दाहाल, भट्टराई र श्रेष्ठको चर्काे आलोचना

४ माघ २०७०, शनिबार ०६:५३ मा प्रकाशित

काठमाडौं, ४ माघ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको चर्काे आलोचना गरेका छन् ।
दाहाल, भट्टराई र श्रेष्ठकै कार्यशैली र चिन्तनका कारण जनताको बीचमा पार्टी नांगिन पुगेको र संविधानसभा निर्वाचनमा पार्टीको अवस्था दयनीय बनेको भन्दै केन्द्रीय सदस्यहरूले उनीहरूको चर्काे आलोचना गरेका हुन् ।

बिहीबारबाट जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै अधिकांश नेताहरूले पार्टी नेतृत्वले आफ्नो वैचारिक राजनीतिक दिशा स्पष्ट पार्न नसकेको भन्दै आलोचना गरेका छन् । कम्युनिस्ट आन्दोलनमा संसदवादी दक्षिणपन्थी धारको नेतृत्व एमालेले गर्ने र मुखले भए पनि क्रान्तिकारी धारको नेतृत्व नेकपा–माओवादीले गर्ने अवस्था देखिँदा पनि आफ्नो पार्टीको धार स्पष्ट पार्न नसकेको भन्दै केन्द्रीय सदस्यहरू नेतृत्वविरुद्ध खनिएका हुन् ।

अध्यक्ष दाहालको राजनीतिक प्रस्तावमाथि शुक्रबार सुझाव दिँदै नेताहरूले वैचारिक राजनीतिकदेखि सांगठनिक सम्पूर्ण जिम्मेवारी नेतृत्व आफैंले लिएर निरंकुश बन्ने नभई जिम्मेवारी बाँडफाँट गर्नुपर्ने अडान राखेको एक सदस्यले जानकारी दिए ।

‘वर्षांसम्म एउटै व्यक्तिको पेरिफेरीमा नेतृत्वलाई कैद बनाएर राख्न खोज्नु कम्युनिस्ट चरित्र नभएको’ भन्दै उनीहरूले पार्टीमा उत्तराधिकारी निर्माण गर्दै नेतृत्व हस्तान्तरणको प्रश्नमा जोड दिएका छन् । एमाओवादीमा अध्यक्ष दाहाल दुई दशकदेखि नेतृत्वमा छन् ।

अध्यक्ष दाहालसहित नेताहरू भट्टराई र श्रेष्ठले पार्टी पुनर्निर्माण गर्ने चाहेका हुन् भने जारी बैठकमा आ–आफ्नो दस्तावेज ल्याउन सक्नुपर्नेमा पनि कतिपय नेताहरूले जोड दिएका थिए । पार्टी बैठकमा भन्दा पनि सामाजिक सञ्जालदेखि निवासमै पत्रकार बोलाएर असन्तुष्टि प्रकट गर्ने काम अध्यक्षदेखि भट्टराई र श्रेष्ठसम्मले गरेर पार्टीभित्र गुटबन्दी गरेको भन्दै नेताहरूले आलोचना गरे । ‘अध्यक्षले पनि पूर्वउपाध्यक्षद्वयले दस्तावेज ल्याउँछन् कि भनेर डराउने र पूर्वउपाध्यक्षद्वय पनि दस्तावेज ल्याउँदैमा अध्यक्षले पेल्छन् कि भनेर डराउने प्रवृत्ति यस पटक देखियो, जुन गलत छ,’ एक केन्द्रीय सदस्यले भने ।
‘पूर्वउपाध्यक्षद्वयले उठाएको विषय भागबन्डाजस्तो देखिए पनि त्यहाँभित्र वैचारिक/सैद्धान्तिक पक्ष पनि रहेको देखिन्छ,’ बैठकमा नेताहरूले राखेको धारणा उद्धृत गर्दै अर्का सदस्यले  भने, ‘यदि वैचारिक पक्षबाट पार्टी साँच्चै बनाउने नियतका साथ नेताहरूले विषय उठाएको हो भने दस्तावेज ल्याउन सक्नुपथ्र्यो, किन नल्याएको ?’
धाँधलीका कारण निर्वाचनमा पराजय भएको नेताहरूको भनाइप्रति समेत बैठकमा कडा प्रतिवाद भएको थियो । ‘संविधानसभा निर्वाचनमा पार्टी आन्तरिक कारणले नै हारेको हो,’ बैठकमा केन्द्रीय सदस्य कर्णध्वज केसीले राखेको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘हामीले जनताका बीचमा चित्तबुझ्दो काम गर्न सकेनौं, आफ्नै कारणले हारेका छौं, यो कुरा प्रस्ट भन्न किन लाज मान्ने ? चेहरा छोप्ने गरी जिम्मेवार पार्टीले विभिन्न शब्दावलीको प्रयोग गरेर जनतालाई झुक्याउने काम गर्नहुन्न ।’

