मन्त्रालयको निर्देशनविपरीत ‘सेन्टअप’ परीक्षा

९ माघ २०७०, बिहीबार १०:१३ मा प्रकाशित

भैरहवा, ९ माघ । प्रवेशिका परीक्षापूर्व लिइने सेन्टअप परीक्षा रोक्न शिक्षा मन्त्रालयले निर्देशन दिए पनि जिल्लाका निजी तथा सामुदायिक विद्यालयले सो परीक्षा लिएका छन् । परीक्षाको नाममा शुल्क र विद्यार्थीलाई फेल गराउन नहुने मन्त्रालयको निर्देशनविपरीत रूपन्देहीका निजी विद्यालयले परीक्षा सञ्चालन गरिरहेका छन् । 

दुई वर्षअघि नै शिक्षा मन्त्रालयले सेन्टअप परीक्षा सञ्चालन नगर्ने र ७५ प्रतिशत हाजिरी पुगेका विद्यार्थीलाई प्रवेशिका परीक्षामा समावेश गराउन निर्देशन दिएको थियो । तर, रूपन्देहीका निजी विद्यालयहरूले सुधारात्मक परीक्षाका नामबाट सेन्टअपलाई कायम राख्दै कमजोर विद्यार्थीलाई हाजिरी नपुगेको देखाउँदै फेल गराउने र प्रवेशिकामा शतप्रतिशत देखाउने कार्य जारी राखेका छन् ।
मन्त्रालयले निर्देशन दिए पनि त्यसको अनुगमन नभएको अभिभावकहरूले गुनासो गरेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न शिक्षा कार्यालयले तत्परता नदेखाएको गुनासो अविभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गरे । उनका अनुसार अहिले पनि जिल्लाका १ सयभन्दा बढी निजी विद्यालयले प्रतिविद्यार्थी ५ सय रुपैयाँका दरले शुल्क लिएर सेन्टअप परीक्षा लिइरहेका छन् । उनिहरूले विद्यार्थीसँग लिएको यो रकम सरकारले प्रवेशिकामा लिनेभन्दा बढी छ । सरकारले प्रवेशिकाका लागि प्रतिविद्यार्थी ४ सय ५० रुपैयाँ लिने गरेको छ ।
सुधारात्मक परीक्षा भनिए पनि निजी विद्यालयले सांगठनिक रूपमा एउटै प्रश्नपत्र तयार गरी विगतमा हुने सेन्टअपकै शैलीमा जाँच लिएका छन् । यसबाट एकातर्फ निजी विद्यालयहरूले जाँचका नाममा अविभावकसँग शुल्क लिएका छन् भने अर्कातर्फ यसबाट कमजोर विद्यार्थीको पहिचान गरी कानुनी रूपमा बच्ने गरी हाजीरी कम भएको देखाई विद्यार्थीलाई अनुत्तीर्ण गराउने गरेका छन् । ‘यो भनेको अविभावकसँग शुल्क पनि लिने र कमजोर विद्यार्थीलाई प्रवेशिका दिनबाट वञ्चित गरी नतिजा शतप्रतिशत ल्याउने निजी विद्यालयको खेल हो, संघका अध्यक्ष ज्ञवालीले भने ।
शिक्षा पत्रकार समूह लुम्बिनीका सचिव कृष्ण मल्लले सेन्टअप खारेज भइसकेका अवस्थामा पनि यसले निरन्तरता पाउनु र त्यसमा शिक्षा कार्यालयले अनुगमन गरी कारबाही नहुनु ती दुई निकायबीचको मिलेमतो रहेको बताए । जिल्ला शिक्षा कार्यालय रूपन्देहीका उपसचिव टीकाराम अर्यालले विद्यालयले नियमअनुसार न्यूनतम शुल्क लिएर विद्यार्थीहरूको जाँच लिन र गुणात्मक सुधार गर्न गम्भीर नभएको भन्दै जाँच लिएपछि फेल र पास गरी प्रवेशिका परीक्षा दिनबाट विद्यार्थीलाई वञ्चित गर्न नहुने बताए । बढी रकम लिएकाबारे हाल जानकारी नभएको भन्दै उनले त्यस्तो पाइए कारबाही गरिने बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रूपन्देहीका अध्यक्ष सुदीप केसीले परीक्षा सञ्चालनका लागि आवश्यक न्यूनतम शुल्क मात्रै विद्यार्थीबाट लिएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक