पार्टीमै नदेखिएकाहरूको विरोधको के तुक? :: कमल थापा

१२ पुष २०७०, शुक्रबार ०४:०३ मा प्रकाशित

० समानुपातिक सभासद् चयनको विषयमा तपाईंको पार्टीमा तीव्र विवाद र असन्तुष्टि देखियो, किन यस्तो अवस्था निम्त्याउनुभएको?
– हाम्रो पार्टीमा त्यस्तो तीव्र विवाद र असन्तुष्टि पैदा भएको छैन जति आमसञ्चारमाध्यममा प्रकट गराइयो। तर, राप्रपा नेपालप्रति चासो दिएर यसरी प्रचारप्रसार गरिदिनुभएकोमा म आमसञ्चारका माध्यमहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
० तपाईंले करोड–करोड मूल्यमा सभासद्को कोटा बिक्री गर्नुभयो भन्ने आरोप तपाईंकै केन्द्रीय सदस्यहरूले लगाइरहेका छन्, उनीहरूलाई पनि धन्यवाद भन्नुहुन्छ कि?
– मैले भनिहालेँ कि यस्ता कुरा सबै आमसञ्चारमाध्यममा मात्रै छ, न राप्रपा नेपालको पार्टी कार्यालयमा न त मसमक्ष यस्ता गुनासो र आरोप आइपुगेका छन्। कुनै पनि औपचारिक या अनौपचारिक उजुरी या पत्र मलाई या पार्टीलाई प्राप्त भएको छैन। कसैसँग पैसा लिएर सभासद् बनाउने भन्ने कुरा त सम्भव नै छैन नि। यस्तो बेतुकको कुरा हल्ला गराएर हुने हो र?
० गैरराजनीतिक पृष्ठभूमिका व्यापारी–उद्योगपतिहरू पनि सभासद् त बने नि तपाईंको पार्टीबाट?
– विभिन्न क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूको नाम सिफारिस भएको थियो, सिफारिस नाममध्येबाटै छानिएका छन्।
० पार्टीको सदस्यता नै नलिएका व्यक्तिसमेत छनोटमा परे भन्ने कुरा आएको छ त?
– हो, मिडियाको कुरा पत्याउने हो भने पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्ति सभासद्मा सिफारिस भएका छन्, यथार्थमा चाहिँ यस्तो काम भएको छैन। यस्तो थियो भने त पार्टीभित्र असन्तुष्टि, उजुरी दर्ता गर्न सकिन्थ्यो, खै कुनै सदस्यबाट यस्तो गरिएको छैन। बैठकमा आएर विरोध गर्ने अधिकार छ पार्टीका मानिसलाई। आकाङ्क्षा राख्ने थुप्रै थिए होलान्, त्यो पूरा गर्न सकिने कुरा भएन। त्यस्तैमध्येका एकाध व्यक्तिले सडकमा हल्ला पनि गरे होलान्। त्यो गर्नुको साटो वैधानिक रूपले पार्टीमै कुरा राखेको भए हुन्थ्यो। तर, यो नगरी बाहिर–बाहिर चियापसलमा कसले के भन्छ भन्ने कुराको पछि लागेर हिँड्न सकिन्न र हिँड्ने कुरा पनि भएन। चौथो शक्तिको रूपमा उदाइरहेको पार्टीलाई कमजोर पार्न खोज्ने, यसको भूमिकालाई निस्तेज तुल्याउन खोज्ने प्रयासको यो एउटा कडी मात्र हो यस्ता प्रोपोगण्डा भन्ने मलाई लाग्छ। जनताले महत्त्वपूर्ण वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा खडा गरेको पार्टीलाई सुरुमै यसरी हतोत्साहित बनाउन खोज्नुले प्रजातन्त्रलाई नै कमजोर पार्छ।
० नेपाली राजनीतिमा लेनदेन र रकमको खेल त हुन थाल्यो नि, तपाईंलाई यस्तो लाग्दैन?
– होला। तर, राप्रपा नेपालमा यस्तो सम्भव छैन।
० कुनै मापदण्डबिना नै सभासद् छान्नुभएको त हो नि तपाईंले?
– फजुल कुरा। निर्वाचन आयोगले नै मापदण्ड बनाइदिएको छ। पार्टीभित्र पनि हामीले आन्तरिक मापदण्ड बनाएका थियौँ र त्यसअनुरूप वैधानिक तवरमा नाम सिफारिस गरी पठाइएको छ। सम्पूर्ण विधि र प्रक्रिया पूरा गरिएको छ नाम पठाउने मामलामा।
० तपाईं पार्टीमा विरोध भएको छैन भन्नुहुन्छ, तर पार्टी कार्यालयमै ताला लाग्यो नि?
– खै कहाँ ताला लाग्यो? म त नियमित रूपले पार्टी कार्यालय आउने–जाने गरिरहेको छु, गर्नुपर्ने काम सुचारु रूपले गरिरहेकै छु। अन्य साथीहरूले पनि निर्वाध आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकै छन्।
० त्यसो भए तपाईं नाम सिफारिसको निर्णय परिवर्तन गर्नुहुन्न हो?
– पार्टीले विधि पुर्याएर औपचारिक रूपमा गरेको निर्णय पनि जथाभावी फेरबदल गर्दै हिँड्न मिल्छ र? यही निर्णय कार्यान्वयन हुन्छ।
० निर्वाचन आयोगले त सच्याएर पठाउन तपाईंलाई पत्र नै लेख्यो क्यारे?
– निर्वाचन आयोगलाई चित्त बुझ्ने जवाफ केही दिइसकियो, आवश्यक परे फेरि दिइनेछ। तर, पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी विधिवत् गरेको निर्णय कार्यान्वयन हुन्छ। केही व्यक्तिविशेषले चित्त दुखाएर के गर्ने? तीन सय ३५ वटा नाम सिफारिस भएकोमा हामीले जम्मा २४ वटा मात्र सिट पायौँ त के गर्नु? पार्टीका साथीहरूले के बुझ्नुपर्छ भने हिजो ०६४ को चुनावमा जम्मा चारजनाले मौका पाएका थिए, अहिले चौबीसले पाएका छन्, राम्रोसँग एकताबद्ध भएर हामीले काम गर्ने हो भने अर्को चुनावमा डेढ सयजनाले मौका पाउन सक्छौँ। यो मनन गर्नुपर्योझ नि !
० पुराना असफल अनुहारलाई दोहोर्याभउनुभयो भन्ने गुनासो छ?
– पार्टीको निर्णय हो, को ठीक परे को परेनन् भन्नेमा पार्टीभित्रै छलफल चलाउन सकिन्छ।
० बालकृष्ण न्यौपाने र विष्णु भट्टराईहरूले त तपाईंप्रति कडा टिप्पणी गरे, के भन्नुहुन्छ?
– विष्णु भट्टराईले त्यसरी उग्र रूपमा कहीँ केही गर्नुभएकै छैन। जहाँसम्म बालकृष्णजीको सवाल हो, उहाँ पार्टीमा आउनुभएको पनि धेरै समय भएको छैन। भन्ने नै हो भने त उहाँलाई मैले अहिलेसम्म पार्टीमा देखेकै पनि थिइनँ। केशर विष्टजी सँगसँगै एकपटक पार्टीमा लामो लिस्टमा चाहिँ देख्या’हो, त्यसबाहेक बालकृष्ण हाम्रो पार्टीमा छन् भन्ने कुराको अनुभूति कसैलाई पनि छैन।
० पूर्वराजाका निकट व्यक्तिहरूलाई पनि लत्याउनुभयो रे तपाईंले, हो कि होइन?
– यी सब कुरा हावादारी हुन्। कसलाई कसको निकट भन्ने, कसलाई दूर ठान्ने? पार्टीका निकट भएका, अनुशासित, पार्टीले आवश्यक ठानेका व्यक्तिहरू नै छनोटमा परेका छन्। त्यस्ता व्यक्ति हाम्रो पार्टीमा धेरै छन्, तर २४ मात्र सिट प्राप्त भएकाले तीन सय पैँतीसमा को परे को परेनन् भनी कोकोहोलो मच्चाउनु निरर्थक हुन्छ। कैयनलाई चाहेर पनि कोटाको अभावमा सिफारिस गर्न सकिएन।
० आजको परिवेशमा तपाईंको पार्टीले खेल्ने भूमिकाचाहिँ के हो नि थापाजी?
– संविधानसभाको निर्वाचन सम्पन्न भएको डेढ महिना बित्न लाग्दा पनि संविधानसभाले पूर्णता पाउन सकेको छैन। केही दलको अनावश्यक हठ बाधक बनिरहेको छ। विगतमा आफूलाई प्रमुख भन्ने दलहरू संविधानसभाभन्दा बाहिर गएर आफूखुसी निर्णय गर्ने र उक्त निर्णय लाद्ने गर्दथे, त्यो रोग अझै कायम रहेजस्तो छ। यस्तो रोगको पुनरावृत्ति हुन नदिन हाम्रो पार्टीले भूमिका निर्वाह गर्नुपर्ने देख्छु। जनता अहिले नै निराश बन्न लागिसके। चाँडोभन्दा चाँडो संविधानसभालाई पूर्णता दिएर यथाशीघ्र संविधान निर्माण गर्नु नै पहिलो आवश्यकता हो। यसैका लागि हामी कटिबद्ध छौँ। एउटा सशक्त प्रतिपक्षका रूपमा गुण–दोषका आधारमा सरकारलाई सहयोग वा आलोचना गर्ने र संविधान निर्माण कार्यमा राप्रपा नेपालले अत्यन्त रचनात्मक भूमिका निर्वाह गर्नेछ। सनातन हिन्दूराष्ट्र, राजासहितको प्रजातन्त्र, जातीय आधारमा सङ्घीयता हुन नहुनेलगायतका हाम्रा केही मौलिक एजेण्डाहरू छन्, तिनलाई संवैधानिक तवरमा स्थापित गराउन पनि हामी लागिपर्नेछौँ।
० उच्चस्तरीय समिति आवश्यक छैन भन्न खोज्नुभएको हो तपाईंले?
– यत्रो चुनाव भएर संविधानसभा गठन भएपछि त्यो गैरसंवैधानिक, गैरप्रजातान्त्रिक निकाय खडा गर्नु जनताको सर्वोच्चता र म्यान्डेटको खिलाफ हुन्छ भन्ने हाम्रो दृढ भनाइ छ। त्यस्तो समिति कायम गरेर जन–सर्वोच्चताको अपमान गर्नुहुँदैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको