नेपाल–भारत सम्बन्धलाई हितकारी बनाउने हो भने…:: देवप्रकाश त्रिपाठी

९ माघ २०७०, बिहीबार ०४:३१ मा प्रकाशित

पचासको दशकमा स्वतन्त्र भएका नेपाल र भारत सातौँ दशकसम्म आइपुग्दा दुई भिन्न हैसियतमा क्रियाशील छन्। एउटाले विविधतापूर्ण सर्वाधिक ठूलो जनसङ्ख्या भएको मुलुकमा पनि संसदीय प्रजातन्त्र सफल हुनसक्छ भन्ने दृष्टान्त स्थापित गर्दै विश्वको ठूलो अर्थतन्त्र बन्ने प्रतिस्पर्धामा आफूलाई पुर्याथएको छ भने अर्काेले नालायक नेतृत्व भएमा कुन हदसम्मको गरिबी र बेथितिको अवस्था उत्पन्न हुन सक्दोरहेछ भन्ने उदाहरण बन्दै ‘प्रजातन्त्र संस्थागत गर्ने अनन्तकालीन यात्रा’मा आफूलाई केन्द्रित गरेको छ। भारतले गरिबी उन्मूलन, अर्थतन्त्रको सबलीकरण, राष्ट्रियता तथा राष्ट्रिय एकता सम्बर्द्धन र विज्ञान एवम् प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धि संसारमा उदाहरणीय मानिएको छ। यसै अवधिमा नेपालले चाहिँ प्राकृतिक रूपमा मुलुक जतिसुकै समृद्ध र सुन्दर भए पनि कतिसम्म कुरूप र दरिद्र बन्दोरहेछ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ। छिमेकी मित्रराष्ट्र भारतले गणतन्त्र स्थापना दिवसको ६५औँ वर्षगाँठ मनाइरहँदा नेपाल–भारत सम्बन्धका केही रचनात्मक एवम् सकारात्मक र केही जटिल आयामहरूको चर्चा गर्नु यहाँ उपयुक्त ठानिएको छ।
संसारमा विरलै मुलुकबीच हुने समानता नेपाल र भारतका बीचमा रहेको छ। धार्मिक, सामाजिक, पारम्परिक, सांस्कृतिक, सांस्कारिक, भौगोलिक र भाषिक पक्षहरूमा देखिने गुणात्मक समानताले दुई देशबीचको सम्बन्धलाई अविभाज्य तुल्याएको छ। तर, यही गुणात्मक समानता नै द्विपक्षीय सम्बन्धलाई जटिल बनाउने मनोवैज्ञानिक कारण बनेको छ। दुई मुलुकबीचको भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, पारम्परिक एवम् सांस्कारिक सामीप्यलाई आफैँमा एक सौन्दर्यका रूपका बुझ्न सकिन्छ। तर, दुई पक्षबीचको यही निकटता या समानता नै हाम्रो सन्दर्भमा ‘भिन्न देखिने आकाङ्क्षाको स्रोत’ बनेको छ। नेपालको भौतिक तथा आर्थिक विकासमा भारतले निरन्तर सहयोग पुर्यालउँदै आएको छ। भारतमा पचास लाखभन्दा बढी नेपालीले कुनै न कुनै रूप र स्तरको रोजगारी पाइरहेका छन् र नेपाललाई रेमिट्यान्सबापत सबभन्दा ठूलो रकम प्राप्त हुने मुलुक पनि भारत नै बनेको छ। तर, सहयोग पुर्यामएअनुरूपको जस (यश) प्राप्त गर्न भारतले थप कसरत गर्नुपर्ने अवस्था विद्यमान छ। नेपालप्रति भारतको सद्भावपूर्ण दृष्टिकोण भए पनि सद्भावअनुरूपको साथ–सहयोग प्राप्त गर्न नेपालले थप प्रयास गर्नुपर्ने स्थिति पनि कायम छ। हाम्रो इतिहास र राजनीतिले हामीलाई विश्वमानचित्रमा भिन्न देखाए पनि अन्य सर्वाङ्गीण पक्षमा विद्यमान सामीप्य र समानता बाह्य संसारले अन्तर छुट्याउन मुस्किल हुने प्रकारको छ। सानो भएकोले भिन्न देखाउने या देखिने आकाङ्क्षा स्वाभाविक रूपले नेपालपट्टि बढी छ। ठूलो मुलुक भएका कारण भारतले विश्वको ध्यान आफूतर्फ जति सजिलै आकर्षित गर्न सक्दछ नेपालका निम्ति त्यही कार्य कठिन भइदिन्छ। द्विपक्षीय सम्बन्धमै जटिलता पैदा गर्ने स्तरमा नेपालभित्र विद्यमान यसप्रकारको मनोवैज्ञानिक समस्याप्रति भारत संवेदनशील भइदियो भने सम्भवतः दुई मुलुकबीच प्रकट–अप्रकट रूपमा रहेको मनोवैज्ञानिक समस्याको निराकरण गर्न सकिनेछ।
कूटनीतिक तहमा नेपाल र भारतबीच खासै समस्या छैनन् या देखिँदैनन्। नेपालले भारतबाट सम्मानजनक व्यवहारको अपेक्षा राख्नु या भारतले नेपालबाट विश्वस्त हुन चाहनुलाई हामी मनोवैज्ञानिक समस्याकै रूपमा बुझ्न सक्दछौँ। विश्वको सबभन्दा ठूलो अर्थतन्त्र बन्ने मार्गमा भारत दु्रततर गतिमा लम्किरहँदा हामी ‘वीर’ नेपालीहरूचाहिँ आत्मसम्मानको खोजीमा भौँतरिँदै छौँ र मान नपुगेकोमा विभिन्न ढङ्गले असन्तुष्टि प्रकट गर्दै छौँ। सम्मान भन्ने कुरा शब्दमा बर्बराएर प्राप्त गरिँदैन, व्यवहार र हैसियत सम्मान गर्न लायक भयो भने मान–सम्मान स्वतः आर्जन हुन सक्दछ। बिल गेट्स या अन्ना हजारेले मलाई सम्मान गरियोस् भनेर कतै नाराबाजी या अनशन गर्नुपर्दैन। कुनै मिलन चक्रे या छोटा या लामा गणेशहरूले जतिसुकै पाखुरा फुलाए पनि तिनले सम्मान आर्जन गर्न सक्दैनन्, न स्वयम्भू र पशुपति परिसरका भिखारीहरूले रुवाबासी गर्दैमा तिनलाई मानसम्मान मिल्न सक्दछ। अमेरिका, ब्रिटेन, जापान, क्यानडा, अस्टे्रलिया, सिङ्गापुर या दक्षिण कोरियाले आन्दोलन गरेर, मागेर या चिच्याएर संसारमा सम्मान प्राप्त गरेका होइनन्। सभ्य र समृद्ध मुलुकका नागरिक विश्वको जुनसुकै कुनामा पुगे पनि तिनले सम्मानभाव र व्यवहार सामान्यतया प्राप्त गरेकै हुन्छन्। भारतले पछिल्लो दुई दशकभित्र हासिल गरेको उपलब्धिले उसलाई पनि विश्वमा सम्मानित तुल्याउँदै छ। तर, नाइजेरिया, हाइटी, इथियोपिया, सुडान या नेपालजस्ता मुलुकका नागरिकले आत्मसम्मानका निम्ति जतिसुकै गिडगिडाए पनि प्राप्तिमा अवरोध कायम छ, किन? हामी सबैले आत्ममूल्याङ्कन गर्न जरुरी छ। कसैप्रति शतप्रतिशत निर्भरता यथावत् राखेर आत्मसम्मानको खोजी गर्दा हामी उपहासका पात्र भएका छौँ। छिमेकी मित्रराष्ट्र भारतसँग हाम्रो निर्भरता करिब शतप्रतिशतमा छ र यो निर्भरता यथावत् राख्दै हामीले भारतीय पक्षबाट सम्मानजनक व्यवहार नभएको भन्ने गुनासो गर्न पनि छोडेका छैनौँ। हामी नेपालीमा आर्थिक उन्नतिको सपना छ, तर त्यसअनुरूपको सोच र व्यवहार छैन। हरेक कुरा मागेर काम चलाउने छिमेकीले जसमाथि निर्भर रहनुपर्छ उसैलाई चिढ्याउने व्यवहार गर्न थाल्ने हो भने उसको जीवन कति कष्टकर होला? माग्दामाग्दै हाम्रो आदत यस्तो भइदिएछ कि मानसम्मान पनि मागेरै पाइन्छ भन्ने भ्रम हामीभित्र पैदा हुन पुगेको छ।
भारतले विज्ञान, शिक्षा, अर्थ, प्रविधि र भौतिक विकासको क्षेत्रमा जुनस्तरको उन्नति गर्दै छ, त्यसले दक्षिण एसियाकै साख जोगाउने विश्वास गर्न सकिन्छ। दक्षिण एसियाली नागरिकको पहिचान बोकेका मानिसलाई संसारमा आज जुन रूपमा हेरिन्छ, त्यस्तो विश्व दृष्टिकोणमा परिवर्तन गराउने सामर्थ्य दर्शाउन खोज्दै छ भारत। तर, हामीले आफैँमा निर्भर हुन के–के गर्दै छौँ? कुनै पनि मुलुकले आफ्नो हितमा नीति–निर्णय लिनुलाई स्वाभाविक मात्र होइन, अनिवार्य मान्न सकिन्छ। यसर्थमा भारतले आफ्नै हितलाई केन्द्रबिन्दुमा राखेको छ भने त्यसलाई अनर्थका रूपमा बुझ्नुपर्दैन। हामीले हाम्रो हितमा नीति–निर्णय लिन किन सकिरहेका–खोजिरहेका छैनौँ यसलाई चाहिँ अनर्थका रूपमा बुझ्नु उचित होला।
यो भनिरहनुपर्ने विषय होइन कि वर्तमान विश्व आदर्शबाट नभई अर्थबाट निर्देशित एवम् परिचालित छ र राष्ट्रवादको बलियो आधार पनि अर्थतन्त्र नै हो। सुदृढ अर्थतन्त्रले जनताको दैनिक जीवनलाई सहज मात्र बनाउँदैन, राष्ट्रिय गौरवको अभिवृद्धि गर्छ, जनतालाई आत्मविश्वासी बनाउँछ र अन्तर्राष्ट्रियस्तरमा समेत त्यसले सम्मानजनक हैसियतमा पुर्यााइदिन्छ। हो, यही गौरवले देशको राष्ट्रियता सुदृढ तुल्याउँछ र जनताले राष्ट्रका नाममा आफूलाई समर्पण या आत्मगौरव गर्ने स्थिति पनि बन्न सक्छ। हामी वीर नेपालीले विश्वमा आएको परिवर्तनको भेउ पाएका छैनौँ कि के हो अझै उही थोत्रा पुराना अप्रासङ्गिक मुद्दाहरूलाई उछालेर राष्ट्रियता बलवान तुल्याउने टीठलाग्दो अभियानमा रुचि राख्दै छौँ। श्री ३ जंगबहादुर राणालाई भारतीय पृष्ठपोषकका रूपमा आलोचना गर्ने राष्ट्रवादीहरूमा उनै जंगबहादुरले लगाएको साँध–सिमाना जोगाउने सामर्थ्य देखिएन, कुरा गर्छन् राष्ट्रवाद र राष्ट्रियताको। सन् १९५० को सन्धिले नेपालीलाई कति लाभ या हानि पुगेको छ भन्ने विश्लेषण या मूल्याङ्कनका आधारमा त्यसप्रतिको धारणा बनाइनुपर्नेमा ‘समान भएकोले असमान भयो’ भन्ने तर्क गर्दै मैदानमा उत्रन यिनलाई रमाइलो लागेको छ। भारतले नेपालसँगको सम्बन्धको ‘स्टेटस’ पाकिस्तान या बंगलादेशसरह बनाउँदा त्यसको असर आमनेपाली जनतालाई कुन रूपमा पर्न सक्छ भन्नेबारे समीक्षा गर्ने आवश्यकता पनि हामीले बोध गरिरहेका छैनौँ। हामी हाम्रा नदीहरू भारत भएर अनन्त कालसम्म ‘निःशुल्क’ बग्न दिन मञ्जुर छौँ, तर त्यही नदी द्विपक्षीय हितमा प्रयोग गर्ने कुरा उठ्यो भने हामीलाई हाम्रो राष्ट्रवाद दुख्न थालिहाल्छ। गरिबी र अँध्यारोमा जीवन बिताउन हामी सर्वथा तयार छौँ, तर उज्यालो बाँड्ने कुरा मात्रले पनि हाम्रो राष्ट्रवादलाई धक्का पुर्याखइहाल्छ। जलस्रोतको धनी देश भएकोमा गौरव गर्ने हामी भारतबाट विद्युत् मागेर या खरिद गरेर प्रयोग गर्न लज्जानुभूति गर्दैनौँ, कुनै एउटा जलविद्युत् आयोजना बनाइदिने इच्छा भारतले प्रकट गर्यो भने हाम्रो राष्ट्रवाद चिच्याउन थालिहाल्छ। भारतप्रतिको नेपाली निर्भरता समाप्त गर्न असम्भव छ, तर देशको अर्थतन्त्रमा सुधार गर्न सके द्विपक्षीय निर्भरताको अवस्था सिर्जना गर्न सकिन्छ, जसले राष्ट्रियताको सबलीकरणमा स्वतः योगदान पुर्याउउने विश्वास गर्न सकिन्छ। परस्पर निर्भरता नै नयाँ विश्वको विशेषता हो। छिमेकीसँगको द्वन्द्व या तनावले घरभित्रको शान्तिमा प्रतिकूल असर पर्नसक्ने कुरालाई दृष्टिगत गरी हामीले भारतसँग भिडेर होइन मिलेर राष्ट्रहितको संरक्षण गर्न सक्नुपर्छ। भीमसेन थापाले भारतसँग भिड्न खोज्दा हाम्रो सीमा सङ्कुचित भएको, तर जंगबहादुर राणाले मिलेर अघि बढ्ने नीति अवलम्बन गर्दा देशको सीमा नै विस्तारित भएको ऐतिहासिक सन्दर्भलाई पनि हामीले स्मरण गर्नु उपयुक्त हुनसक्छ। भारतले आफ्नो सुरक्षामा नेपालको विश्वासपूर्ण भूमिका अपेक्षा गरेको र नेपालले आफ्नो समृद्धिमा भारतको सम्मानजक साथ चाहेको वास्तविकतालाई दुवै पक्षले संवेदनशील हुँदै आत्मसात् गर्ने हो भने द्विपक्षीय सम्बन्ध अझै उज्यालिने आशा गर्न सकिन्छ।
भारतसँग हामीले सिक्नुपर्ने अनगिन्ती कुरा छन्। अरू त अरू प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको सम्बर्द्धन कसरी गर्नुपर्छ भन्ने पाठसमेत हामी भारतबाट सिक्न सक्दछौँ। भारत विरोधलाई राष्ट्रवादको आधार बनाउने पुरातन सोचबाट मुक्त हुँदै देशकेन्द्रित राष्ट्रियताको निम्ति क्रियाशील हुन थाल्यौँ भने समृद्धिप्रतिको हाम्रो गन्तव्य टाढा हुनेछैन। समृद्ध मुलुकले राष्ट्रियताको प्रवर्द्धन र आत्मसम्मानको चिन्ता गरिरहनुपर्ने हुँदैन। त्यसैले ‘राष्ट्रियता सबलीकरणका लागि समृद्ध मुलुक’को नारा तय गरी एकताबद्ध भई अघि बढ्नुमा नै आमनेपालीको कल्याण छ। ६५औँ गणतन्त्र दिवसका अवसरमा छिमेकी मित्रराष्ट्र भारतलाई हार्दिक बधाई तथा शुभकामना।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।