मस्कोमा नव वर्ष २०६९ सांस्कृतिक साँझ भव्य रुपमा सम्पन्न

५ बैशाख २०६९, मंगलवार १८:५२ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ, मस्को, ५ बैशाख । वि.स २०६९ सालको नयाँ वर्ष मनाउन गैरआवासीय नेपाली संघ रूस, नेपाली खेलकूद तथा संस्कृति समाज र नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) को तत्वावधानमा नेपाली नारी निकुञ्ज तथा रूस सीआईएस नेपाल उद्योग वाणिज्य संघको समेत सहभागितामा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

नव वर्षको उत्सव धूमधामसित मनाउन नेपालबाट तीन जना लब्धप्रतिष्ठ हास्यव्यङ्ग कलाकार शिवहरि पौडेल, जितु नेपाल तथा किरण के.सीलाई मास्कोमा निम्त्याइएको थियो ।

मास्को जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ को प्रेक्षालय एशियाका ज्योति बुद्ध र जीवित देवी कुमारीको चित्रका साथै बौद्ध स्तूप र मन्दिर, हिमालयको दृश्य र नेपाल झल्काउने ठूल्ठूला रङ्गीन चित्रहरू र देवदेवी तथा मन्त्रअङ्कित रङ्गीचङ्गी ध्वजापताकाहरूद्वारा सिंगारिनुका साथै मञ्चको पृष्ठभूमिको मध्यभागमा नेपाली कलाकारत्रयको फोटोसहित उपरोक्त संस्थाहरूको नाम र लोगोचिन्हसहित ‘नववर्ष २०६९ सांस्कृतिक साँझ’ लेखिएको विशाल तुल पनि टाँगिएको थियो । नेपालीहरू र तिनका रूसी मित्रहरू पनि पे्रक्षालयभरि खचाखच भरिएका थिए भने सीटमा ठाउँ नपुगेर विद्यार्थीहरू दायाँ–बायाँतर्फ पनि उभिएका देखिन्थे ।

रूसका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्र रजभण्डारीका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) का अध्यक्ष एवं नेपालका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार जीवा लामिछानेले मञ्चको दुईतिर सजाएर राखिएका पूर्णकलश र पानसनेर गई दीप प्रज्ज्वलन गर्नुभएपछि सबैले खडा भएर समवेत स्वरमा राष्ट्रिय गीत गाउँदै सांस्कृतिक साँझको समुद्घाटन गरिएको थियो ।

कार्यवाहक राजदूत श्री गहेन्द्र राजभण्डारीले नेपालबाट आइरहनुभएका कलाकारहरूका साथै कार्यक्रममा उपस्थित सबैलाई नयाँ वर्ष २०६९ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो र यस्तो कार्यक्रमको आयोजना गर्नु भनेको निकै कठिन कार्य हो भन्नुहुँदै आयोजकहरूप्रति कृतज्ञता पनि ज्ञापन गनुभयो ।

एनआरएन आईसीसीका अध्यक्ष श्री जीवा लामिछानेले नयाँ वर्षको शुभेच्छा प्रकट गर्दै लामो प्रतीक्षापछि नेपालको सम्बिधान यसै वर्ष बन्ने आशाको अङ्कुर देखापरिरहेको जनाउनुहुँदै कार्यक्रममा भाग लिन नेपालबाट आउनुभएका कलाकारहरूले विदेशको भूमिमा नेपाली कला र संस्कृतिको पहिचान दिने गैरआवासीय नेपाली संघको उद्देश्यअनुरूप कार्यमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोबाट प्राप्त वनवर्षको शुभेच्छा सन्देशका साथै विद्यार्थीहरूलाई पढाइमा उत्तरोत्तर सफलताको कामना व्यक्त गरिएको पनि जानकारी दिनुभएको थियो ।

कार्यक्रम आयोजकको हैसियतले गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष श्री उत्सव अमात्य, नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष श्री खेम लामिछाने तथा नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष श्री इन्द्रकुमार श्रेष्ठले व्यस्तताको बाबजूद पनि निम्तो स्वीकार गरी नेपालदेखि आइरहनुभएका कलाकारहरूका साथै कार्यक्रममा उपस्थित हुने सबै अग्रजहरू तथा विद्यार्थीहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । विश्व नेपाली साहित्य महासंघबाट प्राप्त सन्देश पनि पढेर सुनाइएको थियो ।

तत्पश्चात् आलोपालो गरी मञ्चमा छात्रछात्रा गायक–गायिका, नृतक–नृतकी, वाद्यवादक, कविहरूले आफ्नो कलाको प्रदर्शन गर्न थाले भने नेपालबाट आइरहेको जिरेखुर्सनी हास्यव्यङ्ग्य टोलीका रातो मकै, उपनामधारी कलाकारहरूले नेपालको वर्तमान परिस्थिति, सामाजिक तथा राजनैतिक विडम्बना, नेताहरूको नक्कल आदि प्रस्तुत गरेर दर्शकहरूमा हाँसोको लहर छुटाएका थिए ।

गैरआवासीय नेपाली संघ रूसको मातहतमा गठित पूmलकुमारी महतो छात्रवृत्ति समितिका संयोजक गोविन्दप्रसाद गौतम (विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष) ले २००८ सालको सेप्टेम्बरमा डा. उपेन्द्र महतोबाट वार्षिक परीक्षामा उत्कृष्टतम अङ्क प्राप्त गर्ने नेपाली छात्रछात्राहरूलाई बर्षेनी छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएपछि पहिले १८–१९ जना मात्र विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्नेगरेका थिए भने यस साल यस्ता विद्यार्थीहरूको संख्या बढेर ३६ जना पुगेकौ सूचित गर्नुका साथै एनआरएनए आईसीसीका अध्यक्ष जीवा लामिछाने तथा रसिया एनसीसीका अध्यक्ष उत्सव अमात्यबाट यस शिक्षावर्षका उत्कृष्टतम नेपाली छात्रछात्रा साजन माली, कीर्ति डंगोल (इभानोभा राजकीय चिकित्सा विश्वविद्यालय), अकिना सैजु, किशोर सुब्बा (तुला विश्वविद्यालय), निरज देव, प्रताप राय, प्रतिक अग्रवाल, राज्यप्रकाश राई, सुमन दाहाल, विष्णुप्रसाद अधिकारी, विजयकुमार रानाभाट (रिजान राजकीय चिकित्सा विश्वविद्यालय), अर्जुनकुमार घिमिरे, शक्ति बराल (समारा एरोनेटिकल युनिभर्सिटी), रोमान बज्राचार्य (समारा एरोस्पेस युनिभर्सिटी), सैयाम मरहट्ठा, देवेन्द्र कार्की (तम्बोभ प्राविधिक विश्वविद्यालय), मदन अधिकारी (त्भेर विश्वविद्यालय), नवराज बस्नेत, सुमित रौनियार, सुवाश थापा, चिरञ्जीवी खड्का, सुजु जम्मरकटेल, विनायक अर्याल (त्भेर चिकित्सा प्रज्ञा–प्रतिष्ठान), विवेक भक्ती (नर्थ वस्टर्न स्टेट मेडिकल इन्स्टीच्यूट), उमेशप्रसाद भट्टराई (मास्को प्रथम चिकित्सा विश्वविद्यालय), रुपा पुडासैनी (मास्को तृतीय चिकित्सा विश्वविद्यालय), पुनम झा (मास्को सडकनिर्माण प्राविधिक विश्वविद्यालय), नवीन घिमिरे, नवीन सेढाई, मनोजप्रसाद कुशवाहा, मिलन खतिवडा, हरि भट्टराई, विवेक अधिकारी, बियुष पोखरेल, तिलक के.सी., मिलन निरौला (रसियाली जनमैत्री विश्वविद्यालय, मास्को) लाई उल्लासमय वातावरणमा प्रमाणपत्रसहित छात्रवृत्तिको रकम हस्तान्तरण गरिएको थियो ।

गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी बस्याल तथा र रसियाली जनमैत्री विश्वविद्यालयका छात्र किसन भण्डारीबाट बी–बीचमा मुक्तकहरू र ठटेउलीहरू समेत प्रस्तुत गर्दै सफल सञ्चालन गरिएको कार्यक्रमक अन्त्यमा नेपाली छात्रसंघका तर्फबाट एनआरएन आईसीसी अध्यक्ष जीवा लामिछानेमार्पmत् ‘नेपालबाट निकै टाढा रूसको राजधानीसम्म आई नेपाली अभिनय–कलाको सफल प्रदर्शन गरी नेपाल र रूसबीच सांस्कृतिक सम्बन्ध विकासमा योगदान पुयाएबापत्’ शिवहरि पौडेल, जितु नेपाल तथा किरण के.सी. का साथै ‘हरेक वर्ष पूmलकुमारी महतो छात्रवृत्ति प्रदान गरी पढाइमा लगनशीलताको बृद्धिमा योगदान पु¥याउनुहुने’ गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोज्यू तथा ‘नेपाली विद्यार्थीहरूको हकहितका लागि अनुकरणीय कार्य गर्दै रूसमा नेपाली तथा रसियाली संघसंस्थाहरूसँग सम्बन्ध विकास र छात्रसंघको छविवृद्धिमा योगदानपुर्याएबापत्’ श्रीमती विमला भण्डारी बस्याललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

अन्त्यमा कलाकाररूद्वारा नेपाली लोकप्रिय गीत प्रस्तुत गर्दै अग्रपंक्तिमा बसिरहेका महानुभावहरूलाई समेत मञ्चमा लगेर सामूहिक नृत्यमा सरीक गराइएको थियो र कार्यक्रमको समाप्तिपश्चात् सवै आ–आफ्नो उद्गार पोख्तै कलाकारहरूसंग फोटो खिचाउन मञ्चतिर उक्लिरहेका देखिन्थे ।
फोटो सौजन्य : नेपाली नारी निकुञ्ज ।
मास्को, रूस महासंघ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद