‘मेरो म्वाइँ सस्तो छैन’ :: रेखा थापा

५ पुष २०७०, शुक्रबार ०५:१४ मा प्रकाशित

नायिका रेखा थापा सधैँ चर्चामा। सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझासँग पारपाचुकेको समयमा होस्। चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र विवादमा तानिएकी छिन्। राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरूमाझ पुगेकी रेखाले एक राउटे पुरुषलाई च्याप्प समातेर म्वाइँ खाएपछि उनको त्यो म्वाइँ विवादमा तानिएको छ।

० जीवनमा धेरैलाई म्वाइँ खानुभयो होला। यसपटकको म्वाइँ विवादमा तानियो नि?

– विवादमा तानिएको होइन। मेरो चर्चालाई देख्न नसक्नेहरूले चलाएको हल्ला हो।

० के सोचेर राउटेलाई म्वाइँ खाइयो?

– म्वाइँ भनेको मायाको प्रतीक हो। माया लागेर खाएकी हुँ।

० राउटेलाई देख्दा किन म्वाइँ खान मन लाग्यो?

– माया लागेर आयो। तर, यसलाई गलत अर्थ लगाइयो।

० कस्तो मान्छेलाई देख्दा म्वाइँ खाउँ्क–खाऊँ जस्तो लाग्छ?

– मायालाग्दो, मिजासिलो र राम्रो मान्छेलाई देख्दा।

० त्यस्तो मान्छे जसलाई जहाँ देखे पनि म्वाइँ खाइन्छ त?

– होइन, त्यस्तो हुँदैन। ठाउँ, परिवेश, पात्र सबैको विचार गरिन्छ।

० म्वाइँ खानुअघि राउटेसँग अनुमति लिनुभएको थियो कि थिएन?

– कसैको पीडा, दुःख र व्यथामा मलहम लगाउन अनुमति लिनुपर्छ भन्ने मलाई लाग्दैन। म त सरकारले पनि नगरेको राउटे समुदायलाई सहयोग गर्न गएकी हुँ। त्यही समयमा भावविह्वल भएर म्वाइँ खाएँ।

० जबर्जस्ती म्वाइँ खानु यौन हिंसा हो कि होइन?

– हो। तर, मेरो म्वाइँ जबर्जस्ती थिएन। मेरो म्वाइँलाई गलत अर्थमा बुझ्नेलाई म सुझाव दिन चाहन्छु कि सहरमा बसेर विरोध गर्नुभन्दा राउटेहरूकै बस्तीमा गएर बुझ्दा थाहा हुन्छ त्यहाँको अवस्था कस्तो छ भनेर।

० यदि कुनै पुरुषले त्यसरी नै तपाईंलाई म्वाइँ खाएमा के गर्नुहुन्थ्यो होला?

– त्यो त म्वाइँ खाँदाको अवस्था अनि परिस्थितिमा भर पर्छ। किन र केका लागि खाइयो भनेर।

० जीवनमा अहिलेसम्म कतिजनालाई म्वाइँ खानुभएको छ?

– मायालाई सङ्ख्याले नापिँदैन। अनि म्वाइँ माया नै हो।

० आफूले खाएको म्वाइँमध्ये अहिलेसम्मकै सबैभन्दा मीठो म्वाइँ कसलाई खादा लाग्यो?

– मेरी आमालाई।

० म्वाइँ खाँदाको सबैभन्दा मीठो क्षण?

– कुन उद्देश्यले खाएको हो त्यसमा भर पर्छ। लामो समयपछि भेटिएको साथीलाई खाँदा मित्रताको क्षण। श्रीमान्लाई खाँदा नजिकको सम्बन्ध अनि राउटे भाइलाई खाँदा उसको दुःख र पीडालाई साथ दिएको क्षणको रूपमा लिएकी छु।

० राउटेको म्वाइँ विवादमा आयो नि। उनीहरू रिसाएका छन् भन्ने चर्चा छ नि?

– गलत हो यो कुरा। विवादमा आएको होइन। विवादमा ल्याइएको हो। म त राउटे समुदायलाई बिनास्वार्थ सहयोग गरिरहेकी छु। उनीहरूका बच्चालाई पढाउन काठमाडौं ल्याउँदै छु। यस्तो कुरातिर ध्यान छैन तर म्वाइँको चर्चा बढी भयो।

० राउटे मुखियासँग माफी माग्ने विचार गर्नुभएको छैन?

– यो त माफीको कुरै होइन। निस्वार्थ रूपले खाइएको म्वाइँ र गरिएको सहयोगमा माफीको कुरा आउँछ र?

० अब भविष्यमा कसैलाई म्याइँ खाँदा विचार गर्नुहुन्छ होला नि?

– मेरो म्वाइँ त्यति सस्तो पनि छैन नि जसलाई जहाँ पनि खान्छु। म्वाइँ भनेको माया, सद्भाव र भावनाको प्रतीक हो।

० तपाईं माओवाद छाडेर म्वाइँवादतिर लागेको होइन, त्यसो भए?

– मैले माओवादी छोडेको पनि छैन र म्वाइँवादतिर लागेको पनि छैन। यी दुवै अलग कुरा हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा