एमालेका साथीहरूले आफ्ना ‘इमेल′ नियालून् :: डा. मीनेन्द्र रिजाल (नेता, नेपाली काङ्ग्रेस)

१९ माघ २०७०, आईतवार ०५:०४ मा प्रकाशित

० मुलुकको ध्यान यतिबेला राष्ट्रिय सहमतिको सरकार कहिले हुन्छ, कसरी हुन्छ भन्नेमा छ, नेपाली काङ्ग्रेसले सरकार गठनबारे कुनै खाका तयार गरेको छ?

– त्यस्तो विशेष खाका तयार गर्नुपर्ने कुरै छैन नि। सहमतिको सरकार बनाउने भनेपछि दोस्रो ठूलो दल एमालेलगायत सबैलाई सरकार गठन कार्यका आ–आफ्नो हिसाबबाट सहयोग गर्न आह्वान गर्ने हो, हैसियतअनुरूप सहभागिताका लागि आग्रह गर्ने हो। संविधान निर्माणकार्यका लागि संविधानसभामा भएका सबै दलको सहयोग र समर्थन लिएर काङ्ग्रेसले अगुवाइ गर्ने हो। हाम्रो पार्टीले संसदीय दलको नेता छान्ने काम पनि सम्पन्न गरिसकेकाले अब दलहरूलाई सरकारमा आउन औपचारिक आह्वान हाम्रा सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाले गर्नुहुनेछ, यो कार्यको सुरुवात दोस्रो ठूलो दल एमालेलाई औपचारिक तवरमा सरकारमा आउन आग्रह गरेर हुनेछ।

० एमालेले त राष्ट्रपति परिवर्तनको मुद्दा उठाएको उठायै छ, संसद्मा समेत उसले यो मुद्दा प्रवेश गराइसक्यो, यसमा कुरा नमिलेसम्म एमाले सरकारमा जान तयार होला त?

– उहाँहरूले आफ्नो कुरा गर्नुभयो, ठीक छ, तर यो विषयलाई बोकेर एमाले पार्टी हठका साथ अघि बढिरहला जस्तो मलाई लाग्दैन। यो विषयको महत्त्व र सीमा एमालेका नेताहरूले पनि राम्रैसँग बुझ्नुभएकै होला। सर्वोच्च अदालतको एउटा ठोस निर्णय पनि आइसकेको छ यसबारेमा। जनताको निर्णय त पहिले नै आइसकेको हो कि निर्वाचनमा जाँदा कुनै पनि दलले राष्ट्रपति परिवर्तनको मुद्दा लिएर गएका थिएनन्। यति मात्रै पनि होइन, पहिले बाधा अड्काउ फुकाउने बेलामा भएको आदेश जो संसद्मा पेस भएको छ, त्यो आदेश तयार गर्ने बेलामा सहयोगी भूमिकामा रहेका अहिलेका कानुनमन्त्री माधव पौडेल, संसद् सचिवालयका सहसचिव टेकप्रसाद घिमिरे, एमालेका अग्नि खरेल, काङ्ग्रेसका हरिहर दाहाल, एमाले पार्टीबाट सहभागी हुनुभएका भीम रावल र रघुजी पन्त, काङ्ग्रेसका तर्फबाट म स्वयम् अनि विमलेन्द्र निधि, एमाओवादीका तर्फबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, हामीहरूले ०६९ साल पुस ४, ६ र ७ गतेका आ–आफ्ना इमेल बक्समा नियाल्यौँ भने स्पष्टै हुन्छ कि त्यतिबेला राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भनेर पहिले कुरा उठायो एमाओवादीले। अनि हामीले भन्यौँ– यस विषयमा त हामी शब्द उच्चारण मात्र पनि गर्न चाहन्नौँ। हामीले मात्र होइन, हामीभन्दा चर्को स्वरमा र हामीले भन्दा पनि बढी ओजपूर्ण तर्क राखेर एमालेका साथीहरूले राष्ट्रपतिको निर्वाचन हुन्न, हुन सक्दैन र यस विषयमा हामी कुरा गर्न पनि तयार छैनौँ भनेर जवाफ दिनुभएको थियो। एमालेले यसरी कुरा राखिसकेपछि पुस ७ गते हामीले छलफलका लागि तयार गरेको दस्तावेजमा पनि राष्ट्रपतिको निर्वाचनको विषयमा कुनै कुरा उल्लेख भएन, उल्लेख गरिरहनुपर्ने आवश्यकता रहेन। दलहरूले अबको संविधानसभामा या संविधान बनाउने कुरामा राष्ट्रपति निर्वाचनको कुरा आउने छैन, नयाँ संविधान आएपछि मात्र त्यो विषय आउनेछ, तत्कालचाहिँ संविधानसभाको चुनाव गराउनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न बाटो खोल्ने भनेर सचेत मनबाट निर्णय गरेका हुन्। त्यसैले आज त्यो विषय उठाउनु कति न्यायोचित र जायज होला? एमालेका नेताहरूले मनन गर्ने र आमजनताले बुझ्नुपर्ने कुरा हो यो। फेरि पनि दोहोर्या उन चाहन्छु कि जनतासँग मत माग्न जाँदा पनि हामीले यो मुद्दा लगेनौँ, अनि यतिबेला सर्वोच्च अदालतले पनि प्रस्ट आदेश दिइसकेको छ, त्यसैले यस्ता असान्दर्भिक विषयमा अड्किएर सरकार गठन र संविधान निर्माणजस्ता संवेदनशील मुद्दालाई प्रभावित पार्ने काम कसैले पनि गर्नु हुँदैन।

