जटिल परिस्थितिका : भाग्यमानी आइजीपी

३ मंसिर २०७०, सोमबार ०५:४८ मा प्रकाशित

काठमाडौं । सरकारले एआइजी उपेन्द्रकान्त अर्याललाई मंसिर १ गते हिजोदेखि लागू हुनेगरी नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा गरेको छ। वर्तमान महानिरीक्षक कुवेरसिंह रानाको पदावधि कात्तिक २९ बाट सकिने भए पनि राना बिदामा बसेकाले अर्यालले सोमबारबाटै निमित्त प्रहरी प्रमुखका रुपमा संगठनको नेतृत्व सम्हालेका छन्। अर्याल कात्तिक १४ मा डिआइजीबाट एआइजीमा बढुवा भएका थिए। महानिरीक्षक राना र अन्य ६ जना एआइजीको ३० वर्षे सेवाअवधिका कारण कात्तिक २९ गते अनिवार्य अवकाश हुने कारण उनी १५ दिनमै पुनः बढुवा पाई पूर्ण आइजिपीको जिम्मेवारी सम्हालेका छन्। एआइजी विनोद सिंहको अवकाशपछि खालि रहेको एक एआइजी पदमा सरकारले अर्याललाई पदोन्नति गर्ने बित्तिकै उनी १५ दिनभित्र आइजिपी बन्ने भाग्यमानी आईजीपीका रुपमा परेका हुन्। सिरहा ५ रामनगरका ५२ वर्षीय अर्याल नेपाल प्रहरीका २४ औं प्रहरी प्रमुख बनेका छन्। २०४३ सालमा प्रहरी सेवामा छिरेका उनी २०४९ मा डिएसपी, २०५८ मा एसपी, २०६३ मा एसएसपी र २०६६ मा डिआइजी बनेका थिए। आइजिपी अर्याल २०६२/६३ को जनआन्दोलनपछि सबभन्दा लामो अवधि पद सम्हाल्ने पहिलोे प्रहरी प्रमुख हुनेछन्। २०४३ फागुन ३ गते प्रहरी निरीक्षकका रुपमा संगठनमा प्रवेश गरेका उनले २०७३ फागुन २ सम्म संगठनको नेतृत्व गर्नेछन्। २०६३ पछिका प्रहरी प्रमुख ओमविक्रम राणा २ वर्ष, हेमबहादुर गुरुङ ६ महिना, रमेशचन्द ठकुरी २ वर्ष ४ महिना, रविन्द्रप्रताप शाह १ वर्ष ३ महिना र कुवेरसिंह राना १४ महिना संगठन प्रमुख रहेका थिए। अन्तरमुखी स्वभावका अर्याल एक विवादमुक्त प्रहरी अधिकारी हुन्। प्रायः पोस्टिङ पाएको स्थानमा विवादमुक्त र प्रभावशाली रहेका उनी महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखका रुपमा सार्वजनिक चर्चामा आएका थिए। मेघा देवकोटालगायतको अपहरणमा सफल अनुसन्धान र त्यसबेला उत्कर्षमा रहेको अपहरणका घटना रोक्न सफल भएका अर्याल महाशाखाको आधुनिकीकरण र वित्तीय अनुशासनका कारण संगठनभित्र र बाहिर लोकप्रीय छन्।
उनले डिआइजीका रुपमा कार्यविभाग, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चल प्रमुखका रुपमा नेतृत्व गरेका थिए। त्यस समयमा उनको प्रभाव बढ्दै गएको थियो। एआइजीको १० दिने कार्यकाल पनि उनले कार्यविभागमा बिताए। डिआइजीबाट एआइजीमा बढुवा गर्दा सरकारले वरिष्ठता मिचेको भन्दै डिआइजी पार्वती थापाले सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भन्दै कारण देखाऊ आदेश जारी गरेसँगै अर्यालको बढुवाको बाटो सहज बनेको थियो। संविधानसभा निर्वाचनको मुखैमा प्रहरी प्रमुखमा नियुक्त भएका अर्यालको पहिलो परीक्षा निर्वाचनको सफलतामा निर्भर गर्नेछ। निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धले नै उनको भावी बाटोको सहजता प्रस्ट्याउनेछ।
निमित्त प्रहरी प्रमुखका रुपमा वरिष्ठ प्रहरी अधिकृतहरुलाई ब्रीफिङ गर्दै अर्यालले निर्वाचनको सुरक्षा प्रमुख चुनौती रहेको बताए। प्रहरी प्रधान कार्यालयमा गरेको ब्रीफिङमा उनले आगामी संविधानसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित सम्पन्न गराउन सबैलाई लागिपर्न आह्वान गरेको एक वरिष्ठ प्रहरी अधिकृतले बताए। संगठनको हित र सेवाको स्तर बढाउनुलाई समेत चुनौतीका रुपमा विश्लेषण गर्दै उनले संगठनका सदस्यबाट आफूले जिम्मेवारी निर्वाहमा व्यावसायिक सहयोगको अपेक्षा राखेको बताएका थिए। अर्याल निकटका अनुसार उनको अर्को चुनौती भनेको बाक्लो भित्री सर्कल हो, जसको प्रभावबाट मुक्त हुँदै उनले संगठनको उद्देश्यलाई अगाडि बढाउनुपर्नेछ। संगठनको आधुनिकीकरण र आर्थिक अनुशासनको पालना उनको कार्यकालको मापन गराउने चुनौतीका रुपमा रहेको जानकारहरु विश्लेषण गर्छन्। प्रहरी प्रमुखको आकांक्षी रहेका आफ्नै ब्याजका वरिष्ठहरुबाट सहयोग पाउने वातावरण बनाउनु उनको अर्को चुनौती हो। संगठनका सदस्यको सरुवा र बढुवामा निष्पक्षता र मापदण्डको पालना, सामान खरिदबिक्रीमा पारदशिर्ता र असुलीमा कडाइ गर्न सके अर्याल आफ्नो कार्यकालमा सक्षम प्रहरी प्रमुख बन्ने एक उच्च प्रहरी अधिकारीले विश्लेषण गरे।
३० वर्षे सेवाअवधिका आधारमा कात्तिक २९ वाट अवकाश पाउने एआइजीहरु नवराज ढकाल, भिष्म प्रसाईं, गंगा पाण्डे, दिनकरशमशेर राणा, पुष्कल रेग्मी र रमेशविक्रम शाहसमेत सोमबारबाट बिदामा बसेका थिए। उनीहरुले आइतबारै प्रहरी प्रधान कार्यालयमा बिदाको फारम बुझाएका थिए। एआइजी प्रमुख रहने कार्यालय २९ गतेबाट सबैको अनिवार्य अवकाश भएपश्चात अब एआइजी प्रमुख हुने कार्यालयहरुमा डिआइजी प्रमुख भएका छन्।
(weeklynepal)

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा