राजसंस्थासहितको प्रजातन्त्र : राप्रपा नेपाल

१७ माघ २०७०, शुक्रबार ०५:४६ मा प्रकाशित

काठमाडौं, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको छ । राप्रपा नेपालको बिहीबार सम्पन्न राष्ट्रिय सम्मेलनले राजसंस्थासहितको प्रजातन्त्रबाहेक अर्को विकल्प नरहेको प्रस्ताव पारित गरेको हो ।
संविधानमा राजसंस्थाको पूर्णरूपमा अन्त्य भएकाले मुलुक संघीय गणतन्त्र भएको उल्लेख भए पनि राप्रपा नेपालले भने राजसंस्थासहितको प्रजातन्त्रको परिकल्पनालाई अगाडि सारेको छ । राप्रपा नेपालले आफूले अघि सारेको नयाँ प्रस्तावबारे संविधानसभामा बहस गर्ने सम्मेलनले निष्कर्षसमेत निकालेको छ ।
उसले पार्टीले अवलम्बन गरेको पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र उदार आर्थिक नीतिको सिद्धान्तलाई अगाडि बढाउने जनाएको छ । राष्ट्रिय सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेको छ । हिन्दूराष्ट्रको पुनःस्थापना, भ्रष्टाचार निवारण, बेरोजगारी समस्याको समाधान, लोडसेडिङ अन्त्यलगायत जनहितका अन्य विषयहरूलाई लिएर संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सम्मेलनले पार्टीको विचार र नीतिलाई समयानुकूल व्याख्या, विश्लेषण गर्दै लग्ने, पार्टीमा युवापुस्तालाई आकर्षित गर्ने नीति सशक्त रूपमा कार्यान्वयन गरिने, आर्थिक विकासका एजेन्डालाई उच्च प्राथमिकतामा राख्ने, पार्टीको प्रभाव विस्तारका लागि सदन र सडक दुवैलाई प्रयोग गर्ने नीति कायम राख्ने, पार्टीको आन्तरिक प्रशिक्षण कार्यलाई प्रभावकारी बनाउने भएको छ ।
अब हुने स्थानीय निकायको निर्वाचनमा कम्तीमा एक तिहाइ स्थानमा विजय हात पर्ने, जनताले स्पष्ट रूपमा राप्रपा नेपाललाई प्रतिपक्षमा रहने जनादेश दिएकाले प्रतिपक्षमा रहने केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए । प्रतिपक्षमा रहेर राप्रपा नेपालले मुलुकको हितका निम्ति सशक्त, रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने योजना बनाएको छ । ‘पार्टीले निर्वाचनका बेला जनतासमक्ष प्रस्तुत गरेको चुनावी घोषणापत्रमा व्यक्त भएका प्रतिबद्धतालाई हामी प्रतिपक्षमा रहेर सशक्त रूपमा उठाउने निष्कर्ष निकालेका छौं,’ सदस्य श्रेष्ठले भने ।
राप्रपा अध्यक्ष कमल थापाले नयाँ संविधानसभालाई विघटित संविधानसभाको निरन्तरता नदिने घोषणा गरे । उनले नयाँ संसद्लाई जननिर्वाचित स्वतन्त्र र सार्वभौम निकायका रूपमा लैजानुपर्ने बताए । विगत १० वर्षदेखि स्थानीय निकायहरू कर्मचारीहरूबाट सञ्चालन भइरहेकोप्रति चिन्ता प्रकट गर्दै उनले नयाँ सरकार गठन भएको ६ महिनाभित्र स्थानीय निकायको चुनाव हुनुपर्ने माग गरेको राप्रपा नेपालले गरेको छ । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा मुलुकभरबाट ७ सयभन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक