इतिहासले दिएको अवसर र चुकेका नेताहरू :: शिवजी श्रेष्ठ

१९ माघ २०७०, आईतवार ०३:०० मा प्रकाशित

कुनै दिन नेपाली राजनीतिका ‘प्ले मेकर’ अर्थात् केन्द्रीय खेलाडीका रूपमा राजनीतिका केन्द्रबिन्दुमा रहेका डा. तुलसी गिरी आज कतै गुमनाम जीवन बिताइरहँदा कुनै दिन उनकै सहायक भएर कार्य गरेका (तुल्सी गिरी बीपी–सरकारको परराष्ट्रमन्त्री रहँदा) सुशील कोइराला नेपाली राजनीतिका केन्द्रबिन्दु बनेका छन्। सायद नियतिलाई आज यो दिन देख्नु थियो, त्यसैले ०१७ साल भदौमा बीपी सरकारबाट राजीनामा दिएर डा. गिरी राजा महेन्द्रको ‘रोडम्याप’मा हिँड्ने तयारी गर्दै गर्दा उनका निजीसचिवको रूपमा काम गरे पनि उनीसँग ‘सती’ नगएर बीपीसँगै रहे। सायद गत आइतबार नेपाली काङ्गे्रसको संसदीय दलको निर्वाचनको परिणाम आउँदै गर्दा काठमाडौंको कुनै कुनामा बसेर डा. गिरी यिनै कुराहरू पुनः स्मरण गर्दै थिए होलान्।

कुनै समय, समयलाई नै आफ्नो वरपर घुमाउन खोज्नेहरू पछि समयसँगै घुम्न नसक्दा आकस्मिक विस्मृतितिर गएका पात्र प्रशस्तै छन्। एक समय नेपाली राजनीतिमा हस्तीका रूपमा पहिचान बनाउँदै विश्वेश्वरप्रसाद कोइरालासँग काङ्गे्रस सभापति ओहोदाका लागि पौंठेजोरी खेल्दै अलग पार्टीसमेत बनाएका केदारमान व्यथित पछि मन्त्री त भए तर राजनीतिबाटै विस्मृतसमेत भए। यस्तै भएको थियो, ०१५ सालको आमनिर्वाचनमा क्षेत्र नं. ३ भोजपुर दक्षिण क्षेत्रमा नेकाबाट निर्वाचित सांसद भूदेव राईमाथि पनि। उनले पार्टी सभापति बीपीसँग प्रतिस्पर्धा गरेका थिए, जो ०१६ सालमा नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा गिरिजाप्रसाद कोइरालाभन्दा वरिष्ठ भएर मनोनीत भएका थिए। तर, राजनीतिमा हुनुपर्ने धैर्यता गुमाउँदा ०३८ सालको रापंस निर्वाचनमा चौथो स्थानमा झर्दै गुमनाम भएर हराए।
अरू त अरू ०२८ भदौ २९ गते चितवनमा शेरबहादुर देउवालाई अध्यक्ष निर्वाचित गर्ने नेपाल विद्यार्थी सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्ने हैसियत राखेका नेपाली काङ्गे्रसका वरिष्ठ नेता बखानसिंह गुरुङ, जसले ०३६ फागुन २९ मा बीपीले विमलेन्द्र निधि अध्यक्ष निर्वाचित गरेको नेविसङ्घको तेस्रो अधिवेशन उद्घाटन गर्नु दुई दिनअगावै २७ फागुनमा कुलबहादुर कार्कीलाई अध्यक्ष बनाउँदै नेविसङ्घको तेस्रो अधिवेशन उद्घाटन मात्र गरेनन्, सूर्यप्रसाद उपाध्यायको समेत समर्थनमा बीपीको समानान्तर नेका अध्यक्ष भएर बसे। तर, कालान्तरमा पञ्चायतको मन्त्री हुँदै राजनीतिबाटै विस्मृत भएर गए, तर बीपी सदा नेपाली राजनीतिमा छाइरहे।
यस्तै अर्का युगका राजनीतिक खेलाडी छन्, ती कतै अलमलिएर कहिले अत्तालिएर अहिले कतै दूरदराजमा बसेर यी राजनीतिक परिदृश्यका साक्षी बनिरहेका छन्। जसलाई अगाडि ल्याउन बीपी कोइरालाले आफ्नै भाइ गिरिजाप्रसाद कोइरालालाई थमथम्याउनु परेको थियो, ती पात्र हुन्– विश्वबन्धु थापा। आकाङ्क्षी गिरिजाप्रसाद कोइरालालाई थमथम्याएर बीपीले उनलाई मोरङ पार्टी सभापति बनाउनुभो। अनि राजनीतिमा यति धेरै अगाडि बढाइदिनुभयो कि बन्धु त पात्तिएर बीपीभन्दा पनि अगाडि बढ्ने क्रमभङ्गताका साथ पञ्चायतको पहिलो मन्त्री नै बनिदिए। तर, उनले हेर्दाहेर्दै उनका लागि धैर्यका साथ ठाउँ छाडिदिने गिरिजाप्रसाद कोइराला आजीवन नेपाली राजनीतिका केन्द्रबिन्दु बनिरहे, जसको अन्तिम वाणी फुसफसाएको सुन्नका लागि कान थाप्न अरू त अरू माधव नेपाल र प्रचण्डसमेत अन्तिम क्षणसम्मै मण्डिखाटार धाइरहे।
आज यही राजनीतिको निरन्तरताबीच सुशील कोइराला नेपालको महत्त्वपूर्ण क्षणमा महत्त्वपूर्ण जिम्मेवारी पाउन सफल हुँदै छन्। आफ्नो जीवनको लामो अनि कठिन राजनीतिक यात्रा पार गरेर यहाँसम्म आइपुग्ने क्रममा धेरै–धेरै सहभागी भेटिए, छुट्टिए, आरोह–अवरोहहरू भोगे। यही सहयात्रीहरूको यात्राका एक साक्षी पनि हुन् उनी। हतार गरेर हिँड्न खोज्ने यात्रीहरूको असामयिक रूपमा टुङ्गिएको यात्राको मात्र होइन कि धैर्यता र निष्ठा भएका यात्रीका अनवरत यात्राका साक्षी पनि हुन् उनी। चाहे बीपी हुन् वा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हुन् वा मनमोहन अधिकारी, गिरिजाप्रसाद हुन् वा पुष्पकमल दाहाल, यिनीहरूको यात्रामा साथ पनि रहे, कतिका यात्राका दर्शक पनि भए, कतिले पाएका अवसर पनि देखे, कतिले गुमाएका अवसर पनि देखे उनले। कति यिनै राजनीतिक यात्राका यात्रीका पश्चात्ताप पनि सुने वा महसुस गरे उनले।
आज त्यही सुशील कोइराला उही स्थानमा पुगेका छन्– जहाँ हिजो अरू कोही पुग्दा आफू साक्षी बनेका थिए। अब उनले सोच्नैपर्ने, महसुस गर्नैपर्ने र प्रतिबद्ध हुनैपर्ने क्षणमा उनी आइपुगेका छन्। नेपाली राजनीतिक परिदृश्यमा कतिले अवसर पाए, कतिले प्रयास गरे अनि कतिले अवसर त्यत्तिकै खेर फाले। यी कुरा सुशील कोइरालाबाट छिप्ने कुरै भएनन्। भनिन्छ, बहुदलीय व्यवस्थाको पुनर्स्थापनापश्चात् दुई शिखर व्यक्तित्वले ऐतिहासिक अवसर पाए– ती हुन् गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल। तर, उनीहरूले ती अवसरलाई ऐतिहासिक बनाउन सके–सकेनन्, जगजाहेरै छ। प्रश्नहरू धेरै उठेका छन्– तीस वर्षसम्म पञ्चायतविरुद्ध अनवरत लडेका, बन्दुकसमेत बोकेका गिरिजाप्रसाद कोइराला शक्तिमा आइपुग्दा न त पारिवारिक जिम्मेवारीमा थिए न त कसैप्रति उत्तरदायी। उनले व्यक्तिगत रूपमा पनि कसैका लागि सोच्नुपर्ने अवस्था थिएन। तीस वर्ष लडेको एउटा ऐतिहासिक ‘लिगेसी’ बोकेर आएका कोइरालामाथि सबैको भरोसा मात्र होइन, उनले चाहे जे पनि गर्न सक्छन् भन्ने आशा पनि थियो। त्यसपछिका पात्रहरू ‘आउने र जाने’ भन्दा पर केही हुनै सकेनन्। तब शक्ति र अवसरमा आए, तीस वर्ष भूमिगत र दश वर्ष प्रत्यक्ष ‘जनयुद्ध’को नेतृत्व गरेर आएका पुष्पकमल। श्रीमती र छोरालाई सँगसँगै जङ्गल र सेल्टरमा लिएर हिँडेका, सम्पत्ति पार्टीलाई बुझाएका दाहालले चाहे जे पनि गर्न सक्ने अपेक्षालाई थाती राख्दै तीन ‘पति’ झिनामसिना ‘सेरोफेरो’मै अल्मलिएर उनी केन्द्रबाट बाहिरिए। इतिहासले दिएको दुर्लभ अवसरमाथि उनले न्याय गर्न सके–सकेनन् उनी आफैँले पनि बुझेका छन्। इतिहासले दिने थोरै अवसर, धेरथोर व्यक्तिले मात्रै पाउँछन्, त्यसरी पाएका अवसरप्रति अति कम व्यक्ति मात्रै न्याय गर्न सक्षम हुन्छन्।
आमइतिहासको यही सेरोफेरोमा नेपाली राजनीतिमा पटकपटक ‘प्लेमेकर’को रूपमा रहे पनि ‘फिनिसिङ’को भूमिकामा पहिलोपटक आउन लागिरहेका सुशील कोइरालाले पाउँदै गरेको अवसरलाई कति न्याय गर्न सक्लान्? त्यसले समग्र नेपालको भविष्य निर्धारण मात्र गर्दैन कि इतिहासमा सुशील कोइरालाको स्थानसमेत निर्धारण गर्दछ। हिजो गिरिजाप्रसाद कोइरालाले समयमै सोच्न नसकेको कुरा आज सुशील कोइरालाले सोच्नु आवश्यक छ, अनि पुष्पकमल दाहालले निर्धारण गर्न नसकेको प्राथमिकता आज उनै कोइरालाले निर्धारण गर्नुपरेको छ। पारिवारिक दायित्वबाट मुक्ति पाएको गिरिजाप्रसाद कोइराला र परिवारलाई नै जनयुद्धमा होमेको पुष्पकमल चुकेको ठाउँमा सुशील कोइराला चुक्नुहुन्न।
समयमै प्राथमिकता निर्धारण गर्न सकेको भए, अनि पारिवारिक दायित्वबाट माथि उठ्न सकेको भए माथिका नेताहरूका व्यक्तिगत, पारिवारिक मात्र होइन पार्टीगत राजनीतिसमेत धेरै माथि उठ्ने थियो। यी नेताभन्दा अझ फरक सुशील कोइराला, जसको न कुनै पारिवारिक दायित्व छ न त मोह नै छ। तब उनले सिंहदरबार जानुअघि र बालुवाटार पस्नुअघि सोच्नैपर्ने हुन्छ कि आफूले पाउनुपर्ने र गुमाउनुपर्ने कुरा नै के छ र? तसर्थ, नेपाली राजनीतिमा पाउन र नगुमाउनका लागि हुने खेलबाट माथि उठेर आफ्नो दायित्व बुझ्दै सिंहदरबार पस्नुअघि नै प्राथमिकता निर्धारण गर्न सके भने सुशील कोइरालाको स्थान अलग्गै बन्न सक्ने निश्चित छ। होइन भने सिंहदरबारमा एउटा नयाँ फोटो थपिनेभन्दा फरक के हुन सक्ला? समयले आफैँ निर्धारण गर्ने नै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का