क्यालिफोर्निया पछि मेरिल्याण्डले दिने भयो आप्रवाशिलाई ड्राइभिङ्ग लाइसेन्स

३ माघ २०७०, शुक्रबार २३:२१ मा प्रकाशित

किशोर पन्थी, बाल्टिमोर, ३ माघ । हजारौं नेपालीहरुले अमेरिकामा यहाँको नागरिकता लिइसकेका छन् । हजारौं नेपालीहरु ग्रिनकार्ड होल्डर छन् । हजारौं नेपालीहरु विद्यार्थी लगायतका विभिन्न भिसामा कानुनी हैसियतमा बसोबास गरिरहेका छन् । अरु हजारौं नेपालीहरु एसाइलम एप्लाई गरेर बसेका छन् । उनीहरु सबैको भन्दा अमेरिकामा अरु हजारौं नेपालीको जीवन थप कष्टकर छ, जो पूर्णत कागजपत्रविहिन रहेका छन् । कागजपत्रविहिन भएकाले उनीहरुसँग आफ्नो परिचय खुल्ने कुनै अमेरिकन कागजात छैन । जसका कारण उनीहरुले विभिन्न स्थानमा जाँदादेखि फोटो सहितको परिचयपत्र चाहिने विभिन्न प्रयोजनमा सास्ती पाउँदै आएका छन् । तर अब भने यस्तो सास्ती अलिकति कम हुने भएको छ । किनभने कागजपत्रविहिनहरुले पनि अमेरिकाका कैयन राज्यहरुमा अब ड्राइभर लाइसेन्स र परिचयपत्र पाउने भएका छन् । जसबाट अमेरिकामा रहेका हजारौं नेपालीहरु पनि लाभान्वित हुने भएका छन् ।

न्युयोर्कमा कागजपत्रविहिनहरुले परिचयपत्र वा ड्राइभर लाइसेन्स पाउन नसक्ने भएपनि नजिकैको छिमेकी राज्य मेरिल्याण्मा भने अब कागजपत्रविहिन भई गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरुले पनि परिचयपत्र वा ड्राइभर लाइसेन्स पाउने भएका छन् । जसका कारण हजारौंले ड्राइभर लाइसेन्स र परिचयपत्रका लागि आवदेन दिएका छन्, जसमा नेपालीहरु समेत रहेका छन् । मेरिल्याण्डको मोटर भेइकल एडमिनिष्ट्रेशनमा परिचयपत्र र ड्राइभर लाइसेन्सका लागि विहिबारसम्म कागजपत्रविहिन हजारौंका आवेदन परेका थिए । अहिलेदेखि फ्रेबु्रअरीसम्मका लागि १३ हजार अप्वाइन्टमेन्टहरु तालिकामा राखिएको मोटर भेइकल एडमिनिष्ट्रेशनले जानकारी दिएको छ । अप्वाइन्टमेन्टहरु गत नोभेम्बरदेखि तालिकामा राख्न थालिएपनि जनवरी २ तारिख भन्दा अगाडिसम्म पहिलो अप्वाइन्टमेन्ट पनि लिइएको थिएन । पहिलो दिन जनवरी २ मा ७ सय ९० जनाको अप्वाइन्टमेन्ट लिइएको थियो भने जनवरी ३ शुक्रबार ७ सय ७० जनाको अप्वाइन्टमेन्ट लिइएको थियो । यद्यपी हरेक दिन ८ सय जनासम्मको अप्वाइन्टमेन्ट लिने प्रयास भइरहेको छ ।
कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स र परिचयपत्रका लागि आवेदन दिने चाप उच्च रहेका कारण मेरिल्याण्डमा थप ६५ जना कर्मचारीहरु समेत नियुक्त गरिएको छ । कागजपत्रविहिनहरुले लाइसेन्स पाउने प्रावधान ल्याइएपनि उनीहरुले विगत दुईवर्षदेखि मेरिल्याण्डमा आयकर तिरेको हुनुपर्नेछ । त्यसैले आवेदन दिन जानेहरुले हातमा दुईवर्षदेखि आयकर तिरेको कागजात, ट्याक्स आईडी नम्बर र दुईवर्षदेखि मेरिल्याण्डमा नै बसेको देखिने प्रमाणसहितका कागजात बोकेर जानुपर्छ । मेरिल्याण्डमा कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स र परिचयपत्र दिनका लागि गत मे २ मा नयाँ कानुन पारित गरिएको थियो । सन् २०१४ को जनवरी २ देखि लागु हुनेगरी त्यो कानुन पारित गरिएको हो ।
यो कानुन अनुशार कुनै कानुनी हैसियत नभएका वा सोसल सेक्युरिटी नम्बर नभएकाहरुले पनि ड्राइभर लाइसेन्स र परिचयपत्र पाउनेछन् । यसरी पाइने ड्राइभर लाइसेन्स र परिचयपत्र संघीय उद्देश्यका लागि भने प्रयोग गर्न नपाइने जनाइएको छ । कागजपत्रविहिनहरुलाई दिने ड्राइभर लाइसेन्स र परिचयपत्र अन्यलाई दिइने ड्राइभर लाइसेन्स र परिचयपत्र भन्दा फरक हुनेछ ।
अन्य तीन राज्यमा पनि सुरु
न्युयोर्क नजिकैको मेरिल्याण्डमा मात्र होइन, जनवरी २ देखि नै लागु हुने गरी अरु तीनवटा राज्यमा पनि कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स र परिचयपत्र दिइने कानुन ल्याइएको छ । ती राज्यहरु नेभाडा, ओरेगन र भर्मोन्ट हुन् । नेभाडा, ओरेगन र भर्मोन्ट राज्यमा पनि नेपालीहरुको बाक्लो उपस्थीति रहेको छ । यसक्षेत्रमा बसोबास गर्दै आएका कागजपत्रविहिन नेपालीहरुले पनि अब ड्राइभर लाइसेन्स र परिचयपत्र पाउने भएका छन् । नेभाडामा गत मे ३१ मा जनवरी २ देखि लागुहुने गरी यस्तो कानुन पारित गरिएको थियो भने ओरेगन मे १ तारिखमा यस्तो कानुन पारित गरिएको थियो । त्यस्तै भर्मोन्टमा भने जुन ५ मा यस्तो कानुन पारित गरिएको थियो ।
भर्मोन्टमा आफ्नो जन्ममिति, नाम र जन्मेको स्थान प्रमाणित गर्ने कागजात भएका कागजपत्रविहिन जो सुकैलाई पनि ड्राइभर लाइसेन्स र परिचयपत्र दिइनेछ । त्यसमा पासपोर्ट, सम्बन्धित देशको कन्सुलरले प्रदान गर्ने परिचयपत्र वा अन्य कागजपत्र पनि स्वीकार गरिनेछ । फेडरल आइडेन्टीफिकेशन र अफिसियल उद्देश्यका लागि भने त्यस्तो ड्राइभर लाइसेन्स र परिचयपत्र प्रयोग गर्न पाइनेछैन । त्यस्तो ड्राइभर लाइसेन्स र परिचयपत्रको म्याद जारी भएको मितिले वाहकवालाको दोश्रो जन्मदिनसम्मका लागि तोकिएको छ ।

नेभाडामा एकवर्षको लागि त्यस्तो ड्राइभर लाइसेन्स र परिचयपत्र जारी गरिनेछ । त्यसका लागि त्यती धेरै कागजात जुटाउनु नपर्ने भएकाले ड्राइभर लाइसेन्स र परिचयपत्र लिन चाहनेका लागि तुलनात्मक रुपमा अलिक सजिलो रहेको छ । त्यस्तै ओरेगनमा भने यसरी कागजपत्रविहिनहरुलाई दिइने ड्राइभर लाइसेन्स र परिचयपत्र चारवर्षका लागि हुनेछ । ओरेगनमा आफ्नो पासपोर्ट वा कन्सुलरले प्रदान गर्ने पत्रका आधारमा कागजपत्रविहिन जो सुकैले पनि ड्राइभर लाइसेन्स र परिचयपत्र पाउन सक्नेछन् । तर ड्राइभर लाइसेन्स र परिचयपत्र लिने व्यक्ति एकवर्षसम्म ओरेगनमा बसेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । जसका लागि एकवर्षसम्म ट्याक्स फाइल गरेको कागजात वा तोकिएका अन्य कागजात पेश गर्नुपर्ने हुन्छ ।
केही राज्यमा अलिक पछि

केही राज्यमा भने अलिक पछिबाट मात्र गैरकानुनी रुपमा अमेरिकामा बसेका कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स र परिचयपत्र दिने कानुन प्रभावकारी हुने भएको छ । क्यालिफोर्नियामा सन् २०१५ को जनवरी १ बाट कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स र परिचयपत्र दिइने छ । यदि मोटर भेइकल डिपार्टमेन्ट तयार भएमा त्यो भन्दा अगाडि नै ड्राइभर लाइसेन्स र परिचयपत्र दिनसकिने पनि उल्लेख थियो । यो कानुन गत अक्टोबर ३ मा पारित भएको थियो । यसरी दिइने परिचयपत्रलाई ड्राइभर पास नाम दिइएको छ ।

त्यस्तै कोलोराडोमा आगामी अगस्त १ देखि कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स र परिचयपत्र दिइने भएको छ । जसका लागि गत जुन ५ मा कानुन पारित भएको थियो । कोलोराडोमा ड्राइभर लाइसेन्स र परिचयपत्र पाउनका लागि दुईवर्षसम्म त्यहाँ बसेको र विगत १ वर्षमा ट्याक्स फाइल गरेको हुनुपर्छ । साथै परिचय खुल्ने पासपोर्ट, कन्सुलरको पत्र वा अन्य कागजात समेत पेश गर्नुपर्ने हुन्छ । त्यसैगरी कनेक्टिकटमा सन् २०१५ को जनवरी १ देखि कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स दिइनेछ । यो कानुन गत जुन ६ मा पारित गरिएको थियो । कुनै अपराधमा संलग्न भएको व्यक्तिलाई भने ड्राइभर लाइसेन्स प्रदान गरिने छैन । यो लाइसेन्स केबल गाडी चलाउने प्रयोजनका लागि मात्र हुनेछ ।
त्यसैगरी वासिंटन डिसीमा आगामी मे १ बाट कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स दिइनेछ । जुन ८ वर्षका लागि कामयावी हुनेछ । वासिंटन डिसीमा ६ महिनाभन्दा लामोसमय बसोबास गरेका जो सुकैलाई पनि यस्तो लाइसेन्स प्रदान गरिनेछ । यो कानुन गत नोभेम्बर १८ मा पारित गरिएको थियो । त्यसैगरी पुर्तोरिकोमा पनि आगामी अगस्त ७ बाट कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स र परिचयपत्र दिइनेछ । कम्तीमा एकवर्ष पुर्तोरिकोमा बसेका कागजपत्रविहिनहरुले आफ्नो पासपोर्ट वा कन्सुलरको पत्र लिएर गएमा ड्राइभर लाइसेन्स वा परिचयपत्र प्राप्त गर्न सक्नेछन् । पुर्तोरिकोको लागि यो कानुन गत अगस्त ७ मा पारित गरिएको थियो ।
पहिलेदेखि नै ड्राइभर लाइसेन्स र परिचयपत्र
अमेरिकाका केही राज्यहरुमा भने पहिलेदेखि नै कागजपत्रविहिनहरुले पनि ड्राइभर लाइसेन्स र परिचयपत्र पाउने प्रावधान रहेको थियो । इलिनोइचमा गत नोभेम्बर २८ देखि कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स र परिचयपत्र दिन थालिएको थियो । जसका लागि गत जनवरीमा कानुन पारित गरिएको थियो । इलिनोइच राज्यमा कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स र परिचयपत्र पाउनका लागि अवधि नसकिएको आफ्नो देशको पासपोर्ट वा सम्बन्धित देशको दुतावासले परिचय खुलाइदिएको पत्र पेश गर्नुपर्ने प्रावधान छ ।
त्यसैगरी न्यु मेक्सिको राज्यमा सन् २००३ देखि नै कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स र परिचयपत्र पाउने व्यवस्था गरिएको थियो । सन् २००३को मार्च १८ तारिखमा त्यस्तो कानुन पारित गरिएको थियो । परिचय खुल्ने कुनै पनि आधिकारिक कागजात पेश गर्नेले न्यु मेक्सिकोमा ड्राइभर लाइसेन्स र परिचयपत्र पाउदै आएका छन् । अमेरिकामा सबैभन्दा पहिले कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स र परिचयपत्र दिन सुरु गरेको राज्य नै न्यु मेक्सिको हो ।
अमेरिकाको युटाह राज्यमा पनि सन् २००५ को मार्च ८ देखि कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स र परिचयपत्र दिन थालिएको थियो । सन् २००५ को मार्च ८ मा नै यो कानुन पारित भएकै दिनदेखि कानुन कार्यान्वयन गरिएको थियो । युटाह निवासी भएको प्रमाणित गर्न सक्नेलाई एकवर्षसम्मको अवधि रहेको ड्राइभर लाइसेन्स र परिचयपत्र प्रदान गरिदै आएको छ । त्यसैगरी वासिंटन राज्यमा सन् २००४ को जुन १० देखि कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स र परिचयपत्र दिन थालिएको हो । सन् २००४ को मार्च ३१ म कानुन पारित भइसकेपछि आफ्नो परिचय खुल्ने पासपोर्ट वा कन्सुलरको पत्र पेश गर्ने व्यक्तिलाई ड्राइभर लाइसेन्स दिन थालिएको थियो ।
अहिलेसम्म पारित कानुन अनुशार अमेरिकामा सन् २०१५ सम्ममा कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स वा परिचयपत्र प्रदान गर्ने राज्यको संख्या वासिंडन डिसी सहित एकदर्जन अर्थात् १२ हुनेछ भने पुर्तोरिको समेत जोड्दा यो संख्या १३ हुनेछ । अन्य केही राज्यहरुमा पनि कागजपत्रविहिनहरुलाई समेत ड्राइभर लाइसेन्स वा परिचयपत्र दिनका लागि कानुन ल्याउने प्रयास भइरहेको छ ।
नेशनल इमिग्रेशन ल सेन्टरका अनुशार वासिंटन डिसी र पुर्तोरिको बाहेक अमेरिकाका ५० वटा राज्यहरुमध्ये ३९ वटा राज्यमा ड्राइभर लाइसेन्स वा परिचयपत्र प्राप्त गर्नका लागि अमेरिकाको कानुनी हैसियतसहितको कागजपत्रभएको व्यक्ति हुनुपर्छ । त्यसैले ३९ वटा राज्यहरुबाहेक अमेरिकाको फेडेरल डिस्ट्रक्टका रुपमा रहेको वासिंटन डिसी, अमेरिका स्वसासित क्षेत्रका रुपमा रहेको पुर्तोरिको र अन्य ११ वटा राज्यमा बसोबास गर्ने कागजपत्रविहिनहरुलाई पनि सहज अवस्था आएको छ । ती राज्यहरुमा बस्ने हजारौं कागजपत्रविहिन नेपालीहरु ति राज्यहरुमा ल्याइएको कानुनबाट लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी