लम्पसार परेर संविधानसभा छिर्नेसँग मिलन हुँदैन :: सीपी गजुरेल

८ पुष २०७०, सोमबार ०५:३६ मा प्रकाशित

० देशमा व्यापक कसरतपछि संविधानसभाको निर्वाचन सम्पन्न भएको छ, तर तपाईंको पार्टीको बैठकले त संविधानसभा विघटन गर्नुपर्छ भन्ने माग पो तेर्स्यायो नि, के गरेको यो?
– यसपटकको कथित संविधानसभा अत्यन्त विवादास्पद छ। निर्वाचित संस्थामध्ये अहिलेसम्मकै सर्वाधिक विवादास्पद निकाय नै यही हो भन्ने त पुष्टि भइसक्यो। चुनाव जितेका काङ्ग्रेस, एमालेलगायत केही दलले जितको उत्सव मनाइरहे पनि फुर्तिफार्ती गरेर चुनावमा गएको एमाओवादीले त संविधानसभामा नजाने कुरा गरिरहेको छ। चुनावको पक्षमा ढोल पिट्नेहरूले नै अस्वीकार गरेको संविधानसभाले के काम गर्न सक्ला त अब? जहाँसम्म हाम्रो कुरा हो– हामीले त मौजुदा हालतमा त्यसै चुनावमा फाल नहानौँ, पहिले मुद्दाहरूमा सर्वपक्षीय सहमति खोजौँ, गोलमेच सम्मेलन गरेर निकासको बाटो पहिल्याऔँ, अनि मात्र आवश्यक परे चुनावमा जाऔँ भनेर भनेकै थियौँ। तर, हाम्रो धारणा र आवाजलाई पूर्णतया लत्याउँदै आफूखुसी चुनावी नौटङ्की मञ्चन गरे र अहिले फेरि आफूबीच नै गाँड कोराकोर गरिरहेछन्। यस्तो बेतुकको संविधानसभालाई खारेज गर्नु नै उपयुक्त हुन्छ भन्ने हाम्रो ठहर हो।
० जनताको मतबाट बनेको शक्तिशाली सभालाई यसरी अवमूल्यन गर्न सुहाउला र?
– जनताको व्यापक सहभागिता भएको ऐतिहासिक चुनाव भन्दै जुन रूपमा प्रचार गरिएको छ, यो सबै झुटको खेती हो। वास्तविक नेपाली जनताका समस्या निराकरण गर्नेगरी संविधान बन्न सक्ने चुनाव नै भएको छैन भन्ने हाम्रो विश्वास हो। लेखेर राख्नुहोस्, यो संविधानसभाले या त संविधान नै बनाउन सक्दैन र बनाइहाले पनि त्यसले यो मुलुकमा काम गर्दैन। नेपाली जनताको ठूलो हिस्सा मुलुकको यस्तो दिशा र दशाप्रति चिन्तित छन्।
० तपाईंको पार्टीकै कार्यकर्ताहरूले चुनावमा मतदान गरेका छन्, तपाईंको पार्टी बैठकमै यो बहस र विवादको विषय बनिसकेको छ, किन लुकाउन खोज्नुहुन्छ?
– कसले भन्यो हाम्रा कार्यकर्ताले चुनावमा मतदान गरे भनेर? जगजाहेर छ कि हाम्रो पार्टीले संविधानसभाको चुनावको सक्रिय र सशक्त बहिष्कार गरेको थियो। यस्तोमा कार्यकर्ताले भोट हाल्न जाने भन्ने त प्रश्नै भएन। जहाँसम्म जनताको कुरा हो, जनताको बाटो त हामीले छेकेका होइनौँ। बहिष्कार गरौँ भनेर हाम्रो पार्टीको धारणाअनुसार आग्रह गरेका हौँ। बुझ्ने जनताले बुझे, नबुझेकाहरू मतदानमा सरिक भए होलान्, तर उहाँहरूले पनि बिस्तारै बुझ्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ। मिडियाको एक तप्काले हाम्रा साथीहरूले पनि कसैका निम्ति भोट मागे, भोट खसाले भनेर अनर्गल प्रचार गर्न खोजेको देखियो। यो वास्तविक होइन, त्यस्तो विषयमा हाम्रो पार्टीमा बहस भएको छैन र हुने कुरा पनि आउँदैन।
० केन्द्रीय समितिको बैठकमा सदस्यहरूले यस कोणबाट नेतृत्वसामु औँला त उठाएकै हुन् नि, किन ढाँट्नुहुन्छ?
– ढाँट्नुपर्ने सवाल नै छैन। केन्द्रीय बैठकमा अनेक गुनासा, सवाल, सुझाव सबै कुरा उठ्छन्, उठ्नु पनि पर्छ। नीति–निर्माण र कार्यान्वयनमा केन्द्रीय नेतृत्वको भूमिका र जिम्मेदारी हुने हुनाले यो स्वाभाविक प्रक्रिया नै हो भन्छु म। तर, हाम्रो पार्टीका नेता वा कार्यकर्ताले पार्टीनीतिविपरीत गएर भोट हाले भन्नुचाहिँ नितान्त गलत कुरा हो।
० तपाईंहरू यो संविधानसभा विघटन हुनुपर्छ भनेर सजिलैगरी भनिरहनुभएको छ, यस्तो कुरा लिएर जनताबीच कसरी जानुहुन्छ हँ तपाईंहरू?
– हामी संविधानसभाको विरोधी होइनौँ। तर, यसरी कसैको विचार, धारणा वा मत नै नसुनिने ढङ्गले अर्काको इसारामा अगाडि बढ्ने धृष्टता नगरौँ भन्ने कुरा हो हाम्रो। सर्वपक्षीय या गोलमेच सम्मेलनमा सबैका कुराहरू प्रकट हुन्छन् र त्यहीँ छलफल गरेर समाधानका उपायहरू खोज्न सकिन्छ। संविधानका आधारभूत कुरा या अन्तर्वस्तुमा त्यहीँ सहमति गरौँ, त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाऔँ भन्ने हाम्रो माग प्रस्ट छ। यही कुरा लिएर जनतामा गइरहेका छौँ, सबैतिर यही नै भनिरहेका छौँ।
० राष्ट्रिय सहमतिको सरकार त संविधानसभा अर्थात् संसद्ले नै बनाउने होइन र?
– यसको औचित्य त हामीले त्यति देखेका छैनौँ। अहिले नै हेरौँ न, एकप्रकारले नेकपा एमाओवादीलाई चुनावको नेतृत्व नै दिइएको थियो, काङ्ग्रेस–एमालेहरूले चुनावी कमाण्डर इन चिफ नै प्रचण्डलाई बनाएका थिए। तर, त्यो कमाण्डर इन चिफले नै यो निर्वाचन धाँधलीपूर्ण भयो, यसको विश्वसनीयता नै छैन भनेर प्रश्न उठाइरहेका छन्। छानबिन आयोग बनाउनुपर्यो भनेर अरण्यरोदन गरिरहेका छन् उनीहरू र अर्को पक्षले यो कुरा सुनिरहेकै छैन। यस्तो लफडामा संविधानसभाले सरकार बनाउला र त्यसले दिगो रूप लेला भन्ने ठान्नु आफैँलाई र देशलाई पनि धोका दिनु मात्र हो।
० तपाईंहरूले यसो भन्दाभन्दै जनताले बनाएको संविधानसभाले संविधान बनाएर जारी गर्योभ भने त्यतिबेला के गर्नुहुन्छ तपाईंहरू?
– जबर्जस्ती कसैले संविधान जारी गरिटोपल्दैमा त्यसले काम गर्न सक्छ भन्ने त छैन नि। विगतमा क–कसले कति संविधान जारी गरे, तर ती संविधानको हविगत के भयो, परिणति के भयो, त्यो नियाल्नुपर्योक नि। देशलाई कति यस्तो तालले अर्काको चाहनामा लतारिरहने भनेको?
० प्रचण्डहरूले धाँधली भयो भनेकाले मात्रै तपाईंहरूले यो संविधानसभाले काम गर्दैन भनेको जस्तो छ नि, भोलि प्रचण्डहरू शपथ खाएर संविधानसभामा प्रवेश गरे भने के भन्नुहुन्छ?
– हामी केही भन्दैनौँ। उहाँहरू त संसदीय परिपाटीबाटै सबै समस्या हल हुन्छ, हल गर्न सकिन्छ भनेर त्यस व्यवस्थामा छिरिसक्नुभएकै हो नि 219 अनि उहाँहरू संविधानसभामा छिरेमा हामीले अनौठो मान्नुपर्ने के छ र अब? जहाँसम्म प्रचण्डहरूले धाँधलीको कुरा गरे भनेर हामीले नमानेको तर्क छ, यस्तो हास्यास्पद कुरा नगर्दा नै बेस होला। हामीले त पहिलेदेखि नै यो प्रक्रियाको विरोध गर्दै आएका छौँ, चुनावमा गएकाहरूबीच नै बखेडा छ भने यिनले कसरी मुलुक र जनताको हितमा काम गर्लान् भन्ने प्रश्न मात्रै उठाउन खोजेका हौँ हामीले त।
० त्यसो भए तपाईंहरूचाहिँ यो संविधानसभामा सहभागी हुने सम्भावना नै छैन होइन त?
– यो सम्भव हुने कुरै होइन भनेर हामीले हजारपटक भनिसक्यौँ। गोलमेच सभा गरेर मात्र हाम्रो पोजिसन या हैसियतअनुसार संविधान बनाउन भूमिका खेल्छौँ भन्ने कुरा कति पटक दोहोर्या उनुपर्ने हो?
० एमाओवादीसँग मिलेर जाने कुरा पनि हल्ला मात्रै हो त?
– एजेण्डा मिले न मिलेर जाने हो राजनीतिक दलहरूबीच कार्यगत एकता हुन या मिलेर अगाडि जान मुद्दाहरूमा समान दृष्टि हुनुपर्छ नि। एमाओवादी र हाम्रो पार्टीबीच सोच, चिन्तन, प्रकृति र प्रवृत्तिमै व्यापक भिन्नता आएको देख्नुहुन्न? उहाँहरू यो संविधानसभामा सहभागी हुनुभएन भने मिलेर जाने कुरा सान्दर्भिक हुन सक्ला, किनकि त्यो हाम्रो एजेण्डा त्यो हो। लम्पसार गरेर आत्मसमर्पण गर्दै फेरि पनि समाधान दिन नसक्ने संविधानसभाभित्रै एमाओवादी छिर्ने हो भने त हामीसँग मिल्ने चाहना राख्नु नै दिवास्वप्न हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको