बाबुरामको आत्मसमर्पणमा प्रचण्ड आक्रामक

६ माघ २०७०, सोमबार २२:५३ मा प्रकाशित

काठमाडौं, ६ माघ । पार्टीभित्र संकट उत्पन्न भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन वैद्यसँग हात बढाउन जाने अनुमान धेरैले गरेका थिए। तर उनले पार्टीभित्रका असन्तुष्टको आवाजलाई सम्मान गर्दै शालिनतापूर्वक आत्मालोचना गरेका छन् । निर्वाचन पराजयका कारणहरूबारे उल्लेख गर्दै प्रतिवेदनको बाह्रौं नम्बरको बुँदामा अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन्–संविधानसभाको निर्वाचन र यसको पृष्ठभूमिमा जे जति गल्ती कमीकमजोरी हुन गए तिनको प्रमुख जिम्मेवारी पार्टी अध्यक्षको नै हुन जान्छ। अतः आजको ठोस संघर्ष र पार्टीको आन्तरिक अवस्थामा अध्यक्षले गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै क्रान्तिकारी रूपान्तरणको ठोस व्यवाहारमा आफैंलाई होम्नु अनिवार्य छ। पुस २६ गतेदखि सुरु हुने गरी तय गरिएको केन्द्रीय समितिको बैठक माघ २ गतेसम्म सारिएपछि एमाओवादी वृत्तमा अनेकथरी आशंका सिर्जना भएका थिए। तर एमाओवादीको अहिले पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा त्यस्तो कुनै संकेत देखिएको छैन। अध्यक्ष प्रचण्ड हेटौंडा महाधिवेशनभन्दा पनि झन् आक्रामक रूपमा नेकपा–माओवादीविरुद्ध प्रस्तुत भएका छन्। उनले पेस गरेको राजनीतिक प्रतिवेदनको अधिकांश पाना नेकपा–माओवादीलाई लगाइएको आरोप प्रत्यारोपले भरिएका छन्। पार्टीले चुनावमा करारी हार बेहोर्नुमा फुटेर गएको तप्काले प्रतिक्रियावादीसँग गरेको सम्झौता मुख्य कारण रहेको प्रचण्डले आफ्नो प्रतिवेदनमा प्रमुखताका साथ उठाएका छन्। उनले भनेका छन्– विभाजित भएर गएकाहरूले कांग्रेस–एमालेसँग पैसा खाएर उनैलाई भोट हाले, बहिष्कार गर्ने भनियो, तर उनीहरूको भोट हामीलाई हराउन प्रयोग भयो। पार्टी विभाजनअघि कहिले मोहन वैद्यतिर र कहिले बाबुराम भट्टराईतिर नजिक भएर सर्वशक्तिवान बनिरहेका अध्यक्ष प्रचण्ड पार्टी विभाजनपछि बाबुरामबाट निकै अप्ठेरोमा परेका छन्। सामर्थ्य पुगेसम्म पार्टी विभाजन गर्ने अभियानमा रहेका बाबुरामलाई ठीक पार्न प्रचण्डले मोहन वैद्यसँग सम्झौता गर्नसक्ने अनुमान वामवृत्तमा हुनु स्वाभाविकै हो। तर जारी केन्द्रीय समितिमा भने उनले त्यस्तो कुनै संकेत देखाएका छैनन्। प्रचण्ड फुटेर गएको समूहसँग जति आक्रामक रूपमा प्रस्तुत भएका छन्, त्यतिनै आक्रामक रूपमा आफ्नै पार्टीका नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठविरुद्ध पनि प्रस्तुत भएका छन्। वरिष्ठ नेता भट्टराई नेतृत्वको सरकारले गरेका कतिपय जनविरोधी, वर्गविरोधी र राष्ट्रविरोधी निर्णय तथा नियुक्तिका कारण पार्टीले पराजय बेहोर्नु परेको ठहर पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा गरेका छन्। डोजर लगाएर सुकुम्वासीका घर भत्काउने निर्णय, भारतसँग बिप्पा सन्धि गर्ने निर्णयलगायतका कदमले जनता गौरवशाली पार्टी एमाओवादीसँग रुष्ट बनेको उल्लेख गर्दै प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्– ‘खिलराज रेग्मीको सट्टा राजनीतिक नेतृत्वको सरकार गठन गरिएको भए, निलकण्ठ उप्रतीको सट्टा अरु कसैलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्न सकिएको भए पार्टीले यो हार बेहोर्नु पर्ने थिएन, तर हाम्रै जिम्मेवार साथीहरूको गलत अडानका कारण हामीविरुद्ध षड्यन्त्र गर्नेहरू निर्वाचन गराउने निकायमा हावी भए।’ प्रचण्डले भट्टराईमाथि आरोप लगाउँदै आफ्नो प्रतिवेदनमा भनेका छन्– आफूले मनोगत निर्णय गर्ने, त्यो निर्णय पार्टीबाट अनुमोदन गराउन अध्यक्षलाई बाध्य पार्ने र त्यसमा भएका कमजोरी अध्यक्षमाथि थोपर्ने प्रवृत्ति पार्टीका लागि घातक हो। यसैगरी, अर्का नेता नारायणकाजीमाथि प्रहार गर्दै अधक्ष प्रचण्डले भनेका छन् –पार्टी र सरकारले गरेका निर्णयविरुद्ध जहिले पनि स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्ने घातक प्रवृत्ति जिम्मेवार साथीहरूमा देखिएको छ। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार छलफलका क्रममा प्रचण्ड पक्ष आक्रामक र बाबुराम पक्ष रक्षात्मक देखिएको छ। कुनै बेला बाबुरामका दाहिने हात भनेर चिनिने राम कार्कीले बैठकमा सबैभन्दा बढी अलोचना बाबुराम र नारायणकाजीकै गरेका थिए। बैठकमा बाबुरामको पक्षमा बोलिदिने गंगा श्रेष्ठबाहेक अर्को प्रभावशाली केन्द्रीय सदस्य देखिएका छैनन्। गंगा श्रेष्ठले भने बाबुरामको सर्मथन र प्रचण्डको विरोधमा जमेरै बोलेका थिए। उनको भनाइ थियो– चुनावमा पार्टी हार्नुमा मुख्य कारण नेतृत्वकै कमजोरी हो, नेतृत्वले आत्मालोचना गर्नै पर्छ। चुनावका क्रममा अध्यक्षले आफ्नो नातागोतालाई छानीछानी उम्मेदवार बनाउनु, मेचीदेखि महाकालीसम्म तडक–भडकपूर्ण चुनाव प्रचार गरिँदा पनि कतिपय उम्मेदवारले पर्चा छाप्नेसम्मको रकम नपाउनु , हेलिकोप्टर चढेर चुनाव प्रचार गर्नुलगायतका कारणहरूबारे गम्भीर हुन आग्रह गर्दै श्रेष्ठले भने– ‘हेलिकोप्टर चढेर आउनेहरूलाई भोट दिँदैनौ भनेर मेरो क्षेत्रका मतदाताले भनेका थिए, मैले नेतृत्वलाई हेलिकोप्टर चढेर सिन्धुली नआउन भनेको पनि हो, तर अध्यक्षज्यू हेलिकोप्टर चढेरै सिन्धुली पुग्नुभयो, मैले चुनाव हारें।’ एकल जातीय राज्यको नारा बोकेका कारण जनताले भोट नदिएको कुरामा भने एमाओवादीको सिंगो केन्द्रीय समिति कन्भिन्स भएको छ। एकल जातीय पहिचानको एजेन्डा घातक भएको भन्दै प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा जातीय संगठनहरू सबै विघटन गर्ने प्रस्ताव राखेका छन्। यो प्रस्तावलाई गोपाल किराँतीलगायत दुई दर्जन केन्द्रीय सदस्यबाहेक बाँकी सबैले स्वागत गरेका छन्। प्रचण्डले आफ्नो प्रतिवेदनको १२औं नम्बर बुँदामा उल्लेख गरेका छन्– खस–आर्य जातिका श्रमजीवी जनसमुदायको हकअधिकार र पहिचानको बारेमा स्पष्ट नीति आवश्यक छ भन्ने कुरा पनि यसपटकको निर्वाचनले स्पष्ट देखाएको छ, तसर्थ प्रदेशहरूको भौगोलिक विभाजन एवं नामाकरणमा पनि विचार पुर्याकउनु जरुरी छ। उनले प्रतिवेदनमा भनेका छन्– प्रदेशहरूको संख्या नामाकरण तथा कार्यकारी प्रमुखका नामका बारेमा अन्य राजनीतिक पक्षसँग आवश्यक सहमति र समझदारी बनाउन प्रयत्न गर्ने पार्टी नीति रहनेछ। तत्काल स्थानीय निर्वाचनलाई भन्दा नयाँ संविधान निर्माण गर्ने मुद्दालाई प्राथमिकता दिने कुरा पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई