नेपाल-बेलायत दौत्य सम्बन्धको दोहोरो शतक

३ माघ २०७०, शुक्रबार ०३:४४ मा प्रकाशित

लण्डन । जनवरी महिनाको पहिलो सोमबार लण्डनस्थित नेपाली दूतावासको माहौल भिन्न थियो । धेरैजसो कार्यक्रमहरुमा नेपाली तथा नगण्य विदेशीको सहभागिता हुने दूतावास हलमा त्यस दिन विदेशीहरु धेरै थिए, त्यो पनि भिन्न आकर्षणका साथ ।

संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको मन्द मुस्कान त छँदै थियो, त्यसमाथि पनि हल्का खरानी रंगको कोट पहिरिएका उनी दूतावासको गेटमा अतिथि सत्कारमा व्यस्त देखिन्थे । एक जुगमा एक दिन एक पटक आउँछ भनेजस्तै थियो दूतावासको अवस्था । सहभागीहरु एक जुग अर्थात् दुई सय वर्षको अवसरमा आउने त्यो दिनको व्यग्र प्रतिक्षामा थिए ।

हो, नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापनाको २ सय वर्ष गाँठ मनाउन यी सबै तयारी थियो दूतावासमा । सन् १८१६ मा स्थापित नेपाल-बेलायत दौत्य सम्बन्धको दोहोरो शतक दुवै देशले भव्य रुपमा मनाउने तयारीअनुरुप नेपालले शुरुवाती कार्यक्रम आयोजना गरेको थियो । सन् २०१६ मार्च ४ मा दौत्य सम्बन्धको दुई शताब्दी पुग्ने भए पनि दुई देशले अबका बाँकी दुई वर्षभर विशेष कार्यक्रम गरी वर्षगाँठ मनाउने योजनाबमोजिम गएको सोमबार सुरुआती कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।

सोमबारको कार्यक्रमलाई विशेष तथा रमणीय बनाउन गोर्खा बि्रगेडका पाइपर धुनले पाहुनाहरुलाई स्वागत गरिएको थियो । चारवर्षे कार्यकालको पूर्वार्द्धदेखि नै नेपाल र बेलायतको सम्बन्धलाई मजबुत बनाउन धेरै स्मरणीय काम गरेका राजदूतले कार्यकालको उत्तरार्द्धमा अझै स्मरणीय बनाएका छन् । उनले नेपाली समाजको विकास, उत्थान तथा समुदाय संयोजनमा विशेष भूमिका निर्वाह गरेका थिए ।

चालिसेले कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्द्धन र स्थानीय समुदायबीच सामाजिक समायोजनमा समेत बल पुग्ने अपेक्षासमेत गरेका छन् । नेपालीहरुका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदा समुदाय संयोजनलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिंदै आएका राजदूत चालिसेको यो पछिल्लो कार्यक्रमले त्यसलाई पुष्टि गरेको छ । त्यो साँझ चालिसेले बेलायती मन्त्री, सांसद, मेयर लगायतलाई नेपाली खाना, पेय पदार्थ तथा नेपाली आतिथ्यताको राम्रै आभाष दिए ।

विशेष तामझामका साथ नेपालका परराष्ट्र सचिव अर्जुनबहादुर थापा, नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका सभापति सर जोन स्ट्यान्ली, दक्षिण एसिया तथा एसिया मामिला हेर्ने मन्त्री ह्युगो स्वार, डिफिड मन्त्री एलेन डन्कन र नेपाली राजदूत चालिसेले संयुक्त रुपमा रिबन काटेर दौत्य सम्बन्धको वर्षगाँठ उद्घाटन गरेका थिए ।

बेलायतले भने दुई देशबीचको सम्बन्धको दुई शतवाषिर्की पूरा भएको उपलक्ष्यमा आगामी सेप्टेम्बरमा कार्यक्रम गर्ने तयारी गरिरहेको बताइएको छ । कार्यक्रममा दुई दर्जन बढी बि्रटिश सांसद, ४० बढी स्थानीय मेयरहरु, नेपालका लागि बेलायतका पूर्वराजदूतहरु, बेलायतका लागि भारतीय राजदूत रञ्जन मथाई, डिन अफ डिप्लोम्याटिक कप्र्स्, रक्षा मन्त्रालयका प्रतिनिधि, लिनियन सोसाइटी अफ लण्डनका अध्यक्ष र वैज्ञानिकहरु, बेलायती परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु लगायत बेलायती एवं नेपाली विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा परराष्ट्र सचिव थापाले नेपाल बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सद्भावना र सहकार्यले झन् प्रगाढ भएको बताए । उनले नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका सभापति सर जोन स्ट्यान्लीलाई विशेष सम्मान गरेका थिए । मन्तव्यका क्रममा स्ट्यान्लीले नेपाल, नेपाली जनता र गोर्खाहरुको योगदानको खुलेर प्रशंसा गरे । बि्रटेनको आम्र्ड फोर्सेस् मन्त्री हुँदा -सन् १९८३ देखि ८७सम्म) आफूले पहिलो पटक नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाली जनताले दिएको आतिथ्यता, माया र प्राकृतिक सौन्दर्य कहिल्यै नभुल्ने बताए ।

डीएफआईडी मन्त्री एलन डंकनले बेलायत नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र बन्न पाउँदा प्रसन्नता व्यक्त गरे । दक्षिण एसिया तथा एसिया मामिला हेर्ने मन्त्री ह्युगो स्वांरले राजनीतिक स्थिरता र नयाँ संविधान लेखनपछि नेपालमा बेलायती लगानी बढ्ने विश्वास दिलाउँदै आपसी हितका लागि बेलायत सधैं अग्रसर रहने जनाए । स्वांरले बि्रटिस गोर्खा दीपप्रसाद पुन एक्लैले कयौं तालिवानी लडाकुलाई मारेको घटना प्रस्तुत गर्दै गोर्खाको योगदान पनि स्मरण गरे ।

राजदूत चालिसेले बेलायत र नेपाल बीचको दौत्य सम्बन्ध पछिल्ला वर्ष अझ प्रगाढ बन्दै गएको बताए । त्यस्तै, नेपालका लागि बेलायती राजदूत एन्ड्रु स्पार्कले पनि आफ्नो नेपाल अनुभव साटेका थिए ।

कार्यक्रमको सफलताका लागि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, नेपालका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे तथा बेलायती विदेशमन्त्री विलियम हेगले पनि शुभकामना सन्देश दिएका थिए ।

कार्यक्रममा गौतम बुद्धको जन्मस्थल उत्खनन् र संरक्षणका लागि युनेस्को टोलीको नेतृत्व गरेका डरहम विश्वविद्यालय बेलायतका प्राध्यापक तथा भाइस चान्सलर रोविन कङ्गमले पावर पोइन्टमार्फत् गौतम बुद्धबारे तथ्यगत जानकारी दिए । प्राध्यापकको सो प्रस्तुतिले बेलायतका उच्च पदस्थ पदाधिकारीहरुलाई गौतमबुद्ध नेपालमा जन्मेको कुरा प्रष्ट भएको थियो । रोयल बोटानिकल गार्डेन एडिनवराका डा. मार्क वाट्सनले कार्यहरुको बेलिविस्तार लगाएका थिए ।

विशिष्ट कार्यक्रम

दूतावासमा भएको कार्यक्रम असाध्यै राम्रो र विशिष्ट भएको व्यवसायी एवं एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले बताए । विभिन्न देशका राजदूतहरु, विभिन्न बरोका मेयरहरु, मन्त्रीहरु बोलाएर कार्यक्रम गर्नु साह्रै उत्कृष्ट र सराहनीय भएको उनको भनाइ थियो । गोर्खा बि्रगेडमा माथिल्लो तप्काका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको कार्यक्रममा नेपाल-बेलायत सम्बन्ध थप प्रगाढता बढाएको उनले दाबी गरेका छन् । बेलायतमा ग्राजुयसन गरेका युवायुवतीहरुलाई पनि राम्रो प्लेटर्फम मिलेको गुरुङले बताए ।

स्थानीय नेपाली व्यवसायीको पहलमा सम्पन्न भएको कार्यक्रममा नेपाली खानालाई धेरै पाहुनाहरुले रुचाएका थिए । गुरुङले भने, “नेपालीखाना रुचाउनुभनेको नेपाली व्यवसायमा केही टेवा पुग्नु हो, यसले नेपाली पर्यटन, व्यवसाय र दुई देश बीचको सम्बन्धमा नयाँ आयाम थपेको छ ।”

दूतावासले दौत्य सम्बन्धको अवसरमा आयोजना गरेको कार्यक्रम अहिलेसम्मकै महत्वपूर्ण भएको युवा व्यवसायी राजन कँडेलले बताए । “बेलायतस्थित नेपाली व्यवसायीहरुलाई प्रोत्साहन मात्र होइन, यस कार्यक्रमले माथिल्लो तहमा सम्बन्ध विस्तार गरिदिएको छ”, कँडेलले भने, “अबका दिनमा स्थानीय क्षेत्रमा रहेका नेपालीहरुप्रति स्थानीय मेयरहरुको धारणा परिवर्तन हुनसक्छ ।” यहाँका मन्त्री, मेयर तथा उच्च कूटनीतिज्ञसँगको भेटले नेपाली समुदायको आत्मविश्वास बढेको छ । यसले उनीहरुको विकासमा पनि टेवा पुर्‍याउने उनको भनाइ थियो ।

सोमबार साँझ रिसेप्सनमा नेपाली खाना र पेय पदार्थ प्रवर्द्धन गर्ने दूतावासको लक्ष्यअनुरुप दूतावासमा स्थानीय नेपाली व्यवसायीहरुले त्यसको प्रबन्ध गरेका थिए । नेपाली खाना बि्रटिसले अत्यन्त रुचाउने भएकाले यसका प्रवर्द्धनका लागि दूतावासले पहल गरेको थियो ।

२०१६ मार्च ४ मा दौत्य सम्बन्धको दुई शताब्दी पूरा हुने भए पनि दुई देशले अबका बाँकी दुई वर्षभरि विशेष कार्यक्रम गरी यो अवसर मनाउने छन् । बेलायती महारानी एलिजावेथदेखि बेलायत र नेपालका विशिष्ट व्यक्तित्वको सहभागितामा निरन्तर कार्यक्रम गर्ने योजना छ । नेपाली दूतावासले ६ जनवरीमा यसको थालनी गरी शुरु गरिसकेको छ भने बेलायती पक्षले आगामी सेप्टेम्बरमा कार्यक्रम गर्ने जनाइएको छ ।

कार्यक्रम सफलताका लागि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र नेपालका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएका थिए । शुभकामनामा रेग्मीले बेलायतसँगको नेपाल सम्बन्ध अत्यन्त ‘महत्वपूर्ण’ भनेका थिए भने क्यामरुनले नेपालसित बेलायतको सम्बन्ध विश्वमै ‘उदाहरणीय’ भएको उल्लेख गरेका छन् । नेपालका परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे तथा बेलायती विदेशमन्त्री विलियम हेगले पनि कार्यक्रम हुनलागेकामा खुसीव्यक्त गरेको पत्र वाचन गरिएको थियो ।

समारोहमा बि्रटेन-नेपाल च्याम्बर अफ कमर्स, युकेटीआई, बि्रटेन नेपाल सोसाइटीका पदाधिकारीले पनि भाग लिएका थिए । त्यसैगरी, कार्यक्रम सफल पार्न नेपाल सरकारले परराष्ट्र सचिव अर्जुन थापाको नेतृत्वमा तीन सदस्यीय एक उच्चस्तरीय टोली पनि खटाएको थियो । यही कार्यक्रममा भाग लिन भनेरै नेपालका लागि बेलायती राजदूत एन्ड्रयु स्पार्क पनि लण्डन आइपुगेका थिए ।

पछिल्ला दिनमा नेपाल र बेलायत बीचको सम्बन्ध गहिरिँदै गएको विश्लेषण गरिन्छ । गत वर्षदेखि बेलायत नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र बन्नु र बेलायतले नेपालको शान्तिप्रक्रियामा समेत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मार्फत् उल्लेख्य सहयोग गर्नुलाई कतिपयले प्रगाढ सम्बन्धका रुपमा अथ्र्याएका छन्।

यस अलावा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले दुई सय वर्षको विशेष सम्बन्धको अवसर पारेर नेपाल भ्रमण गर्न इच्छा गर्नुलाई पनि यससँग जोडेर हेरिएको छ । क्यामरुनले केही महिनाअघि नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका सभापति सर जोन स्ट्यान्लीलाई लिखित रुपमै नेपाल भ्रमणको इच्छा र सम्भावना व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन भव्यताका साथ सम्पन्न भएपछि अब राजदूत चालिसे नेपाल फिर्ताको तयारीमा छन् । जनवरी महिनामा उनको कार्यकालको समाप्तिसँगै एउटा सफलतम कार्यकालको जश बोक्दै चालिसे फेब्रुअरी महिनामा नेपाल फर्कने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न