ओलावालेको ह्याट्रिकमा संकटा विजयी

१८ माघ २०७०, शनिबार ०५:०९ मा प्रकाशित

काठमाडौं / लिगमा पहिलो ह्याट्रिकसहित ४ गोल गर्दै नाइजेरियन खेलाडी ओलाडिपो ओलावाले आफिज नायक बनेपछि संकटा क्लब एपीएफमाथि एकपक्षीय दबाब कायम राख्दै सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लियो । उपाधिको दाबेदार मानिएको एपीएफ संकटासँग ४–१ ले पराजित भएसँगै दोस्रो स्थानको थ्री–स्टारसँग अंक बराबरी गर्ने मौकाबाट वञ्चित भयो ।
पहिलो हाफको २०औं मिनेटमा डिफेन्डर र गोलरक्षकको तालमेल नमिलेको मौकामा ओलावालेले टिमलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै ओलावालेले नै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेका उनले दोस्रो हाफमा थप २ गोल गरे ।
दोस्रो हाफको ५८औं मिनेटमा वर्षात् गुरुङले निकालेको पासलाई ओलावालेले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि पनि उनले एपीएफको पोस्टमा प्रहार जारी राखे । उनले चौथो गोल खेल सुरु भएको ७४औं मिनेटमा सम्भव बनाए । एपीएफका लागि सन्तोष श्रेष्ठले ८३औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
अर्को खेलमा हिमालयन शेर्पाले जावलाखेललाई पराजित गर्दै सुपर–६ को सम्भावना कायमै राख्यो । शुक्रबार भएको खेलमा शेर्पाले जावलाखेललाई ४–१ ले पराजित गर्‍यो । पहिलो हाफमा आत्मघाती गोलबाट अग्रता लिएको शेर्पाले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । नवौं मिनेटमा सुरज हमालले गरेको क्रसलाई नुरराज काफ्लेले क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि शेर्पा सुरुआती अग्रता कायम गर्न सफल भयो । यद्यपि, ४१औं मिनेटमा प्रदीप महर्जनले गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ बराबरी गरे पनि दोस्रो हाफमा जावलाखेल शेर्पासँग दबाबमा पर्‍यो । शेर्पाका सेगुन एइतायोले ५१औं मिनेटमा फ्री–किक प्रहार गर्दै टिमको अग्रता दोब्बर बनाए । सेगुनले नै ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शेर्पा ३–१ ले अघि रह्यो । टिमका लागि चौथो गोल लक्ष्मण रुचालले गरेका थिए ।
खेलपछि शेर्पाका प्रशिक्षक विकास गौचनले सुपर–६ गाह्रो भएको अवस्थामा पाएको जितले टिमको सम्भावना बढेको बताए । उनले सेगुनले राम्रो प्रदर्शन गरेको पनि बताए । जावलाखेलका प्रशिक्षक किशोर केसीले टिम १ अंकका लागि मैदानमा उत्रिए पनि जित्न नसकेको बताए । उनले टिमको १० अंक रहेको र आगामी खेल पनि आरसीटीसँग रहेकाले त्यो खेल जित्दै रेलिगेसन टार्ने बताए । उनले भने, ‘हाम्रो महत्त्वपूर्ण खेल आरसीटीसँग छ । यद्यपि, त्यो खेलमा पनि हामी हार्‍यौं भने खुसीसाथ रेलिगेसन स्वीकारे हुन्छ ।’ उनले गोलरक्षकको गल्तीले गर्दा टिम थप दबाबमा परेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चर्चितत अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ । क्याटलन फुटबल क्लबले हिजो एक विज्ञप्ती जारी गर्दै

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको