सहमति नभए मात्रै बहुमतको सरकार: कांग्रेस

७ पुष २०७०, आईतवार १७:३९ मा प्रकाशित

‘नयाँ सरकार बनाउन कांग्रेसले सघन पहल थाल्ने’

काठमाडौं, ७ पुस । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न राजनीतिक दलहरुकाबीच समझदारी बनाएर कार्य गर्नु पर्ने निर्णय गरेको छ ।
कांग्रेसको आज (आइतबार) बसेको केन्द्रीय कार्यसमितिको बैठक पछि जारी विज्ञप्ति अनुसार सबै राजनीतिक दलहरुसँग सहमति र सहकार्य गर्दै एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिनु पर्ने निर्णय भएको छ ।
‘संविधानसभामा ठूलो पार्टीमा स्थापित भएको कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न यो बैठक सबै राजनीतिक दलहरुको सहमति र सहयोगका लागि आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सहमतिको सरकार बनाउने प्रयास सफल नहुने अवस्थामा मात्र बहुमतको सरकार बनाउनु पर्दछ ।’
कांग्रेसले सबै राजनीतिक दलहरुसँगको वार्ता र संवादलाई सघन रुपले अघि बढाउने निर्णय पनि गरेको छ ।
त्यसै गरी, कांग्रेसले एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन कार्यविधि सम्बन्धमा राजनीतिक दलहरुसँग छलफलका लागि सुझाव समिति पनि बनाएको छ ।
विगतको संविधानसभा नियमावली तथा संविधानसभाले गरेका काम कारवाहीको समीक्षा गरी सुझाव पेश गर्न नरहरि आचार्यको संयोजकत्वमा चार सदस्सीय समिति गठन भएको विज्ञप्तिमा उल्लेख छ । समितिका सदस्यमा फरमूल्लाह मंसुर, भीष्मराज आङदम्वे र पार्वता डीसी चौधरी रहेका छन् ।

 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय

पुस ७, २०७०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा पुस ३ गतेदेखि चलेको बैठकमा आज सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., फरमूल्लाह मंसुर, पद्मनारायण चौधरी, आमोदप्रसाद उपाध्याय, बद्री पाण्डे, केशवकुमार बुढाथोकी र लक्ष्मी राईले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यसमितिको बैठकको निर्णय देहाय बमोजिम छ—

१. संविधानसभा—संसदको निर्वाचन परिणामले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न राजनीतिक दलहरुका बीच समझदारी बनाएर कार्य गर्नु पर्ने भएको छ । त्यसैले नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग सहमति र सहकार्य गर्दै एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन चाहन्छ । संविधानसभामा ठूलो पार्टीमा स्थापित भएको नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न यो बैठक सबै राजनीतिक दलहरुको सहमति र सहयोगका लागि आग्रह गर्दछ । सहमतिको सरकार बनाउने प्रयास सफल नहुने अवस्थामा मात्र बहुमतको सरकार बनाउनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । यसका लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँगको वार्ता र संवादलाई सघन रुपले अघि बढाउने निर्णय गर्दछ ।

२. एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन कार्यविधि सम्बन्धमा राजनीतिक दलहरुसँग छलफलका लागि “विगतको संविधानसभा नियमावली तथा संविधानसभाले गरेका काम कारवाही” को समिक्षा गरी सुझाव पेश गर्न निम्न प्रकार सुझाव समिति गठन गरियो ।
संयोजक — श्री नरहरि आचार्य
सदस्य — श्री फरमूल्लाह मंसुर
सदस्य — श्री भीष्मराज आङ्दम्वे
सदस्य — श्रीमती पार्वता डी.सी. चौधरी

दिलेन्द्रप्रसाद बडू
प्रवक्ता

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