० एमाले अध्यक्षले त राष्ट्रपतिको चुनावको एजेण्डालाई संसद्ले चाँडो सुनेर टुङ्याउनुपर्छ भनेका छन्, अब के होला त?

– खनालजी या एमाले पार्टीसँग बसेर छलफल हुन्छ र यो विषयको टुङ्गो लाग्छ, लाग्नुपर्छ। यसभन्दा बढी म यतिबेला अरू के भनौँ र? मलाई विश्वास छ, यो विषयमा अल्झेर नबस्नेमा उहाँहरू कन्भिन्स हुनुहुनेछ।

० यसको मतलब एमालेसँग काङ्ग्रेसको सहकार्य हुन्छ?

–एमाले मात्रै होइन, संसद्मा भएका सबै राजनीतिक दलको समर्थनमा हाम्रो पार्टीका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा राष्ट्रपतिजीले दिनुभएको अवधिभित्र काङ्ग्रेसले सरकार निर्माण गर्नेछ।

० काङ्ग्रेसलाई आन्तरिक र बाह्य चुनौतीहरू छन्, शेरबहादुर देउवालाई समेत सहमतिमा लिएर जानुपर्ने सन्देश संसदीय दलको निर्वाचनले दिएको छ, यस्तोमा राष्ट्रपतिले दिनुभएको समय–सीमाभित्रै सरकार गठन सम्भव होला त?

– हाम्रा सभापतिजी पार्टी संसदीय दलको निर्वाचन होस् भन्ने पक्षमा हुनुहुन्थेन, संसदीय दलको नेतालगायतका मामला सर्वसहमतिबाटै टुङ्ग्याउने सदासयताका साथ सबै नेतालाई यथोचित मिलाएर जान्छु भन्दाभन्दै पनि नेताहरू मान्नुभएन र निर्वाचनको माध्यमबाट नेता छान्नुपर्ने परिस्थिति आइपर्यो। चुनाव हुँदा सभापति कोइरालाले नै जित्नुहुन्छ भन्ने त सबैलाई राम्रोसँग थाहा थियो पनि। तर, यसले केही बिगारेको छैन, लोकतान्त्रिक अभ्यास भएको छ, राम्रै भयो। उहाँले सबैलाई मिलाएर सन्तुलित रूपमा पार्टी अगाडि बढाउँछु भन्नुभएको छ, त्यसैअनुसार भइहाल्छ। उहाँ पार्टी सभापति हो र संसदीय दलको निर्वाचित नेता पनि। कसैले पनि पार्टीभित्र एउटा गुटको मात्रै राजनीति सम्हालेर त काम चल्दैन। एउटै पार्टी भएपछि यसरी सधैँ गुट र भागबण्डाको राजनीति गरेर कसरी काम चल्छ? कसरी पार्टीको हित हुन्छ? यो कुरा पार्टीका सबै तह र तप्काका नेताहरूले मनन गर्नुपर्छ। रह्यो कुरा बाह्य सहमतिको, यसमा पनि सुशील कोइरालाज्यूले दिल खोलेर प्रयत्न गर्नुहुनेछ। तसर्थ, समय–सीमाभित्रै सहमतिको सरकार हुने आशा मैले गरेको छु।

० मन्त्री बन्ने–बनाउनेमा पनि यसपटक पार्टीमा भागबण्डाको कुरा आउँदैन त त्यसोभए?

– हामीहरू एकताबद्ध रूपमा प्रस्तुत हुनुपर्छ। निर्वाचनको सन्देश पनि यही नै हो कि भागबण्डाको कुरा होइन सबै एक भएर संविधान निर्माणको काममा जुट्नुपर्छ।

० देउवाले संसदीय दलको नेतामा हारे पनि पार्टीमा पकड त झन् दह्रो बनाए भन्छन् नि मानिसहरू, तपाईंचाहिँ यसमा के भन्नुहुन्छ?

– यस्ता कुराको खासै अर्थ छैन। नभए पनि हुने निर्वाचन भयो, एकजना विजयी बने र स्वभावतः अर्का उम्मेदवारले पराजय व्यहोर्नुपर्योर। अब जित्नेले हार्नेको विश्वास लिएर काम गर्छु भन्ने हो र हार्नेले पनि जित्नेलाई म पूर्ण रूपमा सहयोग गर्छु भन्ने हो। कसको कति मत आयो भनेर बहस गर्नुको कुनै तुक छैन। त्यसमाथि पनि यो आफ्नै पार्टीको आन्तरिक निर्वाचन हो, कुनै अन्य दलसँगको प्रतिस्पर्धा भए पो मतको तुलना गरेर जोड–घटाउ गरिरहनु। पार्टीमा गुटगत प्रतिस्पर्धा गर्दा विगतमै हाम्रो पार्टीले मूल्य चुकाइसकेको छ। अब पनि गुट र भागबण्डाको कुरा गर्नु आत्मघाती हुनेछ। पार्टीसदस्य सबै काङ्ग्रेस हुन्, सबैलाई यथोचित जिम्मेवारी दिनुपर्छ र जिम्मेवारी पाउनेले पनि निष्ठा र अनुशासनमा रही काम गर्नुपर्छ। हाम्रो हार्दिक आग्रह हुनेछ कि अब भोट गन्ने कुराभन्दा वर्तमान परिस्थितिप्रति संवेदनशील हुँदै एकताबद्ध रूपमा अगाडि बढौँ। मेरो भोट यति बढ्यो या यति घट्यो भन्ने कुराको बहसले पार्टीमा झन् तिक्तता बढाउने भएकाले यस्तो चर्चा नै निषेध गरिँदा राम्रो हुन्छ। हाम्रा वरिष्ठ नेता देउवाजी तीनपटक प्रधानमन्त्री भइसक्नुभएको हुनाले उहाँले यस्ता कुरामा विचार पुर्याीउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ। तिक्तताको राजनीति उहाँले अगाडि बढाउनुहोला जस्तो लाग्दैन।

० त्यसोभए अब काङ्ग्रेसबाट सुशील कोइराला नै प्रधानमन्त्री बन्नुहुनेछ, यसमा सन्देह छैन?

– यो त स्पष्ट छ नि ! पार्टीको निर्वाचित सभापति, निर्वाचित संसदीय दलको नेता भएपछि अन्यथा सोच्ने त कुरै आउँदैन अब।

० कोइराला प्रधानमन्त्री बन्नका लागि संसद्मा बहुमत चाहियो, एमालेले बाङ्गो कुरा गरिरहेको छ, अनि कसरी ढुक्क हुनुहुन्छ तपाईंहरू?

– सबै पार्टीको सहमतिमा हाम्रो पार्टीसभापति प्रधानमन्त्री बन्नुहुनेछ भन्ने विश्वास फेरि पनि दोहोर्या उन चाहन्छु म। यदि सबै दलको सहमति भएनछ भने पनि धेरै समय अब पर्खिबस्नु उचित हुँदैन, धेरै ढिला भइसकेको छ। त्यस्तो अवस्थामा राष्ट्रपतिले संसद्लाई आह्वान गर्नुहुनेछ प्रधानमन्त्री चुनेर पठाउनका लागि, त्यसअनुसार संसद्मा प्रक्रिया अघि बढ्छ र बहुमतीय आधारमा चयन गरिनेछ। तर, हामी संविधान बनाउन गइरहेका छौँ। यसैले हाम्रो चाहना छ कि सहमतिबाटै सरकार निर्माण होस्। यत्ति कुराचाहिँ म फेरि पनि प्रस्ट पार्न चाहन्छु कि सहमतीय होस् या बहुमतीय, अबको सरकार काङ्ग्रेसकै नेतृत्वमा बन्नेछ र त्यसको नेतृत्व काङ्ग्रेस सभापति सुशील कोइरालाले नै गर्नुहुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको