पूर्णकालीन कार्यकर्ताको परिभाषा खोज्दै एमाओवादी

२२ माघ २०७०, बुधबार ०६:३० मा प्रकाशित

काठमाडौं, २२ माघ । एकीकृत नेकपा माओवादीको तपाईं पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ ? पार्टीले तपाईंलाई महिनावारी निश्चित केही तलब दिएर भरणपोषणको व्यवस्थापन गरिरहेको छ ? यदि त्यसो हो भने अब तपाईंका लागि पार्टीले लगानी नगर्ने भएको छ । एमाओवादीले अब पार्टीको पूर्णकालीन कार्यकर्ताको परिभाषा बदल्दै नेता–कार्यकर्तालाई आङ्खनो जीविकाको व्यवस्थापन आफं गर्न निर्देशन दिने भएको छ ।

सशस्त्र द्वन्द्वकालमा एमाओवादीले युद्धको आवश्यकताका आधारमा बढीभन्दा बढी पूर्णकालीन (पेसेवर) कार्यकर्ता निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने गरेको थियो । शान्तिकालमा प्रवेश गरेपछि पनि उसले पूर्णकालीन कार्यकर्तालाई पार्टीका आवश्यकताका आधारमा परिचालन गर्नुपर्ने भन्दै पूर्णकालीन रूपमै राखेको थियो । उसका अहिले पनि पेसेवर, अंशकालीन र समर्थक गरी तीनखाले कार्यकर्ता छन् । देशभर पूर्णकालीन कार्यकर्ताको संख्या भने अझै पनि १० हजारको हाराहारीमा रहेको एमाओवादीको दाबी छ ।

त्यस्ता पूर्णकालीन कार्यकर्तामा पछिल्लो समय पार्टी संगठनको काम गर्न नसक्नेहरूको संख्या अत्यधिक रहेको ठहर गर्दै उसले विशिष्ट क्षमता भएकाहरूका हकमा बाहेक अन्यको हकमा पेसेवर अवस्थामा नराख्ने प्रावधान नै तय गर्न लागेको छ ।
पूर्णकालीन कार्यकर्तालाई एमाओवादीले अब आफं अंशकालीन कार्यकर्ता बन्न प्रोत्साहित गर्ने रणनीति बनाउन लागेको छ । उसले त्यस्ता कार्यकर्तालाई आङ्खनै पेसा व्यवसाय गरेर जीविका चलाउन र पार्टीलाई पनि सकेको समयमा सहयोग गर्न अनुरोध गर्ने गरी नयाँ अवधारणा बनाउन लागेको हो । पूर्णकालीन कार्यकर्तालाई एमाओवादीले सम्बन्धित पार्टी कमिटीमार्फत भरणपोषणको व्यवस्थापन गर्दै आइरहेको थियो ।

एमाओवादी नेवाः राज्यसमिति इन्चार्ज देवेन्द्र पौडेलले कार्यकर्ताको सही व्यवस्थापन गर्न नसक्दा पार्टी संगठन नै अस्तव्यस्त बनेकाले पूर्णकालीन कार्यकर्ताको परिभाषा नै नयाँ ढंगले गर्न लागिएको जानकारी दिए । ‘कार्यकर्ताहरूको सही व्यवस्थापन र परिचालन गर्न नसक्दा पार्टीमा ठूलो आशंका, अराजकता र अस्तव्यस्तताको स्थिति बन्न गयो, पार्टीको पूर्णकालीन सदस्य हुँ भन्ने, तर पार्टी काममै फिट नहुने स्थिति देखिन थाल्यो, जसका कारण पूर्णकालीन कार्यकर्ताको परिभाषा नै नयाँ आधारमा गर्न खोजेका छौं,’ पौडेलले  भने, ‘अब पूर्णकालीन कार्यकर्ता हुन श्रम, उत्पादन र पार्टी काममा जोडिनु अनिवार्यजस्तै बनाइनेछ ।’
त्यसो त केन्द्रीय समिति बैठकले गत साता मात्रै पारित गरेको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दस्तावेजमा पनि पार्टीका पूर्णकालीन कार्यकर्तालाई अंशकालीन बन्न सल्लाह दिने र त्यसका लागि पार्टीले उचित संगठनात्मक निकास दिने उल्लेख गरेका छन् । सम्भवतः एमाओवादीको पार्टी दस्तावेजमै पहिलो पटक उसले ‘कार्यकर्ताहरूको परिभाषा र कार्यविभाजनबारे’ उपशीर्षकमा कार्यकर्ताको वर्गीकरण गर्ने प्रयास गरेको हो ।
‘पूर्णकालीन रूपमा काम गर्न रुचि नराख्ने वा नसक्ने कतिपय कार्यकर्तालाई अंशकालीन बनेर पार्टीको पक्षमा सकेको काम गर्न सल्लाह दिनु र पार्टीले त्यसको निम्ति उचित संगठनात्मक निकास दिनु पनि उपयुक्त हुन्छ,’ दाहालको दस्तावेजमा भनिएको छ, ‘आज कार्यकर्तासँग सम्बन्धित एक प्रमुख समस्या हिजो जनयुद्धमा त्याग र बलिदानका कीर्तिमान कायम गरेका पूर्णकालीन क्रान्तिकारीहरू अहिलेको परिवर्तित अवस्थामा अर्काे निश्चित कामका निमिक्त आवश्यक दक्षताको अभावमा हीनता, निराशा, अराजकता र पलायनको खतरा बढ्दै गएको छ । कार्यविभाजन र परिचालनको उपर्युक्त व्यवस्थाले त्यस प्रकारको समस्यालाई अन्त्य गर्नुपर्छ ।’
एमाओवादीमा पूर्णकालीन कार्यकर्ताको नयाँ परिभाषाबारे हेटौंडा महाधिवशेनदेखि बहसको थालनी भएको हो । पेसेवर कार्यकर्तालाई पार्टीले पाल्न नसकेपछि कार्यकर्ताहरू आपराधिक क्रियाकलापमा लाग्न सक्ने भन्दै उसले पूर्णकालीनलाई अंशकालीन बन्न उत्प्रेरित गर्न लागेको हो ।

‘पूर्णकालीनले पार्टीले पाल्नुपर्छ भन्ने माग गर्ने गर्छन्, पार्टीले कार्यकर्ता पाल्ने होइन,’ एमाओवादीका अर्का एक नेताले राजधानीसँग भने, ‘हामी त विशिष्ट अवस्थाबाट आएकाले पूर्णकालीन पाल्नुपर्ने स्थिति रह्यो, तर सधंभरि पार्टीले कार्यकर्ता पाल्न सम्भव हुँदैन, त्यही भएर पूर्णकालीन कार्यकर्ताको परिभाषा नयाँ ढंगले गर्न खोजेका हौं ।’

सशस्त्र द्वन्द्वकालका सहिद, बेपत्ता र घाइते परिवारका पूर्णकालीनलाई भने उसले आफैंले उत्पादन सहकारी निर्माण गरेर समेट्नुपर्ने जनाएको छ । त्यस्ता परिवारका सदस्यलाई पनि अनिवार्य श्रमसँग जोडाउने नीति बनाउने तयारी उसको छ ।
‘सहिद, बेपत्ताका परिवार र अंगभंग भएका घाइतेहरूलाई सीधै आफैं जीविकोपार्जनमा लाग भन्न नमिल्ने भएकाले उनीहरूको हकमा भने पार्टीले सहकारीमार्फत श्रम र उत्पादनसँग जोड्ने तयारी गरिरहेको छ,’ ती नेताले भने । एमाओवादीमा केन्द्रदेखि जिल्लासम्म रहेका पूर्णकालीन कार्यकर्ताले सम्बन्धित पार्टी कमिटीमार्फत आवश्यकताका आधारमा निश्चित तलब बुझ्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता