कोइराला नै बहुमतीय प्रधानमन्त्री : कांग्रेस

२२ माघ २०७०, बुधबार ०६:२५ मा प्रकाशित

काठमाडौं, २२ माघ । संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले बहुमतीय आधारमा निर्माण हुने सरकारको नेतृत्व पार्टी सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाले गर्ने औपचारिक निर्णय गरेको छ । संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति कोइरालाले पहिलो पटक मंगलबार बोलाएको केन्द्रीय समिति बैठकले उनैलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको हो ।
राष्ट्रपति डा.रामवरण यादवले संविधानको धारा ३८ (२) अनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि कांग्रेसले सभापति एवं संसदीय दलका नेता कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय लिएको हो । संविधानको धारा ३८ (२) अनुसार बहुमतीय सरकार निर्माण गर्न अधिकतम सहमतिको सरकार बनाउने भन्दै कांग्रेसले संविधानसभामा रहेका सबै दल र स्वतन्त्र सभासद्सँग तत्काल संवाद थाल्ने निर्णय पनि गरेको छ । त्यस्तो वार्ताटोलीको नेतृत्व गर्न पार्टी सभापति कोइरालाले गरेको आग्रहलाई नेता शेरबहादुर देउवाले भने अस्वीकार गरेका छन् ।
दलको नेताको निर्वाचनमा सभापति कोइरालासँग १६ मतले पराजित देउवाले आफूसँग पर्याप्त छलफल नभएको भन्दै वार्ताटोलीको नेतृत्व लिन अस्वीकार गरेको एक नेताले बताए । वार्ताटोली गठन गर्ने जिम्मेवारी भने केन्द्रीय कार्यसमितिले कोइरालालाई दिने निर्णय गरेको छ ।
‘संविधानको धारा ३८(२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्ने प्रक्रिया प्रारम्भ भएकाले कांग्रेस संविधानसभा संसदीय दलको विधानअनुसार दलका नेता कोइरालालाई प्रधानमन्त्री पदका लागि उम्मेदवार प्रस्तावित गर्दछ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ, ‘प्रक्रियागत र प्रचलनको भाषामा ३८(२) अनुसार बन्ने सरकार बहुमतीय सरकार भनिए पनि कांग्रेस पार्टी सभापति र संसदीय दलका नेता कोइरालाको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व भएका दलहरूको अधिकतम सहमतिको सरकार निर्माण गर्न चाहन्छ ।’
कांग्रेसले एक वर्षभित्रै संविधानसभाबाट संविधान जारी गर्ने प्रयोजनका लागि तथा आर्थिक समृद्धिका लागि स्थिर सरकारको सुनिश्चितता प्रदान गर्न अधिकतम सहमतिको सरकार बनाउनु उपयुक्त हुने ठहरसमेत गरेको छ । कांग्रेसले संविधानसभामा दलको संख्यात्मक उपस्थिति र सरकारमा सहभागी हुने दलको संख्याका आधारमा मन्त्रिपरिषद् गठन गरिने मापदण्ड निर्धारण गरेको छ । कांग्रेसले आङ्खनै दलको नेतृत्वमा बन्ने सरकारमा मन्त्रीका रूपमा सहभागी हुने पार्टीका प्रतिनिधिहरू चयन गर्दा पार्टीमा लामो समयदेखि योगदान पु-याएका, जातीय–क्षेत्रीय सन्तुलन, समावेशी प्रतिनिधित्व, क्षमता र स्वच्छ छविजस्ता मापदण्डलाई आधार मानेको छ ।
कांग्रेसले गठन गर्ने वार्ताटोलीलाई दलहरूसँग संवाद गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्रै निर्माण, ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन, आर्थिक समृद्धि र सामाजिक न्यायका पक्षमा साझा सहमतिको निर्माण गर्न पहल गर्ने प्रतिबद्धता अन्य दलसँग गर्न जिम्मेवारी दिइएको छ ।
टोलीलाई गरिबी निवारण र बेरोजगारी समस्या समाधान गर्ने नीतिगत प्राथमिकता दिने, द्वन्द्वपीडितलाई राहत, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारको अन्त्य र विधिको शासनको सुनिश्चितता तथा राजनीतिक दलहरूका बीच निरन्तर संवाद तथा एकता, सहमति र सहकार्यको भावनाका साथ अघि बढ्ने राजनीतिक प्रतिबद्धता जुटाउन पहल गर्ने जिम्मेवारी दिइएको छ ।
बैठकमा बोल्ने केही केन्द्रीय सदस्यहरूले सरकार निर्माण गर्दा एमालेलाई मात्र प्राथमिकतामा राख्दा अन्य दल असन्तुष्ट बनेको गुनासो गरेका थिए । उनीहरूले अन्य दलसँग वार्ता नगरी एमालेसँग मात्र सहमति गर्न खोजिए अधिकांश दलहरूलाई सरकारमा समेट्न चुनौती थपिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । केही सभासद्ले एमालेको विकल्पमा तेस्रो ठूलो दल एमाओवादीलाई पनि विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका थिए ।

उनीहरूले मन्त्रिपरिषद् गठन गर्दा शक्ति बाँडफाँटको विषयमा एमालेले कांग्रेसलाई नै अप्ठ्यारोमा पार्ने गरी प्रस्ताव ल्याए अस्वीकार गर्नुपर्ने बताएका थिए । उनीहरूले एमालेको विकल्पमा एमाओवादी र मधेसवादीसहित अन्य दलसँग पनि वार्ता गरी विश्वासको वातावरण निर्माण गर्न सुझाव दिएको सहभागी नेताले बताए ।
कांग्रेस बैठकले जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई अनावश्यक तरिकाबाट निष्कासन गरेकोमा विरोध जनाउँदै विगतमा भएको परम्पराअनुसार नै नियुक्ति गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
बैठकमा उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, नरहरि आचार्य, डा. मीनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, मीना पाण्डे, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बे, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली, दीपक गिरी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, शंकर भण्डारी, गगन थापा, बद्री पाण्डे, ईश्वरी न्यौपाने, मीनाक्षी झा, रामचन्द्र तिवारी र मीना सुब्बाले बहुमतीय सरकार निर्माणका सम्बन्धमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्ने विषयमा आ–आङ्खना धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । गएराती साढे

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग