथ्यबारे स्मरणसम्म गर्न पनि चाहँदैन। हरिहरहरूलाई धक्कामुक्की गर्दै कैलाश दर्शनमा रमाउनेहरूको बोलवाला बढेपछि साक्षात् हरिहरले समेत कैलाश दर्शनका लागि लामबद्ध हुनुपर्ने विडम्बनापूर्ण स्थिति सिर्जना भइरहेको छ। मन्दिरहरूमा भगवान् देेखिन्न्ान् मूर्ति भेटिन्छन्, मूर्ति देख्ने–भेट्ने अवसर पनि नपाउनेहरूले मन्दिरलाई नै ढोग्छन् र आत्मसन्तुष्टि लिन्छन्। पत्रकारिता क्षेत्रमा पनि सुन या सुनको गजुर हेर्न थालिएको छ ‘पत्रकारिता’ होइन। त्यसैले हरिहरहरू विस्मृतिमा जाँदै छन्, उपेक्षित, अपमाननित र तिरष्कृत हुँदै छन् कैलाशहरू स्तुत्य बनेका छन्। कैलाशको महत्त्व हरिहरहरूले वासस्थान बनाएका कारण बढेको हो, तर हाम्रो स्वार्थले हरिहरभन्दा कैलाशलाई महान् र उत्कृष्ट देख्न थालेको छ।
जतिबेला मुलुकमा स्वतन्त्रता बर्जित थियो, स्वतन्त्रता उपभोग गर्नु या शासकहरूको आलोचना गर्नुलाई गम्भीर प्रकृतिको अपराध मानिन्थ्यो, त्यसबेला हरिहर विरहीहरू साहसका साथ पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभयो र मान्छेलाई पत्रिका पढ्न सकारात्मक अर्थमा बाध्य तुल्याउनुभयो। त्यसताक सायद कैलाशजीहरू बागबजारतिरको फर्निचर पसलमै आफ्नो प्रारम्भिक युवाकाल गुजार्दै हुनुहुन्थ्यो। मान्छे र प्रजातन्त्रका लागि विरहीले कमलयुद्ध लड्नुभयो, प्रजातन्त्रको स्थापनापश्चात् मान्छे र प्रजातन्त्रले नै उहाँ र उहाँहरूको धज्जी उडाउँदै छ। होमनाथ दाहाल, गोपाल थपलिया, मदनमणि दीक्षित, विनोद दीक्षित, गोपाल सिवाकोटी, श्री आचार्य, पदम ठकुराठी, जनार्दन आचार्य, किशोर नेपाल, राजेन्द्र दाहाल, पी. खरेल, शरदचन्द्र वस्ती, नारायण ढकाल, कृष्णप्रसाद सिवाकोटी, देवेन्द्र गौतम, रघुजी पन्त, गोपाल बुढाथोकी, शम्भु श्रेष्ठ, श्यामल, पुरुषोत्तम दाहाल, मणिराज उपाध्याय, सोमनाथ घिमिरेलगायतले जे–जसका लागि पत्रकारिता गर्नुभएको थियो तिनैले उहाँहरूमाथि न्याय गरेको देखिएन। कैलाशहरूको इच्छामा कतिजनाले ‘माननीय’को पगरी गुथ्ने मौका पाएका छन्, ६ सय एकजनाको संविधानसभा जहाँ ‘कुँडाकर्कट’ सम्मको उपस्थिति सुनिश्चित गरिएको छ, त्यहाँ हरिहर विरहीजीहरूको प्रवेशचाहिँ बर्जित छ। सायद कैलाशजीले इच्छा राख्नुभएको भए कुनै पनि दल उहाँलाई आफ्नो सभासद् बनाउन तयार हुनसक्थ्यो, म्यानपावर व्यवसायीका रूपमा स्थापित महेन्द्र शेरचन राजधानी दैनिकको मालिक बनेकै कारण सभासद्का लागि अति योग्य ठहरिए। सोही पत्रिकाका सम्पादक राजन शर्माले जतिसुकै जोडबल लगाएका भए पनि एमालेले उहाँलाई सभासद् चयन गर्थ्यो, त्यस्तो विश्वास गर्न सकिँदैन।
कर्पोरेट पत्रकारिताले पत्रकारिता क्षेत्रको गौरव अवश्य बढाएको छ, यसले क्षति पुर्यारएको पत्रकारहरूलाई मात्र हो। कुनै ब्रोडसिट दैनिक पत्रिकामा सम्पादकको ‘जिम्मेवारी’ निर्वाह गरिरहँदा सम्बन्धित पत्रकारले पेसागत मूल्य, मान्यता र एउटा पत्रकारमा हुनुपर्ने स्वाभिमान कतिसम्म कायम राख्न सक्लान् यो अनुसन्धानको विषय हुनसक्छ। आफैँ पत्रकार भएर पनि कर्पोरेट पत्रकारिताको अभ्यास गरेर पुष्करलाल श्रेष्ठजीले नयाँ इतिहास रच्न गर्नुभएको प्रयासमा उहाँलाई कुन प्रकारको सफलता प्राप्त हुन सक्ला त्यसको प्रतीक्षा अझै गर्नुपर्नेछ। काँध दिने क्षमतामा अब्बल मानिसका लागि दैनिक पत्रिकाको सम्पादक या संवाददाता राम्रो अवसर अवश्य हो, प्रतीक प्रधानजस्ता स्वाभिमानी र क्षमतावान पत्रकारहरू कहिलेसम्म ‘त्यस्ता’ संस्थामा टिक्न सक्लान् यसलाई एउटा प्रयोगका रूपमा बुझ्न सकिन्छ। हुन त पछिल्लो समयमा आफू कसैबाट उपयोग भइरहँदा आफूले पनि उक्त संस्थालाई उपयोग गरेर ठूलो लेखक बन्ने या कुनै न कुनै प्रकारले लाभ प्राप्त गर्ने अभ्यास ‘कर्पोरेट पत्रकारिता’भित्र आरम्भ भएको छ। व्यक्तिविशेषले त्यसप्रकारको लाभ हासिल गरे पनि समग्र पत्रकारहरूको जीवनमा त्यसले सकारात्मक प्रभाव पारिरहेको छैन।
कुनै राजेन्द्र खेतान या अन्य नामक व्यापारीले करोडौँ रुपैयाँ कर छली गर्दा कर्पोरेट पत्रकारितामा समाचार बन्ने गर्दैन। पत्रकारको प्राथमिकता समाचार हो, पत्रकारहरूद्वारा सञ्चालित साना लगानीका सञ्चार संस्थाहरूमध्ये धेरैले समाचारलाई नै प्राथमिकता दिँदै आएका पनि छन्। तर, कर्पाेरेट पत्रकारिताको प्राथमिकता विज्ञापन हो। अर्थात् कर्पोरेट पत्रकारिता विज्ञापन प्रकाशित गर्दा समाचारसमेत सम्पे्रषण गर्न बाध्य हुन्छ भने पत्रकार यस्तो मान्यता र परम्पराको पक्षमा हुनै सक्दैनन्। कुनै रसेन्द्र भट्टराई ‘धनी’ छन् भन्ने विश्वासका आधारमा कर्पोरेट पत्रकारिताको प्रमुख समाचार बनाइए, त्यसै साताको घटना र विचार साप्ताहिकले रसेन्द्र एक ‘सातिर ठग’बाहेक केही नभएको तथ्यसहित सामग्री प्रकाशन गर्योए र अन्ततः त्यसको पुष्टि पनि भयो। यस्ता अनेक दृष्टान्त छन् पत्रकारिताले ‘कर्पोरेट पत्रकारिता’लाई चुनौती दिएका, तर जब मानिसमा ‘खाना नभई थाल हेर्ने’ प्रवृत्ति हुन्छ यस्ता तथ्यहरू ओझेलमा पर्दारहेछन्। पछिल्लो दशकमा नेपाल बाहुबल, राज्यबल र धन–सम्पत्तिको प्रकोपमा परेको छ र यसबाट पत्रकारिता क्षेत्र पनि मुक्त रहेन। विवेकहीनता र स्वार्थीपनको चपेटामा पत्रकारिता क्षेत्र परेको अनेक दृष्टान्त भए पनि यहाँ ती सबैको उल्लेख सम्भव भएन। मानिसहरूले जति धेरै जानकारी हासिल गरेर आफूलाई ‘सचेत’ बनाउन चाहेका छन् ‘कर्पोरेट पत्रकारिता’ले तिनलाई त्यति नै अचेत तुल्याउँदै लगेको छ। पत्रकारिताको यही रूपले निरन्तरता पाएमा अन्ततः दिग्भ्रमित मानिसको जमात बढिरहनेछ र पत्रकारिता समाजको विकास र उत्थानको कारण बन्नसक्ने छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का