नेता हेमन्तप्रकाश वलीले भने पार्टीमा आफूले पु¥याएको योगदानको स्मरण गराउँदै समानुपातिक सभासद् छनोटमा पार्टी नेतृत्वले वर्ग दृष्टिकोण भुलेर पैसाको चलखेलमा पार्टी सदस्यता नै नलिएकालाई सभासद् बनाएको बताए । ‘समानुपातिकमा वर्ग दृष्टिकोण च्यूत भयो, पैसाको चलखेलमा सभासद् छानियो,’ नेता वलीले बैठकमा भने, ‘चतु-याइँ गर्ने, चंख, छट्टु र दादागिरी गर्नेले धम्क्याएर समानुपातिक सभासद् छनोटका क्रममा पार्टीमा हैसियत कायम देखाए, यसमा मलाई दुःख लागेको छ ।’ उनले पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको नाम पटकपटक उल्लेख गर्दै ‘उनको पार्टी सदस्यता कहिलेको हो ?’ भन्दै नेतृत्वले जवाफ दिनुपर्ने माग गरेका थिए ।
नेता राम कार्कीले भने यस पटकको बैठकमा अध्यक्ष दाहाल र नेता भट्टराईको विचारको बीचमा रहेर धारणा राखेका छन् । कार्कीले पार्टीले पहिचानको रजनीति गर्दा वर्गीय मुद्दा छाडेकाले निर्वाचनमा पराजय भोग्नुपरेको बताए । उनले सर्वहारा वर्गले जित्ने भए मात्रै आत्मनिर्णयको अधिकार राख्नुपर्ने अन्यथा राख्न नहुनेमा जोड दिएका थिए । उनले पार्टीले वर्गीय मुद्दा छोड्दै गएपछि जातीय मुद्दा बढी उठेको भन्दै त्यसलाई सच्याएर वर्गकै प्रश्न उठाउनुपर्ने धारणा राखेका थिए । भट्टराईनिकट भनी चिनिएका कार्की समानुपातिक तर्फबाट सभासद् छनोट भएका छन् ।

शुक्रबारको बैठकमा गंगा श्रेष्ठ, हेमन्तप्रकाश वली, हितबहादुर तामाङ, झलकपाणी तिवारी, राम कार्की, हरि अधिकारी, घनश्याम शर्मा पौड्याल, कर्णध्वज केसी, सत्या पहाडी, विष्णुहरि शर्मालगायत २६ जनाले धारणा राखेका थिए ।

कतिपय केन्द्रीय सदस्यले भने अध्यक्षले पार्टी कमिटी सानो बनाउने भनी ल्याइएको प्रस्तावको विरोध गरेका छन् । ‘हिजो जस्तालाई पनि पार्टीमा हुलेर ठूलो कमिटी बनाउँदा नेतृत्वले कोहीकसैलाई सोध्नुपरेन, मनखुसी गर्न छुट भयो, आज कमिटी सानो बनाउने नाममा कतिपय नेताहरूको पद खाइदिने एजेन्डा आएको छ, यो पनि सोध्दै नसोधी ल्याइएको छ, यसले पार्टी बनाउँदैन,’ केही केन्द्रीय सदस्यको भनाइ थियो ।

नेताहरूले दाहालको दस्तावेज सुन्दर भए पनि संश्लेषण पक्ष कमजोर भएको, संगठन र नेतृत्वको कार्यशैलीमा तालमेल हुन नसकेको विषयमा टिप्पणी गरेका थिए । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो