सभापति कोइरालाको सम्बोधन र मधेसी लहर -कृष्णचन्द्र नेपाली

४ बैशाख २०६९, सोमबार २१:२३ मा प्रकाशित

२०६७ सालमा नेपाली कांग्रेसले सञ्चालन गरेको जनजागरण अभियानका सन्दर्भमा देशभर आयोजित आमसभाहरूमा उर्लेको जनलहर र काठमाडांैको खुलामञ्चमा आयोजित आमसभामा उपस्थित जनसागरले जनता नेपाली कांग्रेसको पक्षमा रहेछन् भन्ने कुरा देशी तथा विदेशी मित्रहरूलाई आश्वस्त पारेको थियो। गिरिजाबाबुको अवशानपछि कांग्रेसको ‘साइज’ घटेको छ कि भन्ने शुभचिन्तकहरूको आशंकालाई पनि त्यो आमसभाले हटाएको थियो।
यस बीचमा भातृ संस्थाको विषयलाई लिएर पार्टीमा निकालिएको विवाद, पार्टी अफिसमा बसाइएको अनशन र नेविसंघको तयारी समिति गठनको विरोधसम्मका घटनाक्रमले पुनः कांग्रेसभित्र खिचलो सुरु भयो भन्ने चिन्ता व्यक्त हुन थाल्यो। गत वर्षको जनजागरण अभियानले दिएको एकताको सन्देश स्थायी हुन सकेन भन्ने आमसोचाइ बनेको अवस्थामा गत महिना अर्थात् चैत्र १९ देखि २६ गतेसम्म ७५ वटै जिल्लामा आमसभाहरूको आयोजना गरिएको थियो। त्यसै बीचमा नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण तथा प्रतिष्ठानले मधेससम्बन्धी नेपाली कांग्रेसको भावी नीति कस्तो हुनुपर्दछ भन्ने आम कार्यकर्ताहरूको मत संकलन गर्नको लागि इटहरी र वीरगन्जमा विकास क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो। जसले मधेसको विषयमा कांग्रेस गम्भीर भएको छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको थियो।
यसै सन्दर्भमा सभापति सुशील कोइरालाले सम्बोधन गर्नुभएका धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर, सिन्धुलीको झागाझेली (दुम्जा), सर्लाहीको मलंगवा, नवलपरासीको परासी तथा कपिलवस्तुको तौलिहवाका आमसभाहरूमा व्यापक जनसहभागिता देखियो। सिन्धुली जिल्लाबाहेक अरू सबै मधेसका जिल्लाहरू थिए। यी मधेसका आमसभाहरूमा उपस्थित हजारौं जनसमुदायमा ९५ प्रतिशतभन्दा बढी मधेसी समुदायका जनता थिए। ती आमसभाहरूमा मधेसस्थित नेपाली कांग्रेसका नेताहरू तथा आममधेसी समुदायका स्थानीय तहका हाम्रा कार्यकर्ताहरूले केही प्रश्नहरू उठाए। पहिलो संघीयता, दोस्रो समावेशीका, तेस्रो नागरिकता तथा चौथो मधेसको विकास, यी चारवटै विषयलाई समेटेर नेपाली कांग्रेसले ‘प्याकेज प्रोग्राम’ ल्याउनुपर्छ भन्ने आम भनाइ रह्यो।
मधेस आन्दोलनरूपी हुरीले कांग्रेसको मधेसरूपी घरको ‘छानो’ उडाएको थियो। त्यो हुरीमा मधेसी जनता बगेकै थिए। आज उनीहरूले त्यो कुरा महसुस गरेका छन्। मधेसीका हकहितका नारा दिएर चुनाव लडेका मधेसी मोर्चाका घटक पार्टीहरू सिंहदरबार आएपछि जुन हिसाबमा स्वार्थपूर्तिको लागि पार्टी फुटाउँदै मन्त्रीको कुर्सीमा बस्ने दौडमा लागे त्यो आफैंमा मधेसी जनताको लागि हीनताबोध बन्यो। त्यतिमात्र हैन मन्त्री पदको गरिमाको विपरीत सचिवलाई अपशव्द प्रयोग गरी गाली गर्ने, मादकपदार्थ सेवन गरेर अस्पतालका कर्मचारीलाई गाली गर्ने, बहालवला सांसद अपहरण केशमा जेल जाने र बहालवाला मन्त्री भ्रष्टाचार केशमा जेल जानेजस्ता घटनाक्रमले मधेसी जनताका बीचमा मधेस केन्द्रित दलहरूप्रतिको मोहभंग भइरहेको र मधेसी जनता पुनः कांग्रेसतर्फ हेर्न लागेको अवस्था तराई केन्द्रित प्रशिक्षण कार्यक्रम र सभापति सुशील कोइरालालेे मधेसी जनसमुदायलाई गरेको सम्बोधनले कांग्रेसतर्फ मधेसी जनता पुनः आकर्षित हुन थालेका छन्।
सभापति सुशील कोइरालाले मधेसी जनतालाई गर्नुभएको सम्बोधनमा नेपाली कांग्रेसको संघीयताप्रतिको प्रतिबद्धता, राज्यको प्रत्येक अंगमा मधेसी जनताको पहँुच (समावेशिता) जन्मसिद्ध नागरिकका सन्तानलाई तत्काल नागरिकता प्रदान गर्ने मधेस विकासको लागि ‘प्याकेज कार्यक्रम’ ल्याउने प्रतिबद्धताले मधेसलाई ‘छोएको’ छ। यस सन्दर्भमा कांग्रेस बलियो नभई मधेस बलियो हुँदैन मधेस बलियो नभै नेपाल बलियो हँुदैन। त्यसैले पूर्व परम्पराअनुसार मधेसले कांग्रेसलाई साथ दिनुपर्दछ। कांग्रेसले पनि मधेसलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्दछ भन्ने आममधेसी वुद्धिजीवीहरूको भनाइलाई हामीले मार्गनिर्देशनका रूपमा लिनुपर्दछ। मधेस र लोकतान्त्रिक आन्दोलनबीच अन्योन्याश्रित सम्बन्ध रहिआएको छ। यस परिप्रेक्ष्यमा कांग्रेसको भोट बैंकको रूपमा रहेको मधेसले साथ नदिनासाथ कांग्रेसको संविधानसभाको हैसियत दोस्रो बनेको छ। लोकतान्त्रिक संविधान बन्ने सन्दर्भमा कांग्रेसको संविधानसभाको जुन उपस्थिति छ त्यो काफी छैन यदि कांग्रेस ठूलो पार्टीको हैसियतले संविधानसभामा आएको भए आज समयमै लोकतान्त्रिक संविधान बनिसक्ने थियो। माओवादी सबैभन्दा ठूलो दलको रूपमा संविधानसभामा उभिएका कारण आजसम्म लोकतान्त्रिक संविधान बन्न सकेको छैन। मधेसी जनता महसुस गर्दैछन् परम्पराअनुसार आफ्नो रगत पसिनाले सिञ्चेको कांग्रेसलाई मत नदिएकै कारण कांग्रेस कमजोर भएको छ, जसले गर्दा संविधानसभामा जति प्रभावकारी भूमिका हुनुपर्ने हो त्यो हुन सकेको छैन। माओवादी सबैभन्दा ठूलो पार्टीको रूपमा संविधानसभामा पुगेको हुँदा संयुक्त जनआन्दोलन, बाह्रबुँदे समझदारी तथा बृहत् शान्तिसम्झौताका भावना विपरीत अलोकतान्त्रिक संविधानका कुरा उठाएर देशलाई अनिर्णयको बन्दी बनाइरहेको कुरा आम जनताले बुझ्दै आएका छन्।
आज नेपाली कांग्रेस सरकारमा छैन कांग्रेसबाट नेपाली जनताले प्रत्यक्ष केही पाउने अवस्था पनि छैन। तर पनि जुनसुकै कार्यक्रम वा आमसभाहरूमा कांग्रेस प्रवेशको लहर आइरहेको छ। यो कुरा सभापति सुशील कोइरालाले सम्बोधन गर्नुभएका आमसभाहरूमा देखियो। ऐतिहासिकस्थल तथा आफ्ना तीन भाइ छोराहरू (बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला) प्रधानमन्त्री भएर गिनिज बुकमा समेत स्थान प्राप्त पिता कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको झागाझोलीमा माओवादी र एमाले छोडेर प्रवेश गरेका ती युवाहरूको कांग्रेसप्रतिको आकर्षण तथा मधेसका आमसभाहरूमा मधेस केन्द्रित दलहरू परित्याग गरेर कांग्रेस प्रवेश गरेका हजारौं मधेसी जनताको लामले ल्याएको लहरले के देखाएको छ भने अबको भविष्य कांग्रेसकै हातमा सुरक्षित छ भन्ने आम धारणा बनिसकेको छ। प्रचण्ड र बाबुराम भट्टराईको नेतृत्वमा बनेको माओवादी सरकारको अनुभव यिनीहरूको कथनी र करनीमा देखिएको अन्तर भ्रष्टाचार महँगी असुरक्षा संस्थागत रूपमा राज्यलाई लुट्ने क्रियाकलापबाट आफूलाई सर्वहाराको नेता, किसानको नेता, युवा विद्यार्थीको हिमायती दाबी गर्ने माओवादी नेताहरूको असलीरूप जनताले देखिसकेको अवस्था छ।
पहाडका जनता जसले माओवादीलाई मतदान गरे ती पनि पछुताएको अवस्था छ भने मधेसका जनता जसले मधेस केन्द्रित दलहरूलाई विश्वास गरेर मतदान गरे ती जनताहरू पनि आज पछुताउँदैछन्। तसर्थ नेपाली कांग्रेसको अब बस्ने केन्द्रीय कार्यसमितिको मिटिङबाट राज्यपुनर्संरनाका विषयमा सामर्थ्य र पहिचानका आधारमा मधेस प्रदेशको ग्यारेन्टी मधेसी जनताको जनताको समानुपातिक रूपमा राज्यमाथिको पहुँच जन्मसिद्धका सन्तानको नागरिकता तथा मधेसका युवाहरूको रोजगारी तथा किसानहरूको आर्थिक अवस्था सुधार गर्ने सम्बन्धमा स्पष्ट मधेस विकासको कार्यक्रम अगाडि ल्याउनुपर्दछ। त्यही कार्यक्रमलाई आधार बनाएर मधेसी जनताको बीचमा नेपाली कांग्रेस गयो भने मधेसी जनताले कांग्रेसलाई साथ दिनेछन्।
पासपोर्ट लिएर मधेस जानुपर्ने व्यवस्थाको अन्त्यगर्ने, जमिनदारी तथा बेरोजगारीबाट मधेसी जनतालाई मुक्त गर्ने, मधेसी जनतालाई नेपाली नागरिकको हैसियत प्रदान गर्ने, गणतन्त्र नेपालको प्रथम राष्ट्रपति एक मधेसी (डा.रामवरण यादव) लाई स्थापित गर्ने सहिद दुर्गानन्द झा, कामेश्वर तथा कुशेश्वरजस्ता सहिदको रगतले सिञ्चिएको कांग्रेस जहिले पनि मधेसी जनताको पक्षमा हुनेछ भन्ने कुरामा दुई मत छैन। तर आवश्यकता मधेस केन्द्रित दलहरूले कांग्रेसविरुद्ध गरेका अनर्गल प्रचारलाई चिरेर मधेसी जनताको बीचमा नेपाली कांग्रेस जान सक्नुपर्दछ। किनभने मधेसीको पहिचानसहितको मधेस प्रदेशको पक्षमा कांग्रेस रहोस् र लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा कांग्रेस लडोस् भन्ने आम मधेसी जनताको चाहना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका