दुख्छ भने सबैलाई दुख्नुपर्छ – विमलेन्द्र निधि ,काङ्ग्रेस नेता

३ माघ २०७०, शुक्रबार ०३:३७ मा प्रकाशित

० विश्वमा प्रचलित मान्यताविपरीत राष्ट्राध्यक्षले आह्वान गर्नुपर्ने संविधानसभाको पहिलो बैठक सरकारप्रमुखले बोलाउनुभयो, यसमा तपाईंको धारणा के छ? – हो, हामीले पनि विश्वको प्रचलित मान्यता पछ्याएर राष्ट्रपतीय संस्थाको मान–मर्यादा कायम गरौँ भनेका हौँ, तर एमालेलगायतका दलहरू फरक मान्यतामा अडिए। बैठक बोलाउनेजस्तो विषयमै विवाद, बहस र राजनीतिक अडचन खडा हुनु अशोभनीय हुने हुनाले हामीले बैठक नै नबोलाउनुभन्दा बरु जसले बोलाए पनि हुन्छ, संविधानसभाको प्रक्रिया अघि बढाआँै भन्ने सोच राखेर सरकारप्रमुखलाई नै बैठक बोलाउन बाटो खुला गरिदिएका हाँै। ० यसबाट काङ्ग्रेसको अहम्मा ठेस पुग्यो भन्ने टिप्पणी गरेको पनि सुनियो नि, यस्तो हो र? – यो बेकारको कुरा हो। राष्ट्रपति काङ्ग्रेसको मात्र होइन, काङ्ग्रेसी पृष्ठभूमिका व्यक्ति भए पनि उहाँ यतिबेला मुलुककै साझा अभिभावक हो। विधि र मर्यादा काङ्ग्रेसलाई मात्रै चाहिने कुरा नभई सबैका लागि आवश्यक कुरा हो। त्यसैले राष्ट्रपतिको सट्टा प्रधानमन्त्रीले बैठक आह्वान गर्दा काङग्रेसको अहम्मा ठेस पुग्ने सवालै रहन्न। अहम्मा ठेस पुगेकै छ भने सिङ्गो मुलुकको परम्परा वा मर्यादामाथि ठेस पुगेको छ। यसबाट यदि दुख्छ नै भने काङ्ग्रेसजनलाई मात्रै दुख्ने नभई प्रचलनअनुरूप विधिसम्मत् हिसाबले चल्न खोज्ने जोकसैलाई पनि दुख्छ, दुख्दैन भने कसैलाई पनि दुख्दैन। मैले कता हो सुनँे– महान्यायाधिवक्ताले ‘म राष्ट्रपतिको पक्षमा वकालत गर्न सक्दिनँ, बैठक आह्वान त सरकारप्रमुखले नै गर्नुपर्छ’ भने अरे। यस्तो अवस्था आउनु वास्तवमा मुलुककै लागि नराम्रो हो। ० नेपालको लोकतान्त्रिक आन्दोलनमाथि पहिलेदेखि नै विभिन्न कोणबाट प्रहार हुँदै आएको देखिन्छ, यतिबेलाको विवादलाई पनि त्यो कोणबाट अर्थ्याउन सकिएला? – यस्तो विवाद र अशोभनीय टीका–टिप्पणी सार्वजनिक हुनुलाई केही हदसम्म लोकतन्त्र सबलीकरणको मार्गमा व्यवधान नै हो भन्ने किसिमबाट अर्थ्याउन पनि सकिन्छ। ० अब त सरकार निर्माणको बाटो पनि फुक्यो। तपाईंहरू कोसँग मिलेर सरकार बनाउँदै हुनुहुन्छ? – नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय सहमतिको सरकार बनाउने भन्ने छ। मुलुकको यतिबेलाको राष्ट्रिय एजेण्डा भनेको संविधान निर्माण हो र यस कार्यलाई काङ्ग्रेसले पनि पहिलो प्राथमिकता दिएको छ। तसर्थ, सरकार गठन गर्दा पनि कसरी हुन्छ छिटो संविधान बनाउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर नै नेपाली काङ्ग्रेसले पाइला चाल्छ। पाँच महिनाभित्र मस्यौदा तयार गर्ने र एक वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने हाम्रो ध्येय हो। सहमति चाहिने यसैका लागि हो। यस हिसाबमा काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न हामी लागिपरेका छौँ। ० यतिबेला पनि दलहरूबीच विभिन्न कचिङ्गलहरू कायमै देखिन्छन्, राष्ट्रिय सहमतिको सरकार निर्माण सम्भव होला? – सम्भव भएन भने बहुमतको सरकार बनाएर भए पनि त अगाडि बढ्नु त पर्यो् नि। एमाले दोस्रो दल छ, तेस्रो दल एमाओवादी र अरूहरू पनि छन्। बहुमतीय सरकार नै बनाउनुपरेको खण्डमा जोसँग लोकतान्त्रिक संविधान निर्माणसम्बन्धी हाम्रा मुद्दाहरूमा सहमति हुन्छ उसैसँग मिलेर सरकार बनाइन्छ। तर, भरसक हाम्रो ध्येयचाहिँ राष्ट्रिय सहमतिकै सरकार निर्माण गर्नु नै छ। ० बहुमतीय सरकार बनाउँदा पहिलो प्राथमिकतामा चाहिँ कुन दल परेको छ त काङ्ग्रेसको? – यसरी नाम किटेर प्राथमिकता तोक्ने चरणमा हामी प्रवेश गरिसकेका छैनौँ। ० अब त ढिलै भइसकेन र, अब पनि यसरी पन्छिन र कुरा चपाएर बस्न सुहाउँछ र काङ्ग्रेसले? – पहिले सहमतिकै सरकार बनाउनेमा ध्यान केन्द्रित भएकाले त्यसकै लागि छलफलको क्रममा छौँ हामी। बहुमतीय प्रयास गर्ने त आवश्यक परेपछिको कुरा हो। ० सहमतीय सरकार बनाउन राप्रपा नेपाल, एमाओवादीलगायतका अन्य विविध सोच र शैलीका दलहरूसँग कुरा मिल्नुपर्छ, यो सम्भव छ? – असम्भव छैन। सबैसँग छलफल, संवाद र सहकार्य गरे यो असम्भव कुरा होइन। सबैले सबैको बटमलाइन बुझ्नुपर्छ। न्युनतम सर्तहरू के–के छन् दलका, सहमतिको जग त्यो हो। सबैको लक्ष्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण नै भएकोले सहमति असम्भव छैन। ० मुलुकले कहिलेसम्म राष्ट्रिय सहमतिको सरकार पाउला त अब? – माघको अन्तिम अथवा फागुनको पहिलो सातासम्म लाग्न सक्छ। किनकि, संविधानसभाको पहिलो बैठक बसेपछि सभासद्हरूको शपथग्रहण, त्यसपछि अध्यक्षको चुनाव हुनुपर्योर। अनि राष्ट्रपतिजीले संविधानको धारा ३८(१) अनुसार सहमतिको सरकार बनाउन या सहमतिको आधारमा प्रधानमन्त्रीको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुहुन्छ। पहिलेको परम्परा हेर्ने हो भने पनि त्यसका लागि उहाँले सात दिनको म्याद दिनुहुन्छ। यति प्रक्रिया पूरा हुँदासम्म माघको आधा अवधि गुजि्रसक्छ। त्यसमाथि फेरि म्याद थप्नुपर्ने अवस्था नआउला भन्न सकिन्न। यस हिसाबले मोटामोटी माघको अन्त्यसम्मको अनुमान लगाएको हुँ मैले। ० सरकारचाहिँ काङ्ग्रेसकै नेतृत्वमा बन्छ होइन त? – नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नेमा शङ्का गर्नुपर्दैन। ० काङ्ग्रेसबाट को बन्ला त प्रधानमन्त्री, सुशील, देउवा कि पौडेल? – उहाँहरूमध्येबाट कोही बन्नुहोला। देउवाजी, पौडेलजीलाई बोलाएर सभापतिजीले यस सन्दर्भमा छलफल प्रारम्भ गर्नुभएको छ। तीनजना छलफल गर्दै हुनुहुन्छ। उहाँहरूबीच सहमति भएर एउटा नाम अगाडि आउँछ। अहिले हतारिएर हामीले प्रधानमन्त्रीको नाम तोक्न सक्ने कुरा भएर, मिल्दैन पनि। ० सुशील कोइराला प्रधानमन्त्री बन्नुहुने अवस्थामा शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुपर्छ भन्ने आवाज उठ्ला कि नउठ्ला नि? – म भन्दै छु कि हामी कसैले पनि हतारिएर यस्ता कुरा गर्नु आवश्यक छैन। नेताहरू छलफल गर्दै हुनुहुन्छ। उक्त छलफलले नै सरकार कसले कसरी, पार्टी कसले कसरी चलाउने भन्नेजस्ता सवालको पनि हल निकाल्छ भन्नेमा विश्वस्त रहौँ। हामीले सल्लाह, सुझाव वा अन्य आवश्यक कदम उठाउनुपरे त्यो पछिको कुरा हो। तीन नेताहरूले नै सबैलाई मान्य हुने परिणाम निकाल्नेछन् भन्नेमा आशावादी छु म।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको