एकल जातीय प्रदेश, उग्र बामपन्थी सोच: खनाल

१९ मंसिर २०७०, बुधबार १९:५० मा प्रकाशित

काठमाडौं, १९ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको निर्वाचन २०७० नयाँ जनादेश भएकाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुखको निर्वाचन आवश्यक भएको बताउनुभएको छ । सरकारी संचार माध्याम गोरखापत्रसँग बुधबार संक्षिप्त कुरा गर्दै अध्यक्ष खनालले यस्तो विचार ब्यक्त गर्नु भएको हो । “यो निर्वाचन ऐतिहासिकरुपले महत्वराख्ने स्वच्छ र निष्पक्ष निर्वाचन हो, यसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबैलाई छुन्छ” उहाँले भन्नुभयो । निर्वाचनले दलहरुलाई ऐतिहासिक जनादेश प्राप्त भएको पनि उहाँले दावी गर्नुभयो । “राष्ट्रलाई विखण्डन गर्ने ढाँचाबाट आएको ‘एक मधेस एक प्रदेश’, ‘एकल जातीय’ प्रदेश ‘उग्र बामपन्थी सोच’ लगायतका अवधारणालाई निर्वाचन परिणामले अस्वीकृत गरेको छ” चर्चागर्दै अध्यक्ष खनालले लोकतान्त्रिक संविधान बनाउन नेपाली कांग्रेस र एमालेको पक्षमा बढी जनादेश आएको चर्चा गर्नुभयो । सबै राजनीतिक दलसँगको परामर्शमै सबै सहमतिमा, त्यो नभए दुई तिहाई बहुमतमा र सोपनि सम्भव नभए जनमतसंग्रहमा गएर पनि एकवर्षभित्र बहुपहिचानको नयाँ संविधान जारी गर्ने उहाँले बताउनुभयो ।“यो निर्वाचन इतिहासकै स्वच्छ, निश्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न भएको छ । एकाध ठाउँमा मानवीय कमीकमजोरी भएका होलान् त्यसलाई सच्याएर अघि जानुपर्छ” उहाँले प्रष्ट्याउनुभयो । निर्वाचनमा गइसकेपछि स्वभाविकरुपले हार वा जित हुने बताउँदै अध्यक्ष खनालले एमाओवादीको धाँधलीको आरोपमा कुनै यथार्थता नरहेको बताउनुभयो । “एमाओवादीले ०६४ सालमा अत्यधिक मतले विजयी भएकै हो, हामी त्यसलाई सहर्स स्विकार्यौ” भन्दै खनालले एमाओवादीलाई अनावश्यक शर्त अगाडि नसार्न आग्रह गर्नुभयो । एमाले पार्टी समग्र परिस्थितिको मूल्याङ्कन गर्दा पहिलो पार्टी भएको दावी गर्दै अध्यक्ष खनालले भन्नुभयो, “जनमत, सिद्धान्त र नीतिका हिसावले पनि एमाले पहिलो पार्टी हो, मात्र मतलाई व्यवस्थित गर्न नसकेका हौं ।”संगठन निर्माणका क्रममा पार्टीभित्र अनेक किसिमका बाधा व्यवधान र समस्या देखिएकै कारण केही स्थानमा हार व्यहोर्नु परेको उहाँले प्रष्ट्याउनुभयो । गत संविधानसभाले सहमति गरेको विषयको स्वामित्व ग्रहण गर्दै बाँकी प्रमुख विवादित विषय राज्यको पुनरसंरचना र शासकीयस्वरुपमा सहमति गरी संविधान जारीहुने उहाँले बताउनुभयो । “छ महिनामा संविधानको मस्यौदा बनाएर एक वर्षभित्रमै नयाँ संविधान जारी गर्न सकिन्छ” उहाँले भन्नुभयो ।‘सहमतीय बाटो एकमात्र निकासको बाटो भनेर हलो अड्काउने कुरा गर्नु हुँदैन’ भन्दै उहाँले लोकतान्त्रिक विधिका सबै ढोका खुला राख्नुपर्छ भन्नुभयो । उहाँले एमाले आदिबासी जनजाति, मधेसी, अल्पसंख्यक, हिमाल, पहाड, तराई सबै वर्ग क्षेत्रको प्रतिनिधित्व गर्ने पार्टी भएको दावी गर्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह पनि एमाले नै भएको उहाँको बुझाई छ । कांग्रेससँगको आवश्यक परामर्शमा चाँडै नयाँ सरकार गठन हुने बताउँदै अध्यक्ष खनालले सकेसम्म सबै दललाई मिलाएर अघि बढ्ने दावी गर्नुभयो । पार्टीको भावी नेतृत्वको विषयमा गरिएको जिज्ञासामा पार्र्टीले अगाडि सारेको कार्यनीति, व्यवहार, कार्यशैली र सिद्धान्तको परिणाम नै अहिलेको सफलता भएको दावी गर्दै अध्यक्ष खनाले आगामी फागुनसम्म हुने पार्टीको नवौं महाधिवेशनले उपयुक्त नेतृत्वको छनौट गर्ने बताउनुभयो । बामपन्थीकोबीचमा एकताको अभावकै कारण अहिलेको निर्वाचनमा बामपन्थीको वर्चस्व खस्किएको बताउँदै खनालले आगामी दिनमा एमालेकै नेतृत्वमा वामपन्थी वर्चस्व कायम हुने दावी पनि गर्नुभयो । संविधानसभा निर्वाचनले एमालेलाई अमूल्य मतदिई दोस्रो ठूलो दल बनाएकोप्रति खुशी व्यक्त गर्दै उहाँले सबै मतदाता तथा सहयोगीहरुलाई बधाई र धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको