कहाँ हराए हावादारी बुद्धिजीवी?

२३ मंसिर २०७०, आईतवार २२:३० मा प्रकाशित

काठमाडौं। संविधानसभा निर्वाचनमा एमाओवादीलाई खुलेआम भोट माग्दै हिँड्ने कथित वाम बुद्धिजीवीहरूको यतिबेला बिजोग भएको छ। एमाओवादीको उक्साहट र दानापानीमा बिकेका केही बुद्धिजीवीहरू अहिले फेरि चुनावमा संरचनागत रूपमै धाँधली भएको भन्दै आफ्नो लाज छोप्ने कोसिस गर्न थालेका छन्।
नेकपा (एमाले) विरुद्ध बढ्ता आक्रामक भएका कथित बुद्धिजीवीहरू एमाओवादीको जयगान गाउँदैं भोट मागेका थिए। अघिल्लो निर्वाचनमा झै सोमरसका कारण कहिले कांग्रेस त कहिले एमाओवादीको प्रचार गर्दै हिँड्ने खगेन्द्र संग्रौला, एमाओवादीको लुटेको धनले एबीसी टेलिभिजन चलाइरहेका शुभशंकर कँडेल, युद्धका आफ्नै सिपाहीले घृणा गर्ने भए पनि आगामी १० वर्षसम्म पुष्पकमल दाहालको देवत्वकरण गर्ने कसम खाएका झलक सुवेदी, कीर्तिपुरे बुद्धिजीवीहरू श्याम श्रेष्ठ र राजेन्द्र महर्जन तथा एमाओवादीको ‘डिजाइन’मा अन्य दलका नेतालाई प्रहार गर्ने जिम्मा लिएका नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा एवम् सिकेलाल जस्ता केही कथित बुद्धिजीवीहरूलाई चुनावी परिणामपछि आघात परेको छ।
जनताको फैसलालाई सहर्ष स्वीकार गर्नुको सट्टा कथित यी बुद्धिजीवीहरू फेरि धाँधलीको गन्ध आएको बताउँदै चिर रोदन गर्न थालेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरूलाई हराउन नयाँ पत्रिका दैनिकमा सिलसिलेवार टिप्पणी लेख्ने मात्रै नभई कांग्रेस र एमाओवादीको पक्षमा राम्रै्रसँग प्रयोग भएका खगेन्द्र संग्रौला निर्वाचनमा धाँधली भएको दाबी गर्छन्। ‘संस्थागत रूपमा धाँधली भएकै हो तर एमाओवादीको आकार सानो हुनुमा त्यो मात्रै कारण होइन’– उनले बुधबारसँग भने– ‘मतदान सम्पन्न भएपछि मतपेटिका सेनाको कब्जामा रह्यो त्यसबाट केही शंका रह्यो।’ वामपन्थीको खोल
ओढेर हिजो दरबारले कम्युनिस्ट नेतालाई बदनाम गर्न चलाइरहेको हल्लामा लोली मिलाउँदै एमाले उम्मेदवार विरुद्ध लेख्दै र बोल्दै आएका थिए। कांग्रेसका उम्मेदवारको पक्षमा खुलेआम भोट मागेर संग्रौलाले वामपन्थी राजनीतिलाई बदनाम गर्ने काम गरेका थिए। तर पनि, उनी भन्छन्–’मैले कसैको उक्साहटमा वा दानापानी खाएर त्यसो गरेको होइन।’ मानसिक तनावले तंग्रिएका संग्रौला निर्वाचन आयोगले भनेको भन्दा बढी मत खसेको दाबी गर्दै एमाओवादीको पराजयलाई त्यही भनेरै चित्त बुझाउँदै आएका छन्।
चुनावमा एमाओवादीको प्रचार सामग्रीझैं बनेको एबीसी टेलिभिजनका सञ्चालक शुभशंकर कँडेल त पराजयपछि तनाव कम गर्न विदेशतिर घुमघाममा लागेका छन्। पार्टी खुलेआम प्रचार गरेपछि निर्वाचन आयोगले सो टिभीका सबै कार्यक्रम बन्द गर्न निर्देशन गरेको थियो। जता पुष्पकमल उतै पछिपछि पिछुवाजस्तै गरेर टेलिभिजनको बुम बोकेर कुदेका कँडेलले एमाओवादीले नजिते मानौं कि आकाश नै खस्छ जस्तो गर्दै प्रचार गर्दै हिँडेका थिए। अहिले सो टिभीले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सामाजिक सद्भावलाई नै भाँड्ने गरी कार्यक्रम उत्पादन गर्न थालेको छ। ‘आगामी १० वर्षभित्र मुलुक प्रचण्डकै नेतृत्वमा चल्छ’ भन्ने दाबी गर्ने झलक सुवेदी गुमनाम भएर बसेका छन्। निर्वाचन परिणामपछि बेखबर जस्तै बनेका उनी अहिले के भन्छन् प्रतिक्रियाविहीन बनेका छन्। एमालेमा छँदा जग्गा विवादमा तानिएपछि माले हुँदै एमाओवादीको खुलेआम पक्षपोषण गर्न उनी पनि जोडतोडले लागेका थिए।
कीर्तिपुरमा कथित बुद्धिजीवीको खोलमा एमाओवादी अध्यक्ष दाहाललाई भोट मागेका श्याम श्रेष्ठ र राजेन्द्र महर्जनको बोली बदलिएको छ। एमाले–कांग्रेसका उम्मेदवार लोकप्रिय नभई प्रतिक्रियाको भोट उनी तर्क गर्छन्। ‘जनादेश भनेको जनादेश हो, परिवर्तनको आशा, क्रुद्ध र अन्ध प्रतिक्रिया हो’– श्रेष्ठले भने– ‘यो एमाले–कांग्रेस लोकप्रिय भएर भन्दा पनि प्रतिक्रियाको भोट हो।’ शान्ति प्रक्रियाका सबै अगुवा नेताहरू संविधानसभामा आउनुपर्छ भनेर हामीले दाहालको पक्षमा विज्ञप्ति निकालेका हौं। एमाओवादीको अघोषित मुखपत्र जस्तै बनेको नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा अहिले चुनावी परिणामको केही टिप्पणी गर्न चाहेनन्। एमालेका केही शीर्ष नेताविरुद्ध प्रयोग भएको नयाँ पत्रिकाका उनी सम्पादक हुन्। चुनावी परिणामबारे केही त बोल्नुस् भन्ने बुधबारको जिज्ञासामा उनले भने– ‘यो लफडामा मलाई नपार्नु, अलिअलि यो चुनावमा धाँधली पनि भएको हो।’ उता जनताको जनादेशलाई मतादेश भन्दै अपमान गर्ने सिकेलाल अहिले दुलो पसे जस्तै गुमनाम देखिएका छन्। एक मधेस–एक प्रदेशको नारालाई निकै उछाल्दै आएका उनी क्षेत्रीय पार्टीको सर्मनाक पराजयपछि तंग्रिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको