सरकार र संविधान निर्माण एक सिक्काको दुई पाटो : डा. अमरेश

१३ मंसिर २०७०, बिहीबार ०३:२९ मा प्रकाशित

विद्रोही माओवादी र लोकतन्त्र पक्षधर शक्तिहरूबीच १२बुँदे समझदारी बनाउन र त्यसयता शान्ति स्थापना प्रक्रियामा विशेष भूमिका निर्वाह गर्दै आउनुभएका काङ्ग्रेस युवा नेता डा. अमरेशकुमार सिंह भारी मतले संविधानसभामा निर्वाचित हुनुभएको छ । आफूलाई तराईको ‘मसिहा’ ठान्नुहुने तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दश हजारभन्दा बढी मतान्तरले पराजित गरेर सभासद् बन्नुभएका सिंहले राजनीतिक अराजकता र भ्रष्टाचारबाट जनताले मुक्ति चाहेको विचार व्यक्त गर्नुभएको छ । मंगलबार घटना र विचारसित कुरा गर्दै सिंहले भन्नुभयो, ‘आफैँले उठाएका एजेण्डाप्रति एमाओवादी र मधेसवादी इमानदार भएनन् । सत्तामा पुगेपछि तिनले दर्शाएको व्यवहारलाई जनताले झापड हानेका छन् ।’
० निर्वाचन परिणामको सन्देश के हो भन्ने ठान्नुहुन्छ तपाईं ?
– सबै राजनीतिक दलहरू मिलेर संविधान बनाऊँ र कुनै पनि उग्र विचारधारालाई निरुत्साहित गरौँ भन्ने सन्देश यो निर्वाचनले दिएको छ । विगत चार–पाँच वर्षमा जुन राजनीतिक अराजकता र भ्रष्टाचार भएको देखियो, त्यसलाई जनताले मन पराएनन् । विकास र शान्तिसुरक्षा जनताको चाहना हो । जनताले राजनीतिक अराजकता र भ्रष्टाचारबाट मुक्ति खोजेका छन् । जनतासँग टाढिएका जतिसुकै ठूला नेता भए पनि तिनलाई मतदाताले सबक सिकाएका छन् ।
० मधेसमा मधेसकेन्द्रित दलहरू बढारिनु र देशभरिबाट एमाओवादी पखालिनुको मुख्य कारण के हुनसक्छ ?
– यसको प्रमुख कारण मधेसकेन्द्रित दलका नेताहरू आफैँले उठाएका एजेण्डाप्रति इमानदार भएनन् । मधेसका नाममा राजनीति गर्ने, तर सत्तामा पुगेर आफ्ना स्वार्थभन्दा माथि उठ्नै नसक्ने व्यवहार जुन मधेसवादी दलका नेताहरूले देखाएका थिए, त्यसको परिणाम उनीहरूले भोगेका छन् । पहिले उनीहरूले मधेस आन्दोलनको सेन्टिमेन्टका आधारमा भोट पाएका थिए, जितेपछि सत्ताका लागि पार्टी फुटाउने, घुस खाने र मधेसको भावनाविपरीत काम मात्र तिनले गरेका थिए । जनयुद्धताका जनसमक्ष प्रस्तुत गरेको प्रतिबद्धता पूरा गर्न एमाओवादीले सकेन । दुई–दुईपटक सरकारको नेतृत्व गर्ने मौका पाउँदा पनि उनीहरूले न संविधान दिन सके, न सुशासन र विकास निर्माणको योजना नै ल्याउन सके । त्यसैको परिणाम एमाओवादीले भोगेको हो ।
० एमाओवादी र मधेसकेन्द्रित दलहरूको एजेण्डालाई जनताले अस्वीकार गरेको मान्नुहुन्छ कि हुन्न ?
– एजेण्डालाई अस्वीकार गरेको होइन, उनीहरूको व्यवहार र क्रियाकलापलाई अस्वीकार गरेको हो । खासगरी सङ्घीयताको मुद्दालाई उनीहरू कसैले पनि जनतामा बुझाउन सकेनन् ।
० अब एमाओवादी र मधेसकेन्द्रित दलका एजेण्डालाई कुन हदसम्म, कसरी सम्बोधन गर्नुपर्छ भन्ने ठान्नुहुन्छ या सम्बोधन गर्न आवश्यक नै छैन भन्नुहुन्छ ?
– संविधान बनाउँदा सर्वसम्मतिको आधार निर्माण गर्नुपर्छ । त्यसका लागि एमाओवादी, मधेसवादी राजनीतिक दल र माओवादी वैद्य समूह तथा जनजातिमा आधारित पार्टीको समेत विश्वास लिएर काङ्गे्रस–एमालेले संविधान बनाउनुपर्छ । यदि यस्तो हुन सकेन भने दुईतिहाइको बहुमतले संविधान घोषणाको औपचारिकता पाए पनि त्यसले देशमा दिगो शान्ति स्थापना गर्न सक्दैन ।
० राजनीतिमा हिजो तपाईंको भूमिका ‘स्वतन्त्र’ थियो, त्यसैले सजिलो पनि थियो । तर, अब एउटा पार्टीको सभासद्का रूपमा तपाईंको भूमिका सङ्कुचित र सीमित हुने ठान्नुहुन्छ कि हुन्न ?
– हिजोका दिनमा पनि मेरो भूमिका स्वतन्त्र थिएन । म एउटा पार्टी (नेपाली काङ्गे्रस) को कार्यकर्ता थिएँ र मैले तात्कालिक पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निर्देशनमा बाह्रबुँदे सम्झौतादेखि नै काम गरेको हुँ र आज पनि पार्टीको एउटा निर्वाचित सभासद् भएका कारणले पार्टी अनुशासनभित्र रहनु मेरो कर्तव्य हो । साथै संविधानसभाबाट संविधान निर्माण हुनु शान्तिप्रक्रियाको एउटा अध्याय पूरा हुनु हो । त्यसकारणले मेरो नैतिक दायित्व सबै दलसँग सहमति र सहकार्यका लागि आफ्नो भूमिका निर्वाह गर्नु हो । सभापति सुशील कोइरालाले सहमति र सहकार्य गर्ने तत्परता लिइसक्नुभएको छ, म उहाँको सफलताको निम्ति क्रियाशील रहने छु ।
० नेपालमा अब कसको र कस्तो सरकार गठन हुनुपर्छ भन्ने तपाईंको धारणा छ ?
– नेपालमा नेपाली काङ्गे्रसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ । जनताको म्याण्डेट र अन्तर्राष्ट्रिय समुदायको चाहना पनि यही नै हो । सरकार र संविधान निर्माण प्रक्रियालाई छुट्याएर हेर्न मिल्दैन । यदि राष्ट्रिय सहमतिको सरकार बनेन भने संविधान बन्न पनि सहमति निर्माण हुँदैन । त्यसो भएमा यसको दोष ठूलो पार्टी भएका नाताले काङ्गे्रस र एमालेमाथि जान्छ । विगतमा पनि दोष एमाओवादी र मधेसवादी दलहरूमाथि गएको हो । सरकार र संविधान निर्माण एउटै सिक्काको दुई पाटो हो, यसलाई आत्मसात् गरेर काङ्गे्रस–एमाले अघि बढ्नुपर्छ ।
० जातिवादी र क्षेत्रीयतावादीहरूको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ तपाईं ?
– राम्रो काम व्यवहारमा देखाए भने उनीहरूको भविष्य राम्रो हुनसक्ला । नारा मात्र लगाएर केही हुनेवाला छैन । सत्ताबाहिर हुँदा एउटा व्यवहार देखाउने सत्तामा पुगेपछि अर्कै व्यवहार गर्ने काम जुन विगतमा गरे त्यस्तै व्यवहार उनीहरूले दोहोर्याउने हो भने जनदृष्टिमा ती सधैँ तिरष्कृत नै हुनेछन् ।
तपाईंमाथि धाँधली गरेर निर्वाचन जितेको आरोप छ नि ?
– हारेको मान्छेले त्यस्तै भन्ने गर्छन् । मेरो निर्वाचन क्षेत्रमा गएर जो कसैले हेर्न सक्छन् त्यहाँका जनता मप्रति कति आस्था र भरोसा राख्छन् । यस्तो आरोप लगाउनेहरूले वास्तवमा जनमतलाई अपमान गरिरहेका छन् । त्यसो भन्नेहरूलाई म जनमतको सम्मान गर्न हार्दिक अपिल गर्दछु । मैले आजसम्म लडेको र देखेको निर्वाचनमध्ये सबभन्दा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन यसपटककै हो । हार्नेले हार स्वीकार गरी जनमतको कदर नगरेर आफैँलाई होच्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको