खटपटले वैवाहिक जीवन नै धरापमा

१६ माघ २०७०, बिहीबार ०६:०५ मा प्रकाशित

काठमाडौं, १६ माघ । तीन महिनाअघि प्रेम विवाह गरेका थिए, ललितपुरका २० वर्षीय सुवास र १८ वर्षीया समिता (परिवर्तित नाम) ले । तर, अहिले उनीहरूबीच भएको खटपटले वैवाहिक जीवन नै धरापमा परेको छ ।

सुवासले पूर्वप्रेमिकाबारे पहिल्यै नबताएकाले आफूहरूको वैवाहिक जीवन सफल हुन नसकेको समिताको आरोप छ । सो विवादले उग्र रूप लिएपछि विवाहको तीन महिनामै एक अर्काविरुद्ध गुनासो गर्दै दुवै प्रहरीकोमा पुगे । 

प्रहरीको महिला सेलले उनीहरूको सम्बन्ध दीर्घकालीन बनाउन आफ्नो तर्फबाट प्रयास ग-यो । तर, सफल भएन । त्यसपछि उनीहरू सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत ललितपुर गए ।

रमेशको पूर्वप्रेमिकासँग ‘ब्रेक अप’ पछि देखाउन विवाह गरेको रमाको आरोप छ । लागू औषध सेवन गर्ने उनी पटकपटक पुनःस्थापना केन्द्र बस्दै आएका छन् । उनको शरीरका विभिन्न भागमा पूर्वपे्रमिकाको नाम र फोटो रहेको उनी महिला सेलमा बताउँदै थिइन् ।

६० वर्षीया कमला (परिवर्तित नाम) ले पनि श्रीमान्सँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत ललितपुरमा उजुरी दिएको धेरै दिन भएको छैन । १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी कमला ४५ वर्ष लामो वैवाहिक जीवन तोड्ने निष्कर्षमा त्यसै पुगेकी होइनन् । यसबीचमा उनले श्रीमान्को आचरण सुधार्न धेरै प्रयत्न गरिन् । प्रहरीमा समेत पुगिन् । तर, रक्सी खाने श्रीमान्को बानीमा खासै परिवर्तन भएन । त्यसपछि उनले वैवाहिक सम्बन्धबाट नै अलग हुने निष्कर्ष निकालिन् र त्यसैअनुरूप कानुनी प्रक्रिया अगाडि बढाइरहेकी छन् ।

प्रेम विवाहमार्फत वैवाहिक सम्बन्धमा गाँसिएका ब्राह्मण युवक र दलित युवतीको पाँच वर्ष लामो सम्बन्ध पनि बीचैमा टुट्ने अवस्थामा पुगेको छ । दुवैबीच राम्रो सम्बन्ध रहे पनि परिवारको असहयोग नै उनीहरूको सम्बन्ध बिग्रनुको कारण बन्न पुग्यो । युवकका परिवार र आफन्तले आफूलाई हेला गर्दा पतिले प्रतिवाद नगरेको ती दलित महिलाको आरोप छ । सोही कारणले बिग्रन थालेको सम्बन्धले यतिखेर उनीहरूका तीन वर्षीया छोरीको भविष्य नै डामाडोल बन्ने अवस्थामा पुगेको छ । अबको केही समयमै उनीहरू कानुनी रूपमा अलग हुने अवस्थामा  पुगेका छन् ।

एक दशकयता सहरी क्षेत्रमा सम्बन्ध विच्छेद गर्नेको संख्या ह्वात्तै बढेको छ । विवाह गरेर एक/दुई महिना बिताएकादेखि ५/६ दशक कटाएकासमेत सम्बन्ध विच्छेद गर्न भन्दै न्यायालयको ढोकामा पुग्ने गरेका छन् । सम्बन्ध विच्छेदको मुल कारण घरेलु हिंसाको सिकार वा श्रीमान्ले अर्का विवाह गर्नु रहेको छ । पछिल्ला दिनमा महिला आफं सम्बन्ध विच्छेदमा अग्रसर भएको देखिन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार महिलाले चाहनेबित्तिकै सम्बन्ध विच्छेद हुने भएकाले पनि उनीहरू अग्रसर भएका हुन् ।

अधिकारकर्मीहरू पछिल्लो समय महिलामा सचेतना बढेकाले हिंसा सहनुभन्दा सम्बन्ध विच्छेद गर्ने सोच आएको बताउँछन् । कतिपयले भने आधुनिकता वा पश्चिमा संस्कृतिको नक्कलसमेत भनेर टिप्पणी गर्ने गरेका छन् । अधिवक्ता मीरा ढुंगाना सम्बन्ध विच्छेदका घटना बढ्नुलाई सामान्य रूपमा लिनुपर्ने बताउँछिन् ।
उनका अनुसार पहिले महिलाहरू जस्तोसुकै हिंसाका घटना पनि सहेर बस्थे । पछिल्ला दिनमा उनीहरूमा आत्मनिर्भरता बढेको छ ।’ विभिन्न संस्था र सहकारीका कारण आर्थिक र सामाजिक रूपमा सक्षम महिलाको संख्या बढेकाले पनि यस्ता घटना बढेजस्तो लाग्छ अधिवक्ता ढुंगानालाई । त्यसो त पछिल्लो महिलामा एक्लै पनि बाँच्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।
अदालतको तथ्यांकलाई हेर्दा वर्षैपिच्छे सम्बन्ध विच्छेदका घटना बढ्दो छ । साउनदेखि यता मात्र जिल्ला अदालत ललितपुरमा ९७ ओटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष २ सय ५५ ओटा मुद्दा दर्ता भएकोमा १ सय ९५ ओटा फस्र्योट भएका थिए । ६० ओटा मुद्दा यस वर्षका लागि सारिएको अदालतका गुनासो सुन्ने अधिकारी देव श्रेष्ठ बताउँछन् ।
उनका अनुसार नियमित रूपमा आउने सम्बन्ध विच्छेदका मुद्दामध्ये कतिपय त विवाहको पहिलो महिनामा नै आएकासमेत छन् । ‘किशोरावस्थामा हतारिएर विवाह गर्नेहरूमध्ये कतिपयले विवाहको एक दशकपहिले नै सम्बन्ध विच्छेद गरेको पाइन्छ,’ श्रेष्ठले भने । अचम्मको कुरा त के छ भने सम्बन्ध विच्छेदका अधिकांश घटनामा पुरुष र महिला दुवैको उमेर ३० भन्दा कम हुने गरेको छ । त्यसपछिका उमेरमा हुने सम्बन्ध विच्छेद निकै कम मात्र आउने गरेको उनले बताए ।

वैदेशिक रोजगारमा गएकाहरू पनि सम्बन्ध विच्छेदका लागि तुलनात्मक रूपमा बढी आएको पाइन्छ । शिक्षित र रोजगार महिला तुलनात्मक रूपमा बढी छन् । रोजगार महिला र बेरोजगार पुरुष हुँदा सम्बन्ध विच्छेदका घटना धेरै हुने पाइएको उनी बताउँछन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको महिला सेलमा कार्यरत इन्सपेक्टर अञ्जना श्रेष्ठ सेलमा अविवाहिताको भन्दा विवाहिता महिला समस्या लिएर बढी आउने गरेको बताउँछिन् । सेल वा उनीहरूलाई त्यहाँसम्म ल्याउने संस्थाले महिलालाई सकेसम्म श्रीमान्सँग मिलेर बस्न सल्लाह दिने उनी बताउँछिन् । तर, अधिकांश घटनामा त्यसो हुँदैन ।

उनले भनिन्, ‘घरबाट प्रहरीसम्म विवाद पुगेपछि कम मानिस मात्र पछि मिलेर बस्ने गरेको पाइएको छ ।’ आफूले सकेसम्म मिलाउन खोज्ने र नसके अदालत पठाउने गरेको उनी बताउँछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे