सुशील कि रामचन्द्र ? -देवप्रकाश त्रिपाठी

७ बैशाख २०६९, बिहीबार १९:४६ मा प्रकाशित

जवाफ विधिसम्मत हुनसक्छ तर प्रश्न कानुन या संविधानअनुरूपकै हुनुपर्छ भन्ने छैन र प्रायः त्यस्तो हुँदैन पनि । विधिसम्मत हुने हो भने बाबुराम भट्टराईपछिका प्रधानमन्त्री सुशील कोइराला कि रामचन्द्र पौडेल भनेर प्रश्न उठ्ने थिएन, विधानले संसदीय दलका नेता प्रधानमन्त्रीका उम्मेदवार बन्ने किटान गरेको छ । विधानले किटान गरेको भए पनि राजनीतिले गरेन, त्यसैले प्रश्न उठ्यो या उठाइयो– सुशील कि रामचन्द्र ?
नेपाली काङ्गे्रसका दुवै नेताहरू प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्न योग्य, सक्षम र उपयुक्त मानिनुहुन्छ । सुशील कोइरालाको इमानदारी, अति साधारण जीवनशैली र स्वच्छ छवि सर्वहाराका अनुयायी दाबी गर्ने कम्युनिस्ट नेताहरूलाई लज्जित तुल्याउने प्रकारको छ, लज्जा भन्ने गुण–तवबाट मुक्त नभएसम्म कुनै पनि व्यक्ति खाँटी कम्युनिस्ट बन्न सक्दैन यो बेग्लै पक्ष हो । देशमा दुःखी गरिबको वकालत गर्ने भन्दै खुलेका दर्जन कम्युनिस्ट पार्टीहरूको बिगबिगी चलिरहेको यस्तो समयमा वास्तवमै योगी–सर्वहाराको जीवन बाँचिरहनुभएका सुशील कोइरालालाई आफ्नो प्रमुख नेताको रूपमा प्रस्तुत गर्न पाउनु ‘बुर्जुवा’ वर्गको प्रतिनिधित्व गर्ने आरोप खेपिरहेको काङ्गे्रसका निम्ति सुखद संयोग मान्नुपर्छ । देश, प्रजातन्त्र, मानवअधिकार र पार्टीका निम्ति समर्पित सुशील कोइरालाजस्ता कर्तव्यनिष्ट सन्त पुरुषलाई सभापति बनाएर काङ्गे्रस पार्टीले कम्युनिस्ट पार्टी र तिनका सुखसुविधापे्रमी नेताहरूमाथि दह्रिलो व्यङ्ग्यवाण चलाएको मानियो भने त्यो गलत हुनेछैन । उहाँको नेतृत्वमा काङ्गे्रस, प्रजातन्त्र र मुलुकले नयाँ छलाङ मार्ने विश्वास गरिएको छ । छलाङ मार्न सकिएनछ यदि भने पनि भ्रष्टाचार, छलछाम र अधिनायकवादका सामु काङ्गे्रसका नेताका रूपमा सुशील कोइरालाको उपस्थिति मात्र आफैंमा गौरवपूर्ण छ । उहाँ कसैले उपहारस्वरूप दिने पद र पैसाको वशमा कहिल्यै पर्नुभएको छैन र अब झन् त्यस्ता कुराले प्रभाव पार्ने
विश्वास गर्न सकिँदैन । हाताहाती नगद र उधारोमा पद बाँडेर प्रचण्डहरूले जसरी आफ्नो स्वार्थ सिद्धि गर्दै आएका थिए काङ्गे्रस सभापतिका रूपमा सुशील कोइरालाको उदय भएपछि तिनको अस्त्र नै भुत्ते भएको छ । गिरिजाप्रसाद कोइरालालाई काबुमा राख्न प्रयोग भएका कुनै पनि हतियारले सुशील कोइरालालाई छुँदै छुन सकेन, त्यसैले शान्ति, संविधान र लोकतन्त्रका पक्षमा आउन माओवादीलाई बाध्य पारेको छ, बाध्य तुल्याउँदै लगेको छ । सत्ताका कुरा गर्नेहरूलाई सुशीलले पहिले शान्ति र संविधान त्यसपछि मात्र सत्ताको कुरा गरौँला भन्दै तिनका मुखमा भोटेताल्चा झुन्ड्याइदिनुभयो, परिणामतः प्रचण्ड–बाबुरामहरू चुपचाप शान्ति र संविधानका पक्षमा आउन बाध्य भइरहेका छन् । तर, उनीहरू सुशीलसँग यसको बदला लिने कसरतमा छन् । यस्तो आदर्शवादी एवम् सिद्धान्तवादी नेतालाई नालायक एवम् अयोग्य प्रमाणित नगरेसम्म आगामी निर्वाचनमा समेत प्रतिकूल प्रभाव पर्ने ठानेर हुनसक्छ, माओवादीहरू उहाँको आदर्शपूर्ण उचाइलाई गल्र्यामगुर्लुम ढाल्ने उपायको खोजीमा जुटेका छन् । सुशील कोइरालालाई एकपटक प्रधानमन्त्री नबनाईकन उहाँको कद घटाउन र काङ्गे्रसलाई कमजोर तुल्याउन सकिँदैन भन्ने ठहर भएपछि प्रचण्डहरू सुशील कोइरालालाई जसरी भए पनि प्रधानमन्त्रीको कुर्सीमा पु¥याउन कटिबद्ध भएका छन् । सुशील कोइरालालाई प्रधानमन्त्री बनाई सिंहदरबारको एउटा कुनै कोठामा थन्क्याउन सक्दा त्यसको राजनीतिक लाभ आफूहरूले लिनसक्ने विश्वास प्रचण्डहरूमा पलाएको हुनुपर्छ, उनीहरू हरतरहले कोइरालालाई प्रधानमन्त्री बनाउन लागिपरेका छन् । प्रचण्डले आफ्नो गन्तव्य भेदन गर्न यसअघिझैं अहिले पनि नेपाली काङ्गे्रसको सदस्यता प्राप्त गरी महामन्त्रीको पदीय हैसियत पड्काउन सफल एक व्यक्तिलाई उपयोग गरिरहेका छन् । सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सफल भएमा आगामी आमनिर्वाचनमा विजय निश्चित गराइने र गृहमन्त्री बन्नसमेत सहयोग प्राप्त हुने प्रचण्डहरूको आश्वासनपश्चात् नक्कली महामन्त्रीलगायतका केही व्यक्तिहरू सुशील कोइरालालाई अनेक ढङ्गले जालमा पार्न क्रियाशील देखिँदै छन् । प्रधानमन्त्री बन्ने अवसर कुनै पनि व्यक्तिका निम्ति जीवनको सर्वाधिक सुन्दर मौका हुनसक्छ, तर सुशील कोइराला प्रधानमन्त्रीको पदभन्दा धेरै उचाइका व्यक्तित्व हुनुहुन्छ, त्यसैले तरबारको किस्तीमा राखेर उपलब्ध गराउन खोजिएको प्रधानमन्त्री पदलाई टाढैबाट नमस्कार गरेर कोइरालाले प्रजातन्त्र र काङ्गे्रस जोगाउने भूमिकामा केन्द्रित रहनु नै उपयुक्त हुने उहाँका शुभचिन्तकहरूको ठम्याइ छ । आफ्नो या आफ्नो पक्षविशेषको निम्ति लाभदायक नतिजा प्राप्त हुने विश्वास भयो भने माओवादी कम्युनिस्ट नेताहरू धरहराको बार्दलीमा उभिएर सूर्यलाई चन्द्रमा र चन्द्रलाई सूर्य नै हो भनी माइक लगाएरै भन्न सक्छन् । त्यस्तै, कसैको प्रशंसा या गाली जे गर्दा पनि उनीहरू आफ्नै हितलाई केन्दबिन्दुमा राखेर गर्ने गर्छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने कुरा गरिरहँदा पनि उनीहरूले त्यसमा आफ्नै लाभ देखेका थिए । प्रचण्डहरूले गिरिजाप्रसादलाई बन्द कोठाभित्र राजनेताको पगरी गुथाउँदै भावी राष्ट्रपति बनिदिन अनुनयविनय गरे, गिरिजाप्रसादले आफू दलगत भावनाभन्दा माथि उठिसकेको बताउँदै काङ्गे्रसका निम्ति चुनाव प्रचारमा नजाने घोषणा गरिदिनुभयो । माओवादीका निम्ति चुनाव कुनै पवित्र कार्य नभई एउटा सङ्घर्ष मात्र हो, जहाँ जसरी भए पनि विजय प्राप्त गर्नुपर्छ । निर्वाचनजस्तो पवित्र कार्यलाई समेत सङ्घर्षको रूपमा परिभाषित गरी हरतरहले जित्नुपर्ने दर्शन बोकेका माओवादीले चुनावी सरकारप्रमुखको रूपमा सुशील कोइरालाको नाम इमानदारीपूर्वक प्रस्तुत गर्ने विश्वास गर्नुहुँदैन । कदाचित प्रस्ताव गरेछन् भने त्यो पनि उपयोगवादी कपटपूर्ण चालबाजीबाहेक अरू केही होइन भन्ने बुझ्न जरुरी हुन्छ । नेपालका पचहत्तर जिल्लामध्ये झापा या त्यस्तै कतैका मानिसले प्रधानमन्त्री बन्ने–बनाउने कुरा गरेका छन् भने तिनले विगतमा गिरिजाप्रसादलाई काङ्गे्रस, प्रजातन्त्र र देशका पक्षमा उपयोग गरेका थिए कि विदेशी, अधिनायकवादी र माओवादीलाई सघाउ पुग्ने भूमिका निर्वाह गरेका थिए भन्नेबारेमा मनन गरिन आवश्यक छ । राष्ट्रपति पद र नोवल पुरस्कारको सपना देखाई–देखाई गिरिजाप्रसाद कोइराला, काङ्गे्रस र प्रजातन्त्रलाई एकसाथ सङ्कटको भुमरीमा पार्नेहरूले अहिले सुशील कोइरालालाई ठीक त्यसैगरी उपयोग गर्ने रणनीतिअनुरूप काम गरिरहेको बुझ्न सुशील कोइरालाले ढिलो गर्नुहुँदैन । अधिनायकवादीहरू आफ्नोबाहेक अरूको स्वतन्त्रताको कल्पना गर्न सक्दैनन् । अधिनायकवादी शासनसत्ता र स्वभावको दास भूमिका निर्वाह गरिरहेका मानिसलाई स्वतन्त्र जीवन प्रिय हुँदैन । एक समय राजा शक्तिमा रहँदा राजभक्तिको गीत गाउँदै आफ्नो सुरक्षित भविष्य खोज्नेहरू माओवादीको उदयपश्चात् गणतन्त्र घोषणा हुँदानहुँदै प्रचण्डको चरणमा आफूहरूलाई समर्पण गर्नुको कारण पनि त्यही हो । परिस्थिति र पात्र बदलिए पनि प्रवृत्ति बदलिन मुस्किल हुन्छ, त्यसैले पाउ राजाको होस् कि महिषपूजक प्रचण्डको, उनीहरूका निम्ति बराबरी हो । सुशील कोइरालालाई पनि गिरिजाप्रसादझैं उपयोग गरी काङ्गे्रस र प्रजातन्त्रको बाँकी बचेको खासियत ध्वंश गर्ने प्रयास भइरहेको यथार्थ बुझ्न कोइरालाले सक्नुभएन भने त्यो देश, प्रजातन्त्र र काङ्गे्रसका निम्ति निर्णायक खतिको कारण बन्नसक्नेछ ।
रामचन्द्र पौडेल काङ्गे्रसभित्र एक स्वच्छ छविको बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ । संसदीय दलको नेतासमेत रहनुभएका पौडेलले पार्टी निर्णयलाई जस्ताको त्यस्तै पालना गर्ने क्रममा प्रधानमन्त्री पदमा उम्मेदवारी दिई सत्रपटकसम्म पराजय व्यहोर्न तयार हुनुभएको यथार्थलाई यो मुलुकको इतिहासले कहिल्यै मेट्न सक्ने छैन । पराजित हुने जान्दाजान्दै पनि सत्रपटकसम्म चुनावी दौडमा सामेल भएर रामचन्द्रले विधिवत् सत्ताकब्जा गर्ने प्रचण्डको प्रयासलाई छेकबार लगाउनुभएको हो । त्यसबेला रामचन्द्रजीले व्यक्तिगत मुद्दा बनाएर चुनावबाट पछि हट्नुभएको भए झलनाथ होइन प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित थियो । एकपटक सत्ताकेन्द्रमा पुग्न सके भने अब प्रचण्डलाई सहज र सरल किसिमबाट बाहिर ल्याउन सकिँदैन भन्ने हामी सबैले जाने–बुझेको कुरा हो । रामचन्द्र पौडेल एक देशभक्त र खाँटी प्रजातन्त्रवादी चिन्तक हुनुहुन्छ । उहाँलाई गिरिजाप्रसाद या अरू कसैलाई झैं प्रचण्ड या कुनै झापाली र स्याङ्जालीले सजिलै उपयोग गर्न पनि सक्ने छैनन् । करप्सनका कीराहरूले झन् रामचन्द्रको नाम सुन्न पनि नचाहेको अवस्था छ । त्यसैले प्रचण्ड, बाबुरामलगायतका व्यक्ति तथा समूहहरूले रामचन्द्र पौडेलको नाम सम्भावित प्रधानमन्त्रीको सूचीमा राख्न चाहेका छैनन् । कुनैबेला शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सपना देखाउँदै काङ्गे्रसभित्र खेल्नेहरूले नै अहिले सुशील कोइराला र रामचन्द्र पौडेलबीच विभाजनको रेखा कोरी काङ्गे्रसलाई थप कमजोर तुल्याउने भूमिका निर्वाह गरिरहेका छन् । यसअघि शेरबहादुर देउवा उचालिँदा सभापति सुशील कोइरालाले संसदीय दलको विधान देखाउँदै प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा विवाद र बहस गरिरहन आवश्यक नरहेको जवाफ दिने गर्नुहुन्थ्यो । उहाँको यही जवाफका कारण माओवादी उक्साहटमा उत्साहित देउवाले समेत रक्षात्मक बन्नुपरेको थियो । रामचन्द्र पौडेल प्रधानमन्त्री बन्दा सुशील कोइरालाको उचाइ बढ्ने मात्र होइन माओवादीको चालबाजी असफल हुने पनि निश्चित मानिन्छ । एउटा मूल्य–मान्यता र पार्टीसमेतका लागि सत्रपटकसम्म पराजित हुन तयार भइदिएका व्यक्तिलाई प्रधानमन्त्री बन्न सहयोग गर्दा त्यसले राजनीतिमा न्यायको मान्यता स्थापित गर्नेछ । काङ्गे्रस पार्टीभित्र कायम सन्तुलनलाई बिथोलिन नदिन पनि प्रधानमन्त्रीका रूपमा पौडेललाई अगाडि सार्नु उपयुक्त देखिन्छ । सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलबीचको विश्वास र समझदारीले काङ्गे्रसलाई सुस्पष्ट दिशाबोध गराउँदै आएको छ भने त्यस किसिमको विश्वास र समझदारीलाई निरन्तरता दिन पनि प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई प्रस्तुत गर्नु उपयुक्त हुनसक्छ । प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्न सुशील कोइराला पनि सक्षम र योग्य हुनुहुन्छ, ठीक यतिबेला कोइरालालाई अघि सारेर आफ्ना निहित आकाङ्क्षा पूरा गर्ने खेतीपातीमा प्रचण्डहरू लागेका कारणले मात्र रामचन्द्र पौडेललाई नै प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नु उपयुक्त ठानिएको हो । काङ्ग्रेसमा सुशील कोइराला र रामचन्द्र पौडेल दुवैलाई प्रधानमन्त्रीका निम्ति उपयुक्त ठानिन्छ । उहाँहरूले नचाहेको अवस्थामा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार डा. रामशरण महतलाई हेर्न थालिएको छ । काङ्ग्रेसको संरक्षक र अभिभावकीय भूमिकासमेत निर्वाह गरिरहनुभएका सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने माओवादी इच्छामा रहेको खोट पत्ता लगाउने चासो आमप्रजातन्त्रप्रेमीहरूले दर्शाउन आवश्यक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका