वार्ता टोलि गठन गर्ने जिम्मेवारी कोइरालालाई

२१ माघ २०७०, मंगलवार १९:०२ मा प्रकाशित

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसले बहुमतीय सरकार बनाउन विभिन्न दलहरुसंगको वार्ता र सम्वादको जिम्मेवारी सभापति सुशील कोइरालालाई दिएको छ ।

कोइरालाले नै वार्ता टोलि गठन गर्ने छ । सोहि टोलिले अन्य दलहरुसंग वार्ता र सम्वाद गर्नुका साथै शक्तिबांडफांट गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी कार्यालय सानेपामा आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकले वार्ता गर्ने जिम्मेवारी सभापति कोइरालालाई दिएको हो । वार्ता टोलिमा कोइरालाले आफू खुसी पदाधिकारी र सदस्य राख्ने छन् ।

स्रोतका अनुसार नेता शेरबहादुर देउवा समूहले वार्ता टोलि गठनमा असहयोग गरेको बुझिएको छ । नेता देउवा समूह वार्ता टोलिमा वस्न अनिच्छुक देखि पछि सभापति कोइरालालाई सो जिम्मेवारी दिईएको हो ।

सरकार बहुमतीय बनाउने भए पनि धेरै भन्दा धेरै दलहरुलाई सहभागी गराउने निर्णय पनि कांग्रेसले गरेको छ ।

यसैबीच, कांग्रेसले दीर्घकालीन असर पर्ने निर्णय नगर्न वर्तमान कामचलाउ सरकारलाई आग्रह गरेको छ । जानकपुरको जानकी मन्दिरमा महन्थ तपेश्वर दासलाई हटाएकोमा कांग्रेसले बिरोध जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७० माघ २१ गते बसेको बैठकको निर्णय

माघ २१, २०७०

प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सभापति श्री सुशील कोइरालाको अध्यक्षतमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । आजको बैठकमा उपसभापति श्री रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, श्री अर्जुननरसिंह के.सी, श्री महेश आचार्य, श्री नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, श्रीमती मीना पाण्डे, श्री मानबहादुर विश्वकर्मा, श्री अर्जुनप्रसाद जोशी, श्री भीष्मराज आङ्दम्वे, श्री आनन्दप्रसाद ढुंगाना, श्री कृष्णचन्द्र नेपाली, श्री दिपक गिरी, श्री कमला पन्त, श्री धनराज गुरुङ, श्री महेन्द्र यादव, श्रीमती पुष्पा भुसाल, श्री शंकर भण्डारी, श्री गगनकुमार थापा, श्री बद्री पाण्डे, श्रीमती ईश्वरी न्यौपाने, श्रीमती मिनाक्षी झा, श्री रामचन्द्र तिवारी र मिना सुब्बाले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यसमितिको बैठकले देहायका निर्णयहरु गरेको छ ।
१. संविधानको धारा ३८(१) को प्रकृया समाप्तिसँगै संविधानको धारा ३८(२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्ने प्रक्रिया प्रारम्भ भएको छ । यस प्रयोजनका लागि नेपाली कांग्रेस संविधानसभा संसदीय दलको विधानको व्यवस्था अनुरुप नेपाली कांग्रेस पार्टी सभापति एवं संसदीय दलका नेता मा. श्री सुशील कोइरालालाई प्रधानमन्त्री पदका लागि उम्मेदवार प्रस्तावित गर्दछ । प्रक्रियागत र प्रचलनको भाषामा ३८(२) अनुसार बन्ने सरकार बहुमतिय सरकार भनिए पनि नेपाली कांग्रेस आफ्ना पार्टी सभापति र संसदीय दलका नेता मा. श्री सुशील कोइरालाको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व भएका दलहरुको अधिकतम् सहमतिको सरकार निर्माण गर्न चाहन्छ । एक वर्ष भित्रै संविधानसभाबाट संविधान जारी गर्ने प्रयोजनका लागि तथा आर्थिक सम्वृद्धिका लागि स्थिर सरकारको सुनिश्चितामा यस्तो अधिकतम सहमतिको सरकार बनाउनु उपयुक्त हुन्छ भन्ने नेपाली कांग्रेसको ठहर छ । संविधानसभामा दलको संख्यात्मक उपस्थिति र सरकारमा सहभागी हुने दलको संख्याका आधारमा मन्त्रिपरिषद् गठन गरिनेछ ।
२. संविधानको धारा ३८(२) अनुसार अधिकतम सहमतिको सरकार बनाउने प्रयोजनका लागि नेपाली कांग्रेस सबै दल र स्वतन्त्र सभाषद्सँग तत्काल सम्वाद गर्ने निर्णय गर्दछ । यसका लागि वार्ता टोली गठन गर्ने जिम्मेवारी पार्टी सभापति तथा संसदीय दलका नेता मा. श्री सुशील कोइरालालाई दिने निर्णय गर्दछ ।
३. वार्ता टोलीले दलहरुसँग संवाद गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा प्रतिवद्ध हुँदै एक वर्ष भित्रै संविधानसभाबाट संविधान निर्माण, ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन, आर्थिक सम्वृद्धि र सामाजिक न्यायका पक्षमा साझा सहमतिको निर्माण, गरीबी निवारण र वेरोजगारी समस्या समाधान गर्ने नीतिगत प्राथमिकता, महंगी नियन्त्रण, बन्द, चक्काजाम र हड्ताललाई निरुत्साहित गर्ने संकल्प, द्वन्द्व पीडितलाई राहत, पारदर्शिता, जवाफदेहीता, भ्रष्टाचारको अन्त्य र विधिको शासनको सुनिश्चितता तथा राजनीतिक दलहरुका बीच निरन्तर संवाद तथा एकता, सहमति र सहकार्यको भावनाका साथ अघि बढ्ने राजनीतिक प्रतिवद्धता जुटाउन पहल गर्नेछ ।
४. नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा मन्त्रीका रुपमा सहभागी हुने पार्टीका प्रतिनिधिहरु चयन गर्दा पार्टीमा लामो समयदेखि योगदान पु¥याएका व्यक्ति, जातीय–क्षेत्रीय सन्तुलन, समावेशी प्रतिनिधित्व, क्षमता र स्वच्छ छवि जस्ता मापदण्डलाई आधार बनाइनेछ ।
५. सम्माननीय राष्ट्रपतिद्वारा आह्वान गरे बमोजिम संविधानको धारा ३८(१) अनुसार प्रधानमन्त्री चयन गर्ने प्रक्रियाका सन्दर्भमा नेपाली कांग्रेसका पार्टी सभापति एवं संसदीय दलका नेता मा. श्री सुशील कोइरालालाई प्रधानमन्त्री पदमा चयन गर्ने पक्षमा सहमति प्रकट गर्नु हुने सबै दल र दलका नेताहरुप्रति नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गर्दै ३८(२) को सरकारको निर्माणमा पनि यसरी नै सहयोग र सहकार्यको अपेक्षा गर्दछ ।
६. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ ४, २०७० मा बसेको बैठकले नियुक्ति, सरुवा, बढुवा, नियमावलीहरु परिवर्तन गर्ने लगायत दीर्घकालिन असर पार्ने कुनै पनि नीतिगत निर्णयहरु गर्ने काम तत्काल बन्द गरोस् भनी सरकारको ध्यानाकर्षण गराएकोमा हालै जनकपुर जानकी मन्दिरका महन्थ तपेश्वर दासलाई अनावश्यक तरिकाबाट निष्काशन गरेकोमा विगतमा भएको परम्परा अनुसार नै नियुक्ति गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आजको बैठक निर्णय गर्दछ ।
शोक प्रस्ताव :
१. पूर्व प्रधान न्यायाधीश एवं २०४७  सालको संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय उपाध्यायले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको भावना अनुरुप निर्धारित समयमा नै २०४७ को संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । कार्यसमितिको यो बैठक स्वर्गीय उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
२. घोराई नगरपालिका वडा नं. ७ दाङ निवासी नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, पूर्व मन्त्री एवं पूर्व नगर प्रमुख ६८ वर्षीय यज्ञबहादुर बुढाथोकीको माघ २० गते उपचारका क्रममा भारतको लखनउमा हृदयघातबाट निधन भयो ।
धनुषा जिल्लाको सुगानिगास गा.वि.स. निवासी वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व महासमिति सदस्य १०३ वर्षीय निर्गुण यादवको गत माघ ५ गते निधन भयो । अनवरत रुपमा नेपाली कांग्रेसमा संलग्न स्वर्गीय यादव २०१७ सालमा प्रजातन्त्र अपदस्तपछि प्रवासमा रहनु भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य आमोदप्रसाद उपाध्यायको धर्मपत्नी ७४ वर्षीय गुनुदेवी उपाध्यायको गत माघ १३ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भयो ।
नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा उहाँहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँहरुको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।
प्रदीप पराजुली
सचिव

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको