एक वर्ष विधान निलम्बन गर्न कोइरालालाई सुझाव

१० माघ २०७०, शुक्रबार ०६:०८ मा प्रकाशित

काठमाडौं, १० माघ । संसदीय दलको नेतामा सहमति नजुटेपछि नेपाली कांग्रेसका तीनै शीर्ष नेता समूहगत छलफलमा लागेका छन् । 

दलको नेता छनोटका लागि बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदाता नामावली टाँस भएपछि तीनै आकांक्षी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले बिहीबार आ–आफ्नै निवासमा सभासद्हरूसँग परामर्श गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले दलको नेता सर्वसम्मतले चयन गर्न ‘तीन शीर्ष नेता’लाई नै जिम्मेवारी दिएको थियो । यद्यपि, विहीबारसम्म कुनै सहमति जुट्न सकेको छैन ।
सभापति कोइरालाले बिहीबार नारायणी, गण्डकी, धौलागिरि, राप्ती, भेरी, महाकाली र सेती अञ्चलका सभासद्सँग भेटघाट गरेका थिए । उनले बुधबार मेची, कोसी, सगरमाथा, जनकपुर अञ्चलका सभासद्सँग परामर्श गरेको उनका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए । सो छलफलमा कोइरालाले सर्वसम्मत रूपमै आफूलाई दलको नेता छान्न आग्रह गरेका थिए ।
सभासद्हरूले भने दलको नेताका लागि निर्वाचन हुन नहुने र सकेसम्म सर्वसम्मत रूपमै नेता चयन गर्न सुझाव दिएका थिए । सभासद्हरूलाई आश्वस्त पार्दै सभापति कोइरालाले सकभर चुनाव हुन नदिने बताएका थिए ।
छलफलमा अधिकांश सभासद्ले संविधानसभा निर्वाचनमा ठूलो पार्टी बनाउन सभापति कोइरालाको भूमिका महŒवपूर्ण रहेकाले ‘यस पटक संसदीय दलको नेता तपाईं नै बन्नुपर्छ’ भन्ने आग्रह गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । ‘पार्टीमा सहमति कायम गर्न सभापति कोइरालालाई सभासद्हरूले सुझाव दिनुभयो,’ बडूले  भने ।
वरिष्ठ नेता देउवाले बिहीबार पनि बूढानीलकण्ठस्थित आफ्नो निवासमा सभासद्हरूसँग छलफल गरेका थिए । छलफलमा देउवाले ‘सर्वसम्मत नेता चयन हुन नसके के गर्ने ?’ भन्ने विषयमा रायसुझाव मागेको केन्द्रीय सदस्य तथा सभासद् महेन्द्र यादवले जानकारी दिए ।
‘सभासद्हरूले दलको नेता चयन गर्न निर्वाचन गर्न नहुने, त्यसले पार्टीलाई कमजोर बनाउने र कांग्रेसभित्र अन्य दलले खेल्न सक्ने हुँदा एक वर्षभित्रै संविधानसमेत जारी गर्न नसकिने सुझाव दिनुभयो,’ यादवले सँग भने । सभासद्हरूले मिलेर अघि बढ्न आग्रह गरेपछि नेता देउवाले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने आश्वासन दिएको उनले बताए ।
तीन पटक प्रधानमन्त्री भइसकेकाले यस पटक दलको नेताका लागि चुनाव लड्ने मनस्थितिमा देउवा अझै पुगेका छैनन् । उनी सभापति कोइराला प्रधानमन्त्री बन्ने भए आफूलाई पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी दिन तयार हुनुपर्ने अडानमा छन् । ‘उहाँ (देउवा) दलको नेता सहमतिबाटै छान्नुपर्छ भन्ने कुरामा अडिग हुनुहुन्छ, सभापतिको तर्फबाट उचित जिम्मेवारी
(कार्यवाहक सभापति) सहितको प्रस्ताव नआए अन्तिम अवस्थामा मात्र साथीहरूसँग छलफल गरी निर्णय लिन्छु भन्नुभयो,’ बिहीबारको सामूहिक छलफलमा देउवाको भनाइ उद्धृत गर्दै यादवले भने ।

बुधबार जनकपुर अञ्चलका सभासद्हरूसँगको छलफलमा सभापति कोइरालालाई सहमतिको बाधकका रूपमा पार्टी विधान भए एक वर्ष ‘विधान सस्पेन्ड’ गर्न सुझाव दिइएको थियो । ‘कांग्रेसको दलको नेता चयनमा सहमति हुन विधान बाधक भए एक वर्ष (संविधान जारी नभएसम्म) विधान सस्पेन्ड गरिदिनोस् र पार्टी एकढिक्का भई सरकारको नेतृत्व लिनुहोस्,’ सभासद् अमरेशनारायण सिंहले कोइरालालाई दिएको सुझाव उद्धृत गर्दै एक सभासद्ले राजधानीसँग भने । जवाफमा कोइरालाले आफूले नेता देउवासँग यस विषयमा छलफल गर्ने बताएका थिए । विधानअनुसार देउवालाई कार्यवाहक सभापति दिन नमिल्ने भए एक वर्षका लागि विधान सस्पेन्ड गर्न सभापतिलाई सुझाव दिइएको हो ।
संसदीय दलको नेतामा आफूलाई सहयोग गर्न उपसभापति पौडेलले पनि आफ्नो निवास बोहोराटारमा बिहीबार छलफल गरेका थिए । साढे दुई घन्टासम्म चलेको छलफलमा करिब ६५ सभासद् सहभागी थिए । पौडेलले आफूनिकट र अन्य सभासद्सँग पार्टीमा पु¥याएको योगदानका आधारमा पनि अबको सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै सहयोग गर्न भनेका थिए । सभासद्हरूले भने दलको नेता छान्न चुनाव गर्न नहुने भन्दै तीनै नेतालाई मिल्न सुझाव दिएका थिए ।
‘यदि सभापति प्रधानमन्त्री बन्ने हो भने पावर सेयरिङ गरेर अघि बढ्नुपर्छ र मलाई उचित कार्यभार दिनुपर्छ,’ छलफलमा सहभागी एक सभासद्ले पौडेलको भनाइ उद्धृत गर्दै सँग भने । स्रोतका अनुसार पौडेलले पार्टी सभापति पदबाट कोइरालाले राजीनामा दिनुपर्ने भनाइ राखेका थिए । पौडेलको छलफलमा रामचन्द्र पोखरेल, हृदयराम थानी, तप्तबहादुर विष्ट, शंकर भण्डारी, बद्री पाण्डे, नवीन्द्रराज जोशी, जीवन परियारलगायतका सभासद् सहभागी थिए । सभासद्हरूले पार्टी सभापतिद्वारा मनोनीत उपसभापतिले राजीनामा नदिई संसदीय दलको नेतामा चुनाव लड्न नैतिकताका आधारमा पनि नमिल्ने प्रश्न राखेपछि जवाफमा पौडेलले ‘आफूले उपसभापति पदबाट राजीनामा दिइसकेको’ बताएको स्रोतले राजधानीलाई बतायो । पौडेल यस पटक जसरी पनि दलको नेताका लागि चुनाव लड्ने तयारीमा छन् ।
उपसभापति पौडेलले पार्टीमा प्रशिक्षणका माध्यमबाट पार्टीको नीतिलाई सार्वजनिक गरेकै कारण संविधानसभा निर्वाचनमा ठूलो पार्टीका रूपमा कांग्रेस विजयी भएको भेलामा सहभागी सभासद् झुलबहादुर आलेले बताए । भेलामा सहभागी अधिकांश सभासद्ले सरकार सञ्चालन र संसदीय दलको नेताको अनुभव भएकाले संसदीय दलको नेताका नेताका लागि पछाडि नहट्न पौडेललाई सुझाव दिएका थिए ।
संसदीय दलको नेता चयनको विषयमा सर्वसम्मत निर्णय गर्न भनेर कोइराला, देउवा र पौडेलबीच बैठक बस्ने भनिए पनि अझेसम्म बस्न सकेको छैन । तीनै नेता आफ्नो पक्षमा समर्थन जुटाउन लागिपरेका छन् । सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने भनिए पनि संसदीय दलको नेतामा शीर्ष नेताबीच नै सहमति हुन नसकेपछि सरकार निर्माणको विषयमा अन्तरपार्टी छलफलसमेत हुन सकेको छैन । ‘शीर्ष नेताबीच सहमति नभएपछि संसदीय दलको नेता छान्न निर्वाचनका लागि प्रक्रियामा अघि बढेका हौं,’ प्रवक्ता एवं निर्वाचन समिति संयोजक बडूले सँग भने ।

निर्वाचन कार्यतालिका सार्वजनिक
कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । पार्टी प्रवक्ता एवं निर्वाचन समिति संयोजक बडूले कांग्रेस संसदीय दलको नेता चयनका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार प्रक्रिया अगाडि बढाउने बताए । कार्यतालिकाअनुसार उम्मेदवारका लागि दरखास्त ११ गते शनिबारका लागि तय गरिएको छ भने १२ गते निर्वाचन कार्यक्रम बिहान प्रकाशित गरिने र दिउँसो मतदान हुनेछ । कांग्रेससँग १ सय ९६ सभासद् भए पनि निर्वाचनका लागि १ सय ९४ सभासद्ले भाग लिनेछन् । सभापति कोइराला र वरिष्ठ नेता देउवा दुई दुई क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